काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) जाने कामदारसँग वैदेशिक रोजगार ऐनले तोकेको भन्दा चर्को रकम असुल गरेको अभियोगमा राजधानीको पुरानो बानेश्वरमा रहेको ओशो रिक्रुटिङ एजेन्सी प्रा.लि.मा छापा मारेको छ । रोजगारीमा जाने कामदारको उजुरीका आधारमा बुधबार विभागको टोलीले त्यहाँ छापा मार्दा कामदारसँग रकम लिँदै गरेको अवस्थामा म्यानपावर कम्पनीका कर्मचारीलाई रंगेहात पक्राउ गरिएको विभागको राहत तथा उद्धार समन्वय शाखाका शाखा अधिकृत कुशल बरालले मध्यान्हलाई जानकारी दिए ।
यूएईको ट्याक्सी ड्राभइर (क्याब)को भिसामा पठाउनका लागि दुई लाख ३० हजार रुपैयाँ मागेपछि कामदारले केही दिनअघि नै विभागमा मौखिक उजुरी गरेको तर रकम लेनदेनको मौका पारेर विभागले बुधबार म्यानपावर कम्पनीमा छापा मारेको हो । बुधबार विभाग टोलीले २ लाख १० हजार नगद बरामद गरेको बताएको छ ।
बुधबार देखिनै म्यानपावर कम्पनीको कारोवार रोक्का गरेको विभागले रकम र करारपत्र सम्बन्धी कागजात जफत गरेको छ । म्यानपावर कम्पनीका सञ्चालक र व्यवस्थापकलाई बिहीबार बयानका लागि विभाग आउन निर्देशन दिएको भन्दै छापा मार्न गएका अधिकृत बरालले अनुसन्धान पछि थप कारबाही गर्ने बताए ।
विभागमा आर्थिक वर्ष ०६५-०६६ मा द.नं ७९५ मा दर्ता रहेको उक्त म्यानपावर कम्पनीका सञ्चालक लक्ष्मण विश्वा हुन् । मुख्य गरी यूएईमा कामदार पठाउँदै आएको उक्त म्यानपावर कम्पनीले गतवर्ष ३० महिला सहित ९ सय ९७ जना र त्यस भन्दा अघिल्लो आर्थिक वर्ष १ हजार ५ सय ४३ जना कामदार वैदेशिक रोजगारीमा पठाएको थियो । उक्त कम्पनीका सञ्चालकले आर्जन गरेको सम्पत्तिका सम्वन्धमा राजस्व अनुसन्धान विभाग र सम्पति शुद्धिकरण विभागले छानविन गरिरहेको समेत समाचार स्रोतले जनाएको छ ।
सञ्चालक विश्वाले रोजगारीका लागि कामदारलाई यूएई पठाउन रकम लिएको नभई कम्पनीका कर्मचारी र रकम बुझाउने कामदार दुबै एक गाउँका भएकोले आफु कार्यालयमा नभएको बेला उनीहरुले एक आपसमा गर्जो टार्न सापटी लेनदेन गरेको मध्यान्हलाई बताए ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ५३ मा सेवा शुल्क तथा प्रवद्र्धन खर्च बढी लिएमा बढी लिएको शुल्क वा खर्चसम्बन्धित व्यक्तिलाई फिर्ता गर्न लगाई त्यस्तो इजाजपत्रवालालाई एक लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था रहेको छ ।
विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले अनुसन्धान र मुद्दा फरकारक नहुँदासम्म कम्पनीको काम पनि रोक्का गरिएको जानकारी दिँदै रकम बुझाएका कामदारलाई चार दिन भित्र यूएई पठाउन पनि उक्त म्यानपावर कम्पनीलाई निर्देशन दिएको जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies