भारत : भारतले दुई साताअघि सार्वजनिक गरिएको नयाँ नक्सामा नेपालको सीमा नमिचिएको दाबी दोहोर्याएको छ । विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले नयाँ नक्सालाई लिएर नेपालमा भइरहेको विरोधका सम्बन्धमा भारतको भनाइ यथावत रहेको बताएका हुन् । सीमा विवादका सम्बन्धमा छलफल गर्न नेपालका तर्फबाट औपचारिक पत्राचार नभएको पनि उनले उल्लेख गरेका छन् ।
प्रवक्ता रविशकुमारले पत्राचारपछि औपचारिक प्रक्रिया सुरु हुने र दुवै पक्षको अनुकूलता हेरेर बैठकको मिति तय हुने जानकारी पनि दिए । उनले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ‘ईपीजीको प्रतिवेदन बुझाउनै बाँकी रहेको पनि दोहोर्याए । भारतका कारण प्रतिवेदन सार्वजनिक भएन भन्नु तथ्यगत रूपमा गलत रहेको विदेश मन्त्रालयको दावी छ ।
दुवै पक्षले आआफ्ना सरकारलाई बुझाएपछि मात्रै प्रतिवेदन सार्वजनिक हुने उनले स्पष्ट पारे । प्रधानमन्त्री केपी ओलीले कालापानी क्षेत्र नेपालको भएको अभिव्यक्ति दिएको एक साता नबित्दै भारतको पुरानै अडान सार्वजनिक भएको हो । भारतले नोभेम्बर दुईमा सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समावेश गरेको विषयलाई लिएर नेपालमा विरोध भइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies