स्थानीय, प्रदेश र संघीय गरी तीन तहको ५२ स्थानमा मंसीर १४ गते उपनिर्वाचन हुँदैछ । कास्की–२ मा हुने प्रतिनिधिसभातर्फ दलहरुको विशेष जोड छ । यसपछि धरान उपमहानगर पालिकाको मेयर र दाङ–३ (ख), भक्तपुर–१ (ख) र बाग्लुङ–२ (ख) मा हुने प्रदेशसभाको उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषय बनाएको देखिन्छ । स्थानीय तहको पालिका उपप्रमुख र वडाध्यक्षतर्फ पनि उत्तिकै जोड दिइएको पाइन्छ । शनिबार सार्वजनिक विदाकै दिनमा समेत प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्वाचन आचार संहिताबारे ध्यानाकर्षण गराउनुले पनि उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषय बनाएको बुझ्न सकिन्छ ।
तर, उपनिर्वाचनका लागि दलका नेताहरुले दिइरहेका अभिव्यक्तिमा भने गज्जबको मतैक्यता देखिएको छ । मतदातासँग मत माग्न आयोजित सभाहरुमा नेताहरुले दिने अभिव्यक्तिमा धेरै फरक छैन । सवैजसो दलका नेताहरु भारतले आफ्नो देशको नक्साभित्र पारेको लिम्पियाधुरा–कालापानी–लिपुलेक नेपालको भएकोमा सहमत छन् । निष्कर्ष पनि साझा छ– भारतबाट मिचिएको नेपाली भू–भाग फिर्ता गराउन कुटनैतिक पहलकदमी लिनुपर्छ । दोस्रो तथा तेस्रो तहका नेताहरुले केही उत्तेजक अभिव्यक्ति दिए पनि शीर्ष नेताहरुले कुटनैतिक पहलकदमी मार्फत यो समस्या हल गर्नुपर्ने बताउँदै आएका छन् । अर्थात्, लिपुलेक प्रकरणमा राष्ट्रिय सहमति छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएर साझा धारणा पनि तय गरिसकेका छन् । तिनै ‘बालुवाटार सिटिङ’ नेताहरुको अभिव्यक्तिमा प्रतिविम्वित भइरहेको बुझ्न गाह्रो पर्दैन । यस पटक जुटेको राष्ट्रिय सहमति चार वर्ष अगाडिको नाकाबन्दीको बेला समेत देखिएको थिएन । त्यसबेला दलहरु विभाजित थिए । तर, लिपुलेक प्रकरणमा एउटै आवाज मुखरित भएको संकेत बुझेरै छिमेकी चीनले प्रष्टोक्ति दिइसकेको छ । ढिलोचाँडो लिपुलेक प्रकरण दीर्घकालीन रुपमा समाधान गर्ने यो सुनौलो अवसर समेत हो ।
लिपुलेक प्रकरणले अर्को महत्वपूर्ण सन्देश र दलहरुले लिनुपर्ने बाटो पनि देखाइ दिएको छ । समाज, देश र संविधानको पक्षमा सधैं राष्ट्रिय सहमति कायम गर्नु लिपुलेक प्रकरण पछिको राजनीतिक चाहना समेत हुनुपर्छ । किनभने अहिलेसम्म दलहरुबीच भ्रष्टाचार, भागबण्डा र संसदीय विकृत जोडघटाऊमा मात्रै दलहरु एक हुन्छ भन्ने नकारात्मक मनोविज्ञान आमजनमा देखिन्छ । त्यसैले लिपुलेक प्रकरणले आमहित र देशको पक्षमा खोलेको राष्ट्रिय सहमतिको बाटो नबिराउँदा नै समृद्ध समाज संभव छ । यही बाटो हिंडे नेपाली राजनीतिमाथि लागेको दाग समेत पखालिनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies