काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राजधानी छिर्ने मुख्य मुख्य चोकमा ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा संघले राजधानीका कलंकी चोक, बालाजु चोक, कोटेश्वर चोक, एयरपोर्ट चोक र गौशाला चोकमा ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।
सो क्रममा संघका पदाधिकारी एवं व्यवसायीहरु चोक-चोकमा गएर सवारीचालकहरुलाई ट्राफिक नियम, ओभरट्याग गर्न, हर्न, तीव्र गति नियन्त्रण गर्न सिकाएका थिए भने सर्वसाधारणहरुलाई जेब्रा क्रसिङबाट बाटो काट्न सिकाएका थिए । त्यस्तै उनीहरुले ट्राफिक प्रहरीबाट प्राप्त ट्राफिक जनचेतनामूलक पर्चा समेत बाँडेका थिए ।
संघका अध्यक्ष विष्णुप्रसाद गैरेले चोक-चोकमा खटाइएका संघका पदाधिकारीहरुले सञ्चालन गरेको जनचेतनामुलक कार्यक्रमको अनुगमन गरेका थिए । चोक-चोकमा गएर अध्यक्ष गैरेले सबै व्यवसायी तथा पदाधिकारीहरुलाई कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गरेका थिए । उनले श्रम मन्त्रालयको आयोजनामा शुरु भएको सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसलाई सफल बनाउन संघले सो कार्यक्रमको आयोजना गरिएको मध्यान्हलाई जानकारी दिए ।
संघका प्रथम उपाध्यक्ष कमल तामाङको संयोजकत्वमा गौशाला चोकमा जनचेतनामुलक कार्यक्रम गरिएको छ । तामाङले वैदेशिक रोजगारमा जाने अधिकांश नेपाली कामदारहरुमा ट्राफिक नियम सम्बन्धी ज्ञान नहुँदा विदेशमा ज्यान गुमाउनु परेको बताउँदै स्वदेशमै जनचेतना फेलाउन पाए त्यस्तो घटनामा कमी आउने विश्वासका साथ सो कार्यक्रम आयोजना गरिएको बताए । उनले ट्राफिक नियम सबैले जान्नै पर्ने नियम भएकाले आफुले सिकेर अरुलाई पनि सिकाउन सबैमा आग्रह गरे ।
यस्तै संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्लको संयोजकत्वमा बालाजु चोकमा जनचेतनामुलक कार्यक्रम गरिएको छ । मल्लले संघले गरेको यस कार्यलाई सर्वसाधारणले धेरै नै प्रशंसा गरेको बताए । उनले ट्राफिक नियम सम्बन्धी यस्ता जनचेतनामुलक कार्यक्रमले धेरै मानिसलाई उपयोगी हुने बताउँदै दुर्घटनामा समेत कमी आउने दाबी गरे ।
त्यस्तै संघका तृतीय उपाध्यक्ष किशोर कुमार केसीको संयोजकत्वमा कलंकी चोकमा जनचेतनामुलक कार्यक्रम गरिएको छ । केसीले कलंकी चोकमा ट्राफिक व्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण रहेको बताए । उनले कलंकी चोकमा सर्वसाधारणहरु अटेरी गर्दै मनपरी बाटो काट्ने गरेको र गाडीहरु पनि ट्राफिक नियम पालना गर्न नखोज्ने जस्ता समस्या रहेको बताए । उनले कलंकीमा सर्वसाधरणका लागि बाटो काट्नका लागि तत्काल ओभरहेड ब्रिज बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
यस्तै संघका सचिव मेघनाथ भुर्तेलको संयोजकत्वमा कोटेश्वर चोकमा जनचेतनामुलक कार्यक्रम गरिएको छ । सचिव भुर्तेलले मानिसको जीवनमा ट्राफिक ज्ञान निकै महत्वपूर्ण रहेको बताउँदै ट्राफिक नियम नमानेर सानो गल्ती गर्दा पनि ज्यान जान सक्ने बताए । उनले सरकारले पनि ट्राफिक व्यवस्थापन चुस्त बनाउन यस्ता जनचेतनामुलक कार्यक्रम गरिरहनुपर्ने उल्लेख गरे । उनले यस्तो कार्यक्रमलाई एक दिन या एक अवसरमा मात्र सिमित नराखी निरन्तरता दिन आवश्यक रहेको बताउँदै ट्राफिक प्रहरीले कति दु:ख गरिरहेका छन् भन्ने पनि प्रतक्ष अनुभूति भएको बताए ।
त्यस्तै संघका महासचिव सुजित श्रेष्ठको संयोजकत्वमा एयरपोर्ट चोकमा जनचेतनामुलक कार्यक्रम गरिएको छ । महासचिव श्रेष्ठले मानिसहरुले हतार भएको छ भन्दै जेब्रा क्रसिङसम्म नपुगी अन्यत्रैबाट बाटो काट्ने प्रवृत्ति बढ्दै गएको बताए । उनले हतारमा नियम उल्लंघन गर्दा आफैलाई हानी पुग्ने बताउँदै सबैले ट्राफिक नियम अरुका लागि नभई आफ्नै लागि पालना गरिनु पर्ने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies