बतैडीकी एक किशोरी माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी गर्दै थिइन् । राम्रो नतिजा ल्याउनका निम्ति गेसपेपर किन्न बजार निस्किएकी उनी बलात्कृत भइन् । सागर भट्ट र अमर अवस्थीले उनीमाथि बलात्कार गरेका थिए । त्यो सामुहिक बलात्कार प्रकरणमा सर्वोच्च अदालतले पीडक दुवैलाई साढे एघार वर्ष कैद सजाय सुनाएको छ । बलात्कारको साढे पाँच वर्ष र सामुहिक बलात्कारको ६ वर्ष गरी साढे एघार वर्ष कैद र दश लाख क्षतिपूर्ति दिन आदेश दिइएको छ । न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँलको संयुक्त इजलासले क्षतिपूर्तिको आधा भाग भने सरकारले दिनुपर्ने आदेश दिएको छ ।
बलात्कारजस्तो जघन्य अपराधका पीडितलाई न्यायको थोरै आशा दिनेगरी सर्वोच्चको फैसला आउदा डेढ वर्ष अगाडि बलात्कार पछि हत्या गरिएकी निर्मला पन्त प्रकरणलाई फेरि एक पटक ताजा बनाइदिएको छ । गत वर्ष साउन १० गते कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । यो प्रकरणले राष्ट्रिय रुप लियो, देशब्यापी विरोध चर्कियो । प्रहरी अधिकारी नै बर्खास्तमा परे । उच्च स्तरीय छानबिन समिति बन्यो । तर, निर्मला पन्तका हत्यारा पत्ता लाग्न सकेको छैन ।
स्थानीयले ‘भीभीआईपी हत्यारा’ राज्य संरक्षित भएकाले निर्मला प्रकरणका पीडक पत्ता लाग्न नसकेको आरोप लगाउँदै आएका छन् । तर, यो डेढ वर्षसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । बरू, यस बीचमा थुप्रै जघन्य अपराध र भ्रष्टाचारका आरोपितहरु कारागार चलान भइसकेका छन् । विधिको शासन र संविधानको सर्वोच्चता कायम रहेको देशका नागरिकहरुले अझै निर्मलाका हत्यारा पत्ता लाग्नेमा आशावादी नै छन् । किनभने १२ वर्ष अगाडि रौतहटको फरहदवा नरसंहारका आरोपित पनि भीभीआईपी नै छन् । पटक–पटक मन्त्री भइरहेका मोहम्मद अफताव आलम पुर्पक्षका लागि थुनामा पठाइएको छ । बहालवाला सभामुख कृष्णबहादुर महरा पनि महिला हिंसाकै आरोपमा डिल्लीबजार कारागारमा थुनिएका छन् ।
आलम, महरा र बैतडीका ती किशोरीका बलात्कार जसरी कानूनको कठघरामा ल्याएर सुशासन र सामाजिक न्यायमा प्रतिबद्ध रहेको तर्क सरकारले गरिरहेको छ । निर्मला पन्तका हत्यारा जति चाँडो पत्ता लाग्छन्, अझै जनविश्वास बढेर जानेछ । होइनभने जति पटक दण्डहिनता पूर्ण बिरामको खबर आउँछ, उति पटक निर्मला प्रकरण ताजा बनेछ । जसले विधिको शासन र संविधानको सर्वोच्चताप्रतिको विश्वास बढेर जाने छैन । झन् घटेरै जानेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies