२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

छठ पर्व : संस्कृति र विज्ञानको सम्मिश्रण

shivam cement
२०८१ कार्तिक २२ गते ०६:२०
छठ पर्व : संस्कृति र विज्ञानको सम्मिश्रण

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’

शुभकामना दिइँदा दसैँदेखि छठसम्मको एकै पटक दिइने हाम्रो बानी बसिसकेको छ । हुन पनि दसैँ तिहारपछि नै लगत्तै छठ सुरु हुने गर्दछ । यो पर्व यसपटक कार्तिक २२ गते परेको छ । झन्डै एक हप्तासम्म धूमधामसँग मनाइने गरिन्छ यो पर्व । कार्तिक शुक्ल चौथीमा स्नान, दान, धर्मका साथ सुरु हुने छठ पर्वको विशेष रौनक षष्ठी तिथि नै हो । मिथिला संस्कृतिको अभिन्न अङ्ग बनेको छठ पर्व भन्नु ऊर्जाको केन्द्र सूर्यको उपासना नै हो ।

यो संस्कृतिको प्रमुख धरोहर छठको परम्पराले मैथिल–थारुलगायत भोजपुरी, अवधिदेखि पूरै हाम्रो तराई क्षेत्र ओगटेको छ । पर्व सञ्चालनको क्रममा केही वर्ष यतादेखि त काठमाडौंको गौरीघाट, नाग पोखरी, रानी पोखरी, सबैजसो नदी किनारा नै ढाकेको देखिन्छ । वि.सं. २०४६ देखि राष्ट्रव्यापी चाडको रूप लिएको छठ पर्वमा छठी माताको पूजा गरिन्छ । शुक्ल षष्ठीमा विशेष धूमधामका साथ मनाइने भएकाले यस पर्वको नाम छठ रहेको हो । हरेक जन्मदिनमा दीर्घायु र सु–स्वास्थ्यको कामना गर्दै गरिने अष्टचिरन्जीवि भनौँ व्यास, बलि, हनुमान, विभीषण, प्रह्लाद, मार्कण्डेय, अश्वत्थामा, परशुरामको पूजा उपासना गर्दा षष्ठिका देवीको पूजा उपासना गर्नुपर्ने हुन्छ । सत्ययुगमा अत्रि ऋषिकी पत्नी अनसूयाबाट पनि षष्टिका माताको पूजा उपासना भएको पौराणिक मान्यता छ भने चन्द्रमाको जन्म उनै अत्रि अनसूयाको गर्भबाट भएको हो । संसारको सत्य सूर्य, चन्द्र, धर्ती, आकाश भनौँ ब्रह्माण्ड नै हो । त्यसैले आद्य गुरु शङ्कराचार्यको कथन छ, ‘ब्रह्म सत्यं जगत् मिथ्या’ ।

भूकम्प, कोभिड, डेङ्गुु, बाढी, पहिरो अनेकौँ समस्या छन् हाम्रा । धेरैलाई विगतझैं यसपालि पनि दसैँ खल्लो भयो, मनसुनका कारण, ठूलो चाड तिहार पनि अनियन्त्रित बजारले यस्तै–यस्तै भयो । यसपालि लक्ष्मी पूजामा बिजुली अधिक खपत भएको देखियो । यसपालि फूल मालाहरू विदेशबाट आयात नगरिए पनि अन्य धेरै सामान आयात नै गर्नु परेको छ । तिहार बजार पनि धेरै नै महँगो भयो, भाइ मसला धेरै महँगो रह्यो, आफ्नो उत्पादन नहुँदा । पटाका नपड्काउने भनियो, रातभरि पड्किइरह्यो, ठूलो स्वरमा साउन्ड सिस्टमले तिहारभरिको निद्रा हराम नै भयो, अनुगमन फितलो रह्यो ।

पूर्व दिशाबाट झुल्कने सूर्यका अल्ट्राभाइलेट किरणमा जीवात्माका लागि अत्यावश्यक भिटामिन ए र डी पाइन्छ । सौर्य किरणमा अनन्त ब्रह्माण्डीय ऊर्जा शक्ति हुन्छ । सप्तरङ्गी इन्द्रेणीसमेत मिश्रण सौर्य किरणबाट आज विज्ञानले अनेकौं सुविधायुक्त चमत्कार देखाउँदै छ । संसारकै लागि वैज्ञानिक बनेको वैदिक शास्त्रअनुसार मानिसको आत्म कारक ग्रह सूर्य नै हो । अथर्ववेदले सूर्य किरणमा मानवरोग निवारणको प्रचुर शक्ति हुन्छ भनेको छ । निरोगिता, आयु, आरोग्य, देह पुष्टि, बल बद्र्धनका लागि छठको पर्वको रूपमा पूजा आरम्भ भएको सूर्य पूजाको परम्परा हिजोआज प्रमुख सहरहरूदेखि काठमाडौंको धेरै क्षेत्र, पशुपतिको सूर्यघाट, आर्यघाट, विष्णुमतीको छेउछाउ मात्र नभएर अधिकांश मठ, मन्दिर एवम् नदी किनारासम्म पुगेको छ । जनकपुरको जानकी क्षेत्र र काठमाडौंको रानी पोखरी क्षेत्रमा त भव्य विवाह उत्सवझैँ झकिझकाउ नै हुने गरेको हो अतीतमा । ०७२ को भूकम्पपछि निरस बनेको रानी पोखरी हाल हराभरा भएको छ, माथिबाट खन्याइएको पानी नै भए पनि हेर्न लायक भएको छ । त्यसो त त्यसैको बिच भागमा रहेको यमलेश्वर भनौं बाल गोपालेश्वर मन्दिरले पनि पुनर्जीवन प्राप्त गरेको छ । 

अविवाहितहरूले विवाहपछिको दाम्पत्य सुख र विवाहितहरूले असल पारिवारिक जीवनीको चाहना राखी उदाउँदो सूर्यलाई अघ्र्य दिई एकाबिहानै घाट वा नदी तलाउ किनारमा बसी उपासना गर्ने परम्पराको थालनी अत्रि पत्नी अनसूयाबाटै भएको पाइन्छ । पतिव्रता अनसूयाले पतिको दीर्घायुको कामना गर्दै छठी माताको पूजा गरी आरम्भ गरेको छठ पर्वले द्वापर युगसम्म निरन्तरता पाइरह्यो । श्रीकृष्ण पुत्र शाम्बले कुष्ठरोग निवारण हेतु यो व्रत गरेको कुरा भविष्य पुराणमा वर्णित छ । वेदले बताएको सम्पूर्ण जीव र जगतको आँखा रूप सूर्य पूजाबाट अन्य मनोकामना पनि पूरा हुने विश्वास गरिन्छ । पौषमा हिन्दु नारीहरू हरेक आइतबार सूर्य उपासना गर्ने गर्छन् भने तागाधारी (जनै लगाउने)हरूले जप्ने सूर्य गायत्री मन्त्रले आत्मिक चुरो, भित्रिबल, दृढ इच्छा शक्ति, मनोबल वृद्धि हुने कुरा वैज्ञानिकहरूले पुष्टि गरेका छन् । मानवको उषाकलादेखि जीवन्त सौर्य ऊर्जाले संसारकै प्राणीलाई हित गर्छ भने अघि च्यवन ऋषिकी पुत्री सु कन्याले षष्ठीका व्रत गरेर छठ पूजा गरी अश्विनीकुमारहरू मार्फत आफ्ना अन्धा पति च्यवनलाई उपचार गरी पुनर्दृष्टि प्रदान गरेकी थिइन् । छठ पूजा समूहमा आबद्ध भएर गरिने पर्व विशेष हो । अघि महाभारत कालमा पाँच पाण्डवहरूले आफ्नो गुप्त बासको, वन बासको समय समूहबद्ध भई सूर्योपासना गरेका थिए जसबाट सूर्यदेव खुसी भई पाण्डवहरूलाई शक्ति सञ्चयको आशीर्वाद प्राप्त भएको थियो ।

सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता शिवको संयुक्त रूप भनेको सूर्य नै हो । सम्पूर्ण प्राणीमात्रको आत्माको रूपमा रहेको सूर्यले प्राणीहरूलाई ताप शक्ति दिन्छ । न्यानोपना नभए प्राणीको जीवन जीवन्त हुन सक्दैन । कार्तिकदेखि बिस्तारै बढी जाडो हुने गर्छ, यसैले पनि मानिसहरू ताप शक्तितिर लाग्नु स्वाभाविक हो । शीतलताको कारक, मानिसको मनको ऊर्जा स्रोत भनेको चन्द्रमा हो । सूर्यले दिनमा महत्व दर्साएझैँ चन्द्रमाले रातमा आफ्नो मनमोहक उपस्थिति दर्साएको हुन्छ । शारदीय रात्रिमै भगवान् श्रीकृष्णले संसार चकित पार्ने रासलीला रचाउनु भएको थियो, यसै कार्तिक शुक्ल रात्रि हो । दिन र रात, सुख र दुःख मानव जीवनको पर्याय नै हो ।

जीवनको आरम्भ जलमा हुन्छ । जलतत्व, ज्वारभाटा, समुद्र चन्द्रमाबाट प्रभावित हुन्छ भने जीवनको सञ्चालन र पालना माटोमा हुन्छ । जल र माटो (पृथ्वी) दुवैको सञ्चालन भने आकाश (सूर्य) नै हो । हाम्रो स्थूल एक शरीरमा तीन सूक्ष्म शरीर सञ्चालन भइराखेको हुन्छ । पहिलो हो– माटो अर्थात् स्थूल शरीर (देखिने), दोस्रो हो मन (सूक्ष्म शरीर, नदेखिने) तेस्रो हो कारण शरीर आत्मा (झन् नदेखिने) । यसरी स्थूल, सूक्ष्म र कारण शरीर तीन वटैबाट मात्र हाम्रो जीवन जीविकोपार्जन भइराखेको हुन्छ । छठको दिन बेलुका चन्द्रमालाई खाना, खीर अर्पण गर्ने चलन पनि छ । यसको समष्टि भन्नु जल, माटो र अग्नि (ताप) हो । यी सबैको सामूहिक समर्पण भाव प्रकट गर्दै छठ पर्वमा माटोको घडासहित जलाशयमा उपस्थित भई फलफूल, मिठाइ, पक्वान्नहरू, नरिवल आदि लिई सूर्यदेवलाई खुसी पारिन्छ । 

बेलुकीपख डुब्न लागेको सूर्यलाई अघ्र्य दिई पानीमा डुबुल्की मार्दै, मनोरञ्जन गर्दै गीत, नृत्य, भजनसहित रातभर जाग्राम बसेर छठ पर्व मनाउने धार्मिक, सांस्कृतिक पर्व विश्वकै लागि एक अनुपम रहेको छ । भोलिपल्ट सप्तमीको सूर्योदय नहुँदै आफ्नो इच्छा सिद्धि होस् भनी वरदान माग्ने पनि चलन छ । भिन्सर अर्थात् बिहानै धुप, दीप, जल, पूजा अर्पण गर्दै सूर्य दर्शन गर्ने गरिन्छ । जीवनको नयाँ उत्साह र ऊर्जा प्राप्ति हेतु नवीनतम रस लिएर हरेक दिन उदाउने सूर्यको दृश्य अन्य दिनहरूमा पनि हेर्न लायक छ र त हामी कहिले भक्तपुरको नगरकोट, कहिले पूर्वको इलाम अन्तुडाँडा, कहिले पश्चिमको डडेलधुरा डाँडो पुग्ने गर्छौँ । त्यहाँ महाभारतको डाँडाबाट सूर्यास्तको समेत दृश्य हेर्दा कसलाई रमाइलो नलाग्ला । मौका मिले समुद्रको एकै भागबाट सूर्योदय र सूर्यास्त हेर्न बङ्गालको खाडी र हिन्द महासागरको सङ्गम भारतको कन्याकुमारी क्षेत्र, स्वामी विवेकनन्द शिला स्थलबाट समेत दृश्यावलोकन गर्न विश्वकै पर्यटकहरूको घुइँचो लाग्ने स्थल पनि कम महत्वको छैन । जीवन आफैंमा यात्रा नै हो, घुमफिर नगरी कसरी बस्न सकिएला र ? जीवन आफैंमा यात्रा हो ।

ADV

सम्बन्धित खबर

Advertise