संस्कृति जीवन पद्दतिको ऐना हो । त्यसैले कुनै समाजको प्रतिविम्व त्यहाँको संस्कृतिमा झल्किएको हुन्छ । अर्थात्, यसको ‘भाइस भर्सा’ कुनै संस्कृतिले तत् समाजको जीवन पद्दतिको परिचय दिन्छ । विकसित समाजको पदचिन्ह बुझ्न तत् समाजले कोरिरहेको सांस्कृतिक चित्र हेर्नु उत्तम हुन्छ । संस्कृति नै त्यस्तो पक्ष हो । विद्यमान समाजले अवलम्बन गरिरहेको संस्कृतिबाट उक्त राज्यका कुनै पनि संयन्त्रका कुनै संरचना अछुतो हुन्न । नागरिक व्यवहार, सरकारी निर्णय, सेना प्रहरीदेखि आम सञ्चार माध्यमका सामग्री समेत विद्यमान समाजले अवलम्बन गरेको संस्कृतिबाट अछुतो हुन्न ।
जस्तो– छिमेकी देश चीन र भारत हेर्दा पनि हामी प्रष्ट हुनुपर्छ । एउटा अति उदार संस्कृतिको परिचायक छ त अर्को कम्युनिष्ट आदर्शलाई पछ्याउँछ । नेपाल र भारतकै बुझाइदेखि व्यवहारमा समेत कयौं भिन्नता छन् । कुटनैतिक सम्बन्धबारे केही बेर आँखा चिम्लिएर वास्तविकताकै कुरा गर्ने हो भने छिमेकी मुलुक भारत भन्दा नेपाल धेरै गुणा सहिष्णु मान्न सकिन्छ । छिमेकी मुलुक भारतका कतिपय आचरण नेपालले अपनाएको छैन, अस्वीकार गरेको छ । त्यसैले नेपाली समाज आजपर्यान्त एकीकृत छ । भारतमा धेरै पटक असहिष्णुताले सीमा पार गरेको छ । देश नै विभाजित हुने अवस्था भारतको इतिहासले भोगेको छ ।
अहिले फेरि भारतमा नागरिकता सम्बन्धी विधयेक विवादमा परेको छ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले मुस्लिम विरुद्ध कठोर नीति लिएको छ । संविधानको धारा ३७० खारेज गरेरै मुस्लिमप्रति अनुदार हुने संकेत गरेको भाजपा सरकारले फेरि नागरिकता विधेयक संशोधन विधयेक मार्फत् मुस्लिम प्रति कठोर नीति लिएको छ । विपक्षी भारतीय राष्ट्रिय कंग्रेस, भारतीय कम्युनिष्ट पार्टी (भाकपा), भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) देखि साना क्षेत्रीय दलहरुको विरोध मात्रै होइन, १४ करोड मुस्लिमको आवाजबारे समेत भाजपा सरकारले आँखा चिम्लिएको छ । यसले छिमेकमा असहिष्णु संस्कृतिले चरम रुप फेरि लिने संकेत देखाएको छ ।
तर, नेपालले भने थुप्रै प्रकृतिका विविधता भड्काउने प्रकृतिका अतिवादलाई परास्त गर्दै स्थिर सरकार र बहुलवादी लोकतन्त्रको रथ अगाडि बढाएको छ । भारतमा हिन्दू र मुस्लिमको एजेण्डाले आगो बलिरहँदा काठमाडौंमा भने किराँत राई समुदायको उधौली धुमधाम मनाइदैछ । उधौलीमा कुनै जाति विशेषको मात्रै उपस्थिति देखिदैन । तसर्थ, छिमेकका असहिष्णु बाछिटाबाट बच्दै विविधतायुक्त समाजको जग बलियो बनाउन तदनुकुलको नीतिमा ध्यान दिन आवश्यक छ । उधौलीको शुभकामना !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies