काठमाडौं : वरिष्ठ कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन अमेरिकाको बोस्टनमा आयोजना गरिएको छ । ‘सबै भाषा–सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल नाराका साथ सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले कुलपति राईको एकल कवितावाचनको पहिलो श्रृंखला चितवनबाट प्रारम्भ गरेको थियो ।
यसै क्रमको दोस्रो श्रृंखलामा अमेरिकाको बोस्टनमा कुलपति राईले आफ्नो चर्चित कवितासंग्रह ‘यारी’बाट कविता वाचन गरेका थिए । सो अवसरमा उनले भाषा, साहित्य, दर्शनशास्त्र, सामाजिक शास्त्रलगायतका विधाको उत्खनन र प्रवद्र्धन गर्ने उद्देश्यले २०१४ सालमा स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठानमा अझै पनि आमूल परिवर्तन हुन नसकेको बताए ।
उनले कतिपयलाई प्राज्ञ प्रतिष्ठानको महत्व, उद्देश्य र प्रभावकारिता नै थाहा नभएको बताउँदै देश–विदेशमा यसबारे जानकारी गराउने लक्ष्य राखिएको बताए । कुलपति राईले नेपाल प्रज्ञा प्रतिष्ठान सम्पूर्ण नेपालीको साझा थलोको रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताए ।
यसैगरी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य ÷काव्य) विभाग प्रमुख बाबा बस्नेतले कविता वाचन, अनेसासका केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजाले मनतव्य र अनेसास नेपाल च्याप्टरका पूर्व महासचिव ऋषभदेव घिमिरे र दिपा राईले पनि कविता वाचन गरेका थिए ।
सो कार्यक्रम अनेसास, बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको थियोे । कार्यक्रममा बोस्टन, न्यू ह्याम्प्सायर र न्यूयोर्कबाट समेत सहभागिता रहेको थियो ।
गुल्मीः गुल्मीको मदाने गाउँपालिका–६ की सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँड्छिन् ।
महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उनले बताइन् । ‘महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ’, उनले भनिन्, ‘हामी बाजा बजाएर अगाडि बढेका छौँ ।’ उनी आजभोलि नौमती बाजाको समूहमा बाजा बजाउँदै जिल्ला सदरमुकाम पनि पुग्न थालेकी छिन् ।
सोही ठाउँकी वसन्ता जिसीले पुरुष विदेश गएर गाउँमा कम रहेकोमा आफूहरूले बाजा बजाउन सिकेको बताइन् । ‘गाउँमा वृद्धवृद्धामात्र हुनुहुन्छ, उहाँहरूले बाजा बजाउन सक्नुहुँदैन’, उनले भनिन्, ‘पुरुष कम हुन थालेपछि हाम्रै समूह बनाएर बाजा बजाउन थालेका हौँ ।’ गाउँमा बाजा बजाउने प्रचलन रहेकामा यसलाई लोप हुन नदिन महिलाले सीप सिकेको उनले बताइन् ।
उनीहरू मात्र होइन, नौमती बाजाको सबै समूह नै महिलाको छ । विगतदेखि हालसम्म पुरुषले मात्र बजाइरहेको बाजामा समूहमा सबै महिला हुँदा यसलाई अचम्मको रूपमा हेरिएको छ । मदाने महिला नौमती बाजा समूह नामले परिचित यस समूहमा पुर्कोटदहका वसन्ता जिसी, सुस्मिता घर्ती, माया परियार, रिमा विक, पवित्रा विक, सीता विक, असिम विक, जुना नेपाली, रञ्जु नेपाली, रमा विक र सिर्जना विक गरी ११ जना रहेका छन् । अहिले यो समूहलाई जिल्लाका विभिन्न ठाउँमा बाजा बजाउन भ्याइनभ्याई छ ।
विवाह, व्रतबन्ध, विभिन्न मेलापर्व तथा उत्सवमा बजाइने नौमती बाजा मुख्य बाजा हो । पश्चिमेली संस्कृतिको प्रभाव र युवा पुस्ताले चासो नदिँदा नौमती बाजा लोप हुने स्थितिमा छ । तर गुल्मीको मदाने गाउँपलिका–६ पुर्कोटदहका महिला यसको संरक्षणमा जुटेका छन् ।
बाजा बजाउने चलन पहिलेदेखि चलिआए पनि ग्रामीण भेगमा यो व्यावसायिक बन्न सकेको थिएन । तर मदाने गाउँपालिकाका यी महिलाले यसलाई व्यावसायिक बनाएका छन् । यतिबेला मदाने गाउँपालिकाको यो समूह बाजा बजाउन गाउँपालिका, छिमेकी पालिका र जिल्ला सदरमुकाम तम्घाससम्म पुग्दै आएको छ । मदाने महिला नौमती बाजा समूहकी अध्यक्ष जिसीले आफूहरूलाई एक दिन बाजा बजाएबापत रु. २५ हजारदेखि ३५ हजारसम्म दिने गरेको बताइन् ।
मदाने गाउँपालिकाले नौमती बाजाको संरक्षणका लागि महिलालाई सीप सिकाएको थियो । सीपसँगै गाउँपालिकाले व्यावसायिक बनाउनका लागि नौमती बाजा वितरण पनि गरेको थियो । मदाने गाउँपालिकी उपाध्यक्ष सरिता खड्काले बाजाको संरक्षण, महिलालाई सीप, बाजा बजाउने पेसालाई व्यावसायिक र गाउँपालिकाको पहिचानका लागि यो कदम अगाडि बढाएको बताइन् ।
‘हामीले महिलालाई अगाडि बढाउन सीप सिकाएका हौँ’, उनले भनिन्, ‘अहिले महिलाले बजाइरहेको बाजा व्यावसायिक र पहिचान बन्यो, खुसी लागेको छ ।’ परम्परागत संस्कृतिको संरक्षण गर्नका लागि नौमती बाजाको जगेर्ना गरेको उनको भनाइ छ । उनले यस आर्थिक वर्ष पनि गाउँपालिकाले बजेट विनियोजन गरेर अगाडि बढेको बताइन् ।
महिलाले खुसीका साथ आफैँ लागेर बाजा बजाउने पेसालाई व्यावसायिक बनाएकामा संस्कृति संरक्षणमा टेवा पुगेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताए । ‘मदानेले महिलालाई नौमती बाजाको सीप सिकाएर पहिचान बनायो’, उनले भने, ‘अन्य पालिकाले पनि आफ्ना छुट्टै खाले पहिचान बनाउन आवश्यक छ ।’ रुचिअनुसारका पेसामा अगाडि बढ्नु आफैँमा सकारात्मक भएको उनको भनाइ छ । रासस
काठमाडौंः दलित समुदायका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआईक्यू)को मुद्दालाई चित्रकलामार्फत जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘जात व्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ शीर्षकमा चित्रकला प्रदर्शनी हुने भएको छ ।
सामरी उत्थान सेवा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा काठमाडौंमा एक साता लामो चित्रकला प्रदर्शनी हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यही मङ्सिर १४ देखि २० गतेसम्म नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्रदर्शनी कक्षमा हुने उक्त प्रदर्शनीमा देशभरबाट दलित समुदायका एलजीबीटीआईक्यू कलाकारहरूसहित ३८ कलाकारहरूका चित्रकला प्रदर्शन हुनेछन् ।
प्रदर्शनीले दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको कला र क्षमताको उजागर गर्नाका साथै उनीहरुको अधिकारकारको पौरखी गर्न पनि मद्दत पुग्ने सामरी उत्थान सेवाकी कार्यकारी निर्देशक विमला गायकले बताइन्। उनले भनिन्, ‘यो चित्रकला प्रदर्शनीले दलित आन्दोलन र एलजीबीटीआईक्यू समुदायको आन्दोलनभित्र जातका आधारमा दलित एलजीबीटीआईक्यू व्यक्तिहरूले भोग्नु परेको बहिष्करण र विभेदविरुद्ध आम बहसको वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।’
प्रदर्शित हुने चित्रकलाले दलितमाथि हुने विभेद, यौनिकता र जातको सम्बन्धमा गरिएको व्यवहारको साङ्केतिक सन्देश दिने सामरी उत्थान सेवाका कार्यक्रम संयोजक शिवहरि ज्ञवालीले जानकारी दिए । चित्रकला प्रदर्शनीले दलित आन्दोलन र एलजीबीटीआईक्यू समुदायको आन्दोलनभित्र जातका आधारमा दलित एलजीबीटीआईक्यू व्यक्तिहरूले भोग्नु परेको बहिष्करण र विभेदविरुद्ध आम बहसको वातावरण सिर्जना हुने आयोजकको अपेक्षा छ ।
–रसुवाली कवि
पछिल्लो समय सिनेमालाई बौद्धिक कर्मको रूपमा बुझ्ने प्रचलनको विकास भएको छ । चेतना निर्माण ढिलो गरी भइरहेको नेपाली समाजमा सिनेमा खुद मनोरञ्जनको साधन मात्र हुँदै गर्दा दोस्रो जनआन्दोलनपश्चात नेपाली सिनेमाले गुणात्मक फड्को मारेको छ । सिनेमासम्बन्धी अध्ययन हुने क्याम्पससमेत खुलेका छन् । नेपाली समाजमा देखिएको लोकतान्त्रिक वातावरणले समेत नाटक र सिनेमाको विकास र विस्तार भएको सत्य हामीसामु छ । नाटकमार्फत वा नाटक हुँदै नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका कलाकारहरू मूलधारमा स्थापित भइसकेका छन् । रोनाधोना र एकैप्रकारका द्वन्द्वबाट निर्देशित नेपाली सिनेमाले मुद्दा, विचार र कलासमेत बोक्ने स्थिति बनेको छ ।
मोहन राई दोस्रो जनआन्दोलनपछि नेपाली सिनेमा क्षेत्रमा नुतन प्रयत्न गरिरहेका एक सिनेमाकर्मी हुन । यसै वर्ष प्रदर्शनमा आएको उनको चलचित्र ‘महानगर’ सिनेमामा रुचि राख्नेहरूका निम्ति एक उत्कृष्ट सिनेमाका रूपमा प्रचारित भयो । भलै हलहरुमा यस चलचित्रले पर्याप्त शो पाएन । उनै मोहन राईले सिनेमासम्बन्धी महत्वपूर्ण पुस्तक अनुवाद गरेका छन् ‘निर्देशकको यात्रा–निर्देशक लेखक र कलाकारबिचमा सहकार्य ।’ यस पुस्तकका मूल लेखक हुन प्रसिद्ध निर्देशक तथा लेखक मार्क ट्राभिस । मार्कको यो पुस्तक विभिन्न कोणबाट महत्वपूर्ण रहेको छ ।
यस पुस्तकको बारे निर्देशक मार्क राईडरको मननीय भनाइ रहेको छ । अनुवादले त्यस भनाइलाई कभर पेजमा राखेका छन् । मार्क लेख्छन्– ‘यस पुस्तकले चलचित्र निर्माणको सम्पूर्ण सिर्जनात्मक प्रक्रियामा लाग्दछ – अवधारणाबाट समाप्तिसम्म । यस पुस्तकबाट तपाईंले पट कथालाई कसरी अध्ययन गर्ने, त्यसको केन्द्रबिन्दुलाई कसरी पत्ता लगाउने, आफ्नो भिजन कसरी निर्धारण गर्ने र त्यो भिजनलाई पर्दामा उतार्नका लागि लेखक, कलाकार, डिजाइन, छायाँकार, सम्पादक, संगीतकार र सिर्जनात्मक टोलीका सबै सदस्यसँग कसरी संवाद र सहकार्य गर्ने सिक्नु हुनेछ ।’
अनुवादक मोहन राइले सकेसम्म यस पुस्तकलाई सहज बनाउन सरल भाषा प्रयोग गरेका छन् । कतिपय भाषा चाहिँ अङ्ग्रेजी नै छोडिदिएका छन् । किनकी ती शब्दलाई अङ्ग्रेजीमै भनेपनि पाठकले बुझ्छन् भन्ने अनुवादकको अभिप्राय रहेको हुनसक्छ । पुस्तकमा कुल बाह्र अध्याय रहेका छन् । निर्देशकले पटकथा अध्यायबाट पुस्तकको अध्यायहरू सुरुवात गरेका छन् । उनले पहिलो अध्याय भनेका छन्– निर्देशक पटकथासँग भिज्नुपर्छ । उनले कथावाचनलाई आदर्श पक्ष मानेका छन् भने श्रोता र दर्शकको भूमिकाप्रति सचेतताको अपिल गरेका छन् । दर्शकको सम्बन्धमा उनी भन्छन् – ‘उ मनोरञ्जन लिन चाहन्छ, चकित हुन चाहन्छ, मोहित हुन चाहन्छ र आफू संलग्न भएको हेर्न चाहन्छ ।’ (पृष्ठ ९) यसबाट के बुझ्नुपर्छ भने दर्शकको जुन अपेक्षा छ, त्यो पूरा गर्न निर्देशकले प्रयास गर्नुपर्छ । कथावाचनलाई गति दिन दर्शकको कोण शक्तिशाली हो ।
तीनको अंकको संरचनाबारे मार्कले दोस्रो अध्यायमा चर्चा गरेका छन् । डाक्टर किम्बलको उदाहरण यहाँ प्रस्तुत गरिएको छ । डाक्टर किम्बललाई श्रीमती हत्याको अभियोग लागेको छ । उनी आफूलाई निर्दोष सावित गर्न चाहन्छन् । लफ्टन जेरार्डको उद्देश्य भनेको किम्बलको अपराधी करार गर्न सबुतहरू खोज्नु हो । यी दुई पात्रहरू सघन भूमिकामा एक्टलाई जोड्न खोजिएको छ, सिनेमाका कथालाई तीनवटा एक्टमा ढाल्नुपर्ने मार्कको सुझाव छ । जस्तो डा. किम्बलको कथामा पहिलो एक्टमा पात्र अनिश्चितताको दुनियाँमा छ, दोस्रो एक्टमा मुख्य पात्र चुनौतीसँग जुध्दै गएको छ र तेस्रो एक्टमा मुख्य पात्र पहिलेको स्थितिमा फर्कन नसक्ने बिन्दुमा छ । चलचित्रको तीन चरण विभाजन भएको छ ।
द्वन्द्व सिर्जनामा आख्यानमा झैँ मार्कले पनि द्वन्द्व सिर्जनालाई बुझाउन खोजेको देखिन्छ । डाक्टर किम्बलका जस्तै अनेकौं कथाहरूलाई तीन वटा चरणबाट हेर्न सकिन्छ, यो अध्यायमा यो विषयको लामो बयान छ ।
लेखक मार्क टाभिसले पटकथा लेखकसँग निर्देशकको सहकार्य भूमिकालाई जोड दिएका छन् । निर्देशकले पटकथाकारले हिँड्न बाँकी यात्रा गर्नुपर्ने जोडसहित तेस्रो अध्याय लेखिएको छ । पटकथाकारले एउटा लामो यात्रा गरिसके बाँकी सिर्जनात्मक यात्रा निर्देशकले गर्नुपर्छ भन्ने मार्कको भनाइ हो ।
लेखकसँग सहकार्य शीर्षकको अध्यायमा मार्क भन्छन् – ‘निर्देशकको रूपमा हामीले कथामा जहिले पनि ब्ल्याक होल छन् कि छैनन् भनेर हेर्नुपर्छ र हाम्रो काम तिनलाई सम्बोधन गर्नु हो । ब्ल्याक होललाई समाधान गर्ने तीन वटा आधारभूत तरिका छन्– तिनलाई वेवास्ता गर्ने, लुकाउने वा ढाकछोप गर्ने वा तिनलाई औल्याउने ।’ (पृष्ठ ३१) यो चरणमा निर्देशक बढी उत्साहित र बढी जड नभै पटकथा पुनर्लेखन, पटकथाकारको सहमतिको बिन्दु पहिचान, दृश्य परिक्षण (एउटा), लेखकको सुझाव र प्रक्रियामा सचेतता हुनुपर्नेमा जोड गरिएको छ ।
अघिल्ला चरणमा पटकथालाई भिजाउने र लेखकसँग सिर्जनात्मक सहकार्य गरी निर्देशक, लेखक र पटकथाबिच कार्यगत सम्बन्ध स्थापित गर्नुपर्ने बताइएको छ । पटकथा विश्लेषणको अध्यायमा केही चरणहरू दिइएको छ । जस्तो कथाको वास्तविकता पत्ता लगाउने, निर्देशकको उदेश्य पहिचान गर्ने, एक्टलाई परिभाषित गर्ने, पात्र वा चरित्रको आर्क बनाउने, चरित्र विश्लेषण गर्ने आदि उपाय यस चरणमा हुनुपर्ने भनिएको छ ।
सिर्जनात्मक टोली निर्माणको चरणलाई निर्देशकले एउटा महत्वपूर्ण यात्राको रूपमा लिनुपर्ने हुन्छ । यदि उत्कृष्ट सिनेमा बनाउँदै हुनुहुन्छ भने यो अत्यावश्यक काम हो । छाँयाकार, प्रडक्सन डिजाइनर, कास्टिङ निर्देशक, कलाकार, सम्पादक, संगीतकार पहिचान हतार गर्नु हुँदैन भनेर मार्क सुल्झाउँछन् । यसमा पनि तीन चरणको कुरा गरेका छन् । उनी निर्देशकलाई भन्छन् । सिर्जनात्मक टोलीका सबैमा भिजन अभिव्यक्त भएको हेर्नुपर्छ, प्रत्येक सदस्यलाई उनका शिल्प अनुसार कथा भन्न दिनुपर्छ, उनीहरूको भिजन र निर्देशकको भिजन कतिको मेल खान्छ हेर्नुपर्छ ।
यो चरण पार गरेपछि बल्ल निर्देशकको यात्रा कास्टिङ प्रक्रिया पुग्दछ । मार्क यस चरणको सन्दर्भमा भन्छन्– ‘राम्रो पटकथा, स्पष्ट भिजन र राम्रो कास्ट भयो भने राम्रो चलचित्र बन्छ ।’ उनले यस चरणमा चलचित्र फरेस्ट गम्पको उदाहरण दिएका छन् । यस चलचित्रको पात्र फरेस्ट गम्प पातलो, सुस्त, बेढङ्गको छ । जेनी नामक पात्र चलाख छिन्, सुन्दर छिन् र कृपा र दया भएको केटीको चरित्र उनमा रहेको छ । कास्टिङ्ग प्रक्रियामा उनीहरूको जीवन्त भूमिका अभिनेता÷अभिनेत्रीमा खोज्नु निर्देशकको काम हो । कास्टिङ्ग निर्देशकको काम यहिँनेरी छ ।
कास्टहरूको निर्माणपछि रिहर्सल प्रक्रियाको चर्चा गरिएको छ । साप्ताहिक कार्यतालिका बनाएर रिहर्सल गर्नुपर्ने मार्कको सुझाब छ । जस्तो आइतबार अभिनेता र अभिनेत्रीसँग एक घण्टा छलफल गर्न र बुधबार ४ घण्टा समय तालिका बनाएर निश्चित दृश्य र सिक्वेन्समाथि तीन घण्टा र अलिखित दृश्यमाथि आँशु रचना गर्नुपर्ने एक घण्टाको समय तालिकाको उदाहरण प्रस्तुत गरिएको छ ।
प्रोडक्सन प्रक्रियाबारे अध्यायमा पनि महत्वपूर्ण छलफल गरिएको छ । मार्क ट्राभिसको तरिका नै मौलिक छ । उनी प्रत्येक कामलाई गहिराइ पुगेर गर्न सुल्झाउँछन् । क्यामरालाई एउटा चरित्रको रूपमा उभ्याउने उनको तरिका मौलिक छ फरक पनि । नेपाली सिनेमा क्षेत्रमा यो खालको बहस आवश्यक पनि भएको छ । फोटोग्राफीको महत्वबारे मार्कको सुझाव निर्देशकको लागि धेरै पथप्रदर्शक बन्न सक्छ ।
प्रोस्ट प्रोडक्सनको समयमा निर्देशकलाई पछि हट्न भनिएको छ अर्थात् विश्राम कुरा गरिएको छ । यो समयमा समुद्रको किनारमा घुम्न जाने, किताब पढ्ने वा ठण्डा दिमागमा रहन तयार हुनुपर्ने भनिएको छ । किनकी बाँकी काम गर्न सहज होस् ।
सम्पादकलाई आफ्नो कटलाई कटिङ्ग गर्न छोडी दिनुपर्ने भनिएको छ । प्रोस्ट प्रडक्सनको समयमा कलाकारको अभिनयलाई आकार दिने, न्यारेसन र भ्वाइस ओभर प्रक्रियालाई गति दिने, साउण्ट इफेक्टसको काम गर्ने, संगीत ट्रयाकलाई उद्देश्यअनुसार राख्ने आदि कुरामा केन्द्रित हुने कुरा गरिएको छ ।
दसौं चरणमा नौ वटा चरणको पुनर्विवेचना र संक्षेपीकृत अध्याय रहेको छ । मार्कले भने झै निर्देशकले होइन, चरित्रले उत्कृष्ट सिनेमाको गरिमा कायम गर्छ । फेरि चरित्र निर्माणमा निर्देशकको प्रबल भूमिका हुन्छ । यति लामा अध्यायहरूमा निर्देशनको यात्रा र निर्देशकको यात्राकै चर्चा गरिएको छ । यो अध्यायमा गहन समीक्षाको बोध गराइएको छ ।
एघारौं चरणमा निर्देशनका गुरु मार्क ट्राभिस एउटा अध्याय लेखेका छन् अब उप्रान्त अभिनय पनि नगरौं, निर्देशन पनि नगरौं । किनकी यो अवस्था चलचित्र निर्माण अन्तिम अन्तिम चरण हो । अन्तिम अध्यायमा मार्क टाभिसले यस पुस्तक लेखनको यात्रालाई वर्णन गरेका छन् ।
कुल बाह्र अध्याय रहेको यस पुस्तक पठनीय छ, मननीय छ, यो चलचित्रकर्मीको लागि अत्यावश्यक पनि छ । चलचित्र सम्बन्धका जिज्ञाशु हरेकले यो किताब पढुन भन्ने लाग्छ । निर्देशक मार्क रिडलले भने जस्तै यो चलचित्रकलाको विस्तृत र प्रेरणादायी विश्लेषण भएको पुस्तक हो । यो कुनैपनि असली चलचित्रकर्मीले अनिवार्य पढ्नुपर्ने पुस्तक हो ।
पुस्तकको भाषा सरल भए पनि कतै कतै हिज्जेमा अशुद्धता महसुस हुन्छ । अनुवादकले कतिपय शब्द अङ्ग्रेजीमै छोडिदिएका छन् । कतिपय वाक्यलाई छोटा र चुस्त बनाउने ठाउँ पनि थियो । आगामी दिनमा यी पक्षमा अनुवादकको ध्यान जाओस् । अर्को संस्करणमा पुस्तकमा रहेका कमजोरीहरू सच्चिएर आउन् । निर्देशक मोहन राई अनुवादन क्षेत्रमा पनि जम्ने कुरामा यो पुस्तक उदाहरण बनेको छ आगामी यात्राको शुभकामना !
-प्रह्लाद दवाडी
मने रिमरिमे उज्यालोमा घरबाट गाउँको फेदमा भएको धने साहूको कुतिया खेत हेर्न गयो । टिस्टा नदीको भेल बाढीले मनेको पाक्न लागेको धान खेती सबै बगाएर लगेछ । हल गोरू कटेरोसँगै बगाए छ । फलिरहेको सिम्बि बारी बगरै बगर बनाएछ । बुढी सुत्केरी हुने वाला छे । धने साहूलाई सात मुरी धान कसरी तिर्नु, घरमा भात कसरी खानु, सबै टिस्टाले नष्ट पारेछ । दसैँ आउन लागेको छ, केटाकेटीलाई नयाँ लुगा, पाउना पात, दसैँ खर्च सम्झेर मनेलाई भाऊन्न भयो र थचक्क चिसो भुइँमा बस्यो ।
“घरमा गाई ब्याउन आँटेको छ, घाँस खोले एक थोप्पो छैन, किन यहाँ बसेको ? हिँड घर ।” श्रीमतीले टाउको सुम्सुम्याउँदै मनेलाई बोलाई ।
“हेर न बुढी, मेरो त सबै हात गोडा गलेर आयो । अब के गरेर खानु ? सर्वनाश भएछ । पाखुरा चलाएर खाने ठाउँ पनि रहेन ! दसैँ आयो, कसरी मनाउनु ?”
“बजारको त घर मान्छे कति बगाएर लगेछ, कति पुरेछ, हरिबिजोग । हाम्रो त ज्यान बाँच्यो, हामी त भाग्यमानी हौं । आफ्नोभन्दा अरूको दुःख हेर्नुपर्छ, हामी त अरूलाई उकास्न पो जानुपर्छ, यसपाली दसैँ नमानौं, हिँड जाऔं ।”
मने आफ्नै भुटेको मकै र मागेको मोही बोकेर राहत कार्यमा सहयोग गर्न बजारतिर लाग्यो । बजारमा बाल बच्चा, बिरामी, बुढा बुढी, देख्दा आफ्नै घरको याद आयो । भग्नावशेषहरूबाट लासहरू निक्लिरहेका थिए । मनेले तीन दिनसम्म पानी झरीमा, टन्टलापुर घाममा पनि आफ्नै सातु खाएर, फरुवा बेल्चा चलाएर, घर खोदलेर निकाल्यो, घर दोकानभित्र पुरिएर थुनिएका कतिलाई जीवितै उद्धार गर्यो । कैयौं घरको हिलो मैलो सफा गर्यो ।
आज बडा दसैँ सप्तमीको दिन, मनेको घरमा एउटा गाई ब्यायो, बिहानको राति । बहर पाएछ । मनेले दुर्गा मातालाई धन्यवाद दिँदै एक हल गारूको सपना देख्यो । स्वास्नी बिसन्चो छे । बिहान गाईको धन्दाले गर्दा मनेले खाना खान पाएन । मने बकसबाट पैसा निकालेर फेरि बजारको रूप फेर्न हिँड्यो ।
बजारको हिलोको गन्धमा पीडित बालबच्चाहरू रोइरहेको देखेर मनेले पटुकामा चेपेको पैसा निकालेर माथ्लो बजारमा बुद्धि साहुको पसलतिर लाग्यो ।
“साहुजी, मलाई एक लिटर बोतलको पानी र दुई प्याकेट बिस्कुट दिनुहोस् न ।”
“पानीको नब्बे रुप्पे र बिस्कुटको एक सय बीस गरेर दुई सय दस रुप्पे हुन्छ ।”
“पानीको बीस रुप्पे र बिस्कुटको बीस रुप्पे गरेर जम्मा साठी रुप्पे होइन र ?”
“मेरोमा सामान कम्ती छ, अहिले बाढीले गर्दा बाटो छैन र समान आएको छैन । दाम त बढेको छ ।”
मनेले ती रोहिरहेका बचेराहरू सम्झ्यो र महँगो भए पनि किनेर बाँडी दिने विचार गर्यो ।
“होइन साहुजी, म त यहाँ सेवा गर्न आएको की । त्यहाँ बच्चाहरू रोहिरहेका छन् । पानी पिउन दिनुपर्यो भनेर । अलिक मिलाएर दिनु होस् न ।”
“दाम त त्यति नैं पर्छ ।”
“ल दिनुहोस् । अनि तपाईं त दोकान चलाई रहनु भएको छ गद्दीमा बसेर । तपाईंको घर चै केही भएन ?”
“भयो नी । तल्लो बजारमा भएको दुइटै घरमा भेल पसेको छ । थुप्रो गाउँलेहरू आएर सफा गरिरहेको छ । मेरो त्यहाँ केही काम छैन, उनीहरू आफ्नै खानेकुराहरू लिएर आउँछ, पकाउँछ बाँड्छ, काम गर्छ जान्छ । म त त्यहाँ खाना खान मात्र जान्छु अनि यता आफ्नु काम छोड्नु भएन नि ।”
मने पानी र बिस्कुट किनेर दोकानबाट हिँड्यो ।
भोलि पल्ट दिउँसो साहुजी खाना खान आयो । दृश्य देखेर उ अत्तालियो ।
“अरे आज त कोही छैन त ? यो कसले सफा गरेर सक्छ ? यो गाउँलेहरू कहाँ मर्यो ? आज गाउँले आएन ? अझै आएको छैन रहेछ । किन आएन आज गाउँले ?”
–रत्नप्रसाद अनामणी
तिम्रो सन्ततिको भविष्यको
सपनाहरू च्यापेर
बिक्रीका नागरिकताहरू
लुटिएका जनताका सपनाहरू
हिजो अस्ति र आजका भागबण्डाहरू
तिर्नैपर्छ तिमिले
सिर्जनाका फाँटहरूमा
आँधीको निर्णय आउनु अगाडि
तिमीले भोग्नैपर्छ
या जेलभित्र कोच्नैपर्छ ।।
तिम्रो कोटमा छर्केका
सेन्ट र पफ्र्युमहरूका बास्नाहरू
अबका दिनमा गन्ध आउनेछ
तिमीले आफ्नैका लागि
बाँडेका पद र उच्च ओहदाहरू
सुरक्षाका तारबारहरू
अब काम लाग्नेछैनन्
आँधीको निर्णय आउनु अगाडि
तिमीले भोग्नैपर्छ
वा जेलभित्र कोच्नैपर्छ ।।
काण्डै काण्डको आडमा
सासुदेखि ससुरासम्म
छोरीदेखि ज्वाइँसम्म
छोरादेखि सालासम्म
तिमीले दिएका अबैध
मान प्रतिष्ठा र धनसम्पत्ती
अब हिसाब खोजिनेछ
त्यसैले तिमीले भोग्नैपर्छ
या जेलमा कोच्नुपर्छ
आँधीको निर्णय आउनु अगाडि ।
आँधीको निर्णय आउनु अगाडि ।।
–राजेश भट्टराई
चाहान्छ्यौ नै मलाई भनेँ, आउँला नि के भो र
तिमीसँग मिठो माया, लगाउँला नि के भो र
म त परेँ अरुको दिल, तोड्नै नसक्ने मान्छे
प्रेमा स्वादमा दुवै जना, रमाउँला नि के भो र ।।
तिमीले झैँ माया चाहाने, मेरो मन छ नि
अझै मैँले चाहेँ जस्तै नै, तिम्रो तन छ नि
त्यही भएर त नजिक हुन्छु, तिमी जस्तै
मेरो मुटुमा सधैँभरी, तिम्रै धड्कन छ नि ।।
छ नि मेरो चाहाना धेरै, तिम्रो माया पाउने
तिम्रै मायाको छहारीमा, सधैँभरी रमाउने
त्यही भएर त हुन्छु नि नजिक, तिम्रो सधैँ
दुवैले एक अर्कालाई, जिन्दगीभर अपनाउने ।।
राम्रो भन्छ्यौं मलाई, म राम्रो कि तिम्रो माया
म त ठान्छु आफूूलाई, तिम्रै सुन्दरताको छाँया
तर जे भएपनि खुशी छु, मन पराउनी रैछ्यौ
आउँछु अब बस्न समिप, घरी दाँया घरी बाँया ।।
गण्डकीः नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय संस्कृति अध्ययन केन्द्रद्वारा आयोजित दुई दिने गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीमा पश्चिमी सस्कृति र सभ्यताको प्रभावले नेपाली प्राचीन मौलिक संस्कृति सङ्कटमा पर्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।
जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको संयोजन, पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्य तथा गण्डकी प्रदेशका विभिन्न संस्थासँगको समन्वयमा गरिएको सो संगोष्ठीमा वक्ताले पश्चिमी संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटमा परिरहेको उनीहरुको भनाइ थियो ।
यही मङसिर ४ र ५ गते सम्पन्न सम्पन्न सो संगोष्ठीमा नेपाली वाङ्मयसम्वद्ध विभिन्न सातवटा गोष्ठीपत्र प्रस्तुत गरिएको थियोे । कार्यक्रममा प्रा.डा. माधवप्रसाद पोखरेलले ‘गण्डकी प्रदेशमा बोलिने भाषाको अवस्था’, प्रा.डा. कुसुमाकर न्यौपानेले ‘गण्डकी प्रदेशको सङ्गीत’, प्रा.डा. ज्ञानबहादुर कार्कीले ‘स्याङ्जाका चारकोटको चिनारी र ऐतिहासिकता’, प्रा.डा. जगन्नाथ रेग्मीले ‘पर्वत, मोदी र बेनीको महत्व’, डा. शान्ता खत्रीले ‘कुमाल जातिको परम्परागत संस्कृति र पेसामा भएको परिवर्तन’, लक्ष्मण श्रेष्ठले ‘पोखरेली गाईजात्रा परम्परा र लोक प्रचलन’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गरेका थिए । अतिथि प्रस्तोताका रूपमा डा. गोविन्द आचार्यले ‘देउखहर्या थारू समुदायको वालवाली गुरही टिउहार’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमका वक्ताले यस्ता कार्यक्रमले नेपालमा प्रचलित संस्कार, संस्कृति, भाषा, कला, इतिहास तथा पुरातत्वको संरक्षण एवम् प्रवद्धन गरी राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने धारणा राखे । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विविधतायुक्त समाजका विविधतालाई कायम गर्दै मौलिक संस्कृतिको जगेर्ना आजको आवश्यकता भएको धारणा राखे । व्यवहारिक शिक्षा आजको आवश्यकता भए पनि हाम्रो संस्कार र संस्कृति बच्यो भने मात्र हाम्रो स्वाभिमान बच्ने उनले बताए ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नेपाली संस्कृतिको अभिन्न अङ्ग साहित्य भएकाले हाम्रो प्राचीन साहित्य कसरी पुर्नलेखन भएको छ त्यसमा ध्यान जान आवश्यक भएको उल्लेख गरे ।नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका अध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाले विश्व बन्धुत्व हराएको बेला हाम्रा संस्कार संस्कृति पुस्तान्तरण नभएकोमा चिन्ता व्यक्त गर्दै समाजमा सांस्कृतिक सन्तुलन र पुस्तान्तरणका लागि व्यवहारिक शिक्षा आवश्यक भएको बताए ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. जर्मन चौधरी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष असफल गौतम लगायतले कला संस्कृतिको जगेर्ना राज्यको दायित्व भएको बताए ।
कार्यक्रमका संयोजक जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले गोष्ठीपत्रलाई प्राप्त भएका सुझावलाई समेटेर तिनको सम्पादनसहित प्रकाशन गरिने जानकारी दिए । संगोष्ठीको उद्घाटन सत्रमा नेपाल पुन मगर समाज अर्चलबोटका कलाकारको जातीय पहिचान झल्काउने पुर्ख्यौली नृत्य प्रदर्शन गरिएको थियो भने समापन सत्रमा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङले मेरो टोपी शीर्षकको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
काठमाडौं : कवि प्रेमप्रसाद भट्टराईको ‘अरब’ गीतिकाव्य लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघले सोमबार सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कवि भट्टराईको ‘अरब’ गीतिकाव्य लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले उक्त गीतिकाव्य लोकार्पण गरेका हुन् । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कवि भट्टराईलाई सम्मान पनि गरिएको थियो । कवि भट्टराई साहित्यिक पत्रकार संघका आजीवन सदस्य एवम् अनेसास कतारका पूर्वअध्यक्ष पनि हुन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. केसी, अध्यक्ष लेकाली, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव धनप्रसाद सुवेदी, वरिष्ठ कवि प्रल्हाद पोखरेल, नायक नवल खड्का, साझा प्रकाशनका लवप्रसाद भण्डारीलगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । सोही कार्यक्रममा वरिष्ठ कवि पोखरेल र समालोचक डा. शान्ति गिरीले लोकार्पित कृति ‘अरब’ गीतिकाव्यबारे समीक्षात्मक मन्तव्य राखेका थिए ।
कार्यक्रममा अनेसास केन्द्रीय समितिकी उपाध्यक्ष डा. रेणु थापा सोलु र चर्चित संगीतकार नरहरी प्रेमीले लोकार्पित कृतिबाट गीत गाएका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. केसी, अतिथिहरु पोखरेल, डा. गिरी, नायक खड्का, भण्डारी, पत्रकार होम कार्की र श्रीबाबु कार्कीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा कलाकार कृपा भट्टराईले नृत्य प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गरेका थिए ।
कार्यक्रममा प्राज्ञ सत्यकला राई, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, शारदा पत्रिकाका सम्पादक विमल भौकाजी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, पूर्व अध्यक्ष पवन आलोक, प्रा.डा. गोविन्दमान सिंह कार्की, साहित्यकारहरु गीता कार्की, अश्विनी कोइराला, निशा केसी, सुशीला देउजा, डीजी शर्मा (यूएई), कला भट्टराई, जीवन श्रेष्ठ, रुप रसाइली (नवोदित वाचनालयका निवर्तमान अध्यक्ष), भानुप्रकाश जोशी, राज रजक, मुरारि सिग्देल, द्वारिका ढुंगेल, उषा केसी, डा. यादेवी ढकाल, मणिराज सिंह, हरि गिरी, राजेन्द्र ढुंगाना, नवोदित साहित्यिक वाचनालय कतारका पूर्वअध्यक्ष इन्द्रमणि नेपाल, पत्रकार दिपक पुडासैनी, महेश्वर नेपाल, मनिला वन्त, कुमार केसी, महेश्वर नेपाल, अशिव बनेपाली, ममता कार्की, सविता ढकाल, सानुराजा अन्जान, राजेश ढुंगाना, दिपक पुडासैनी, राज यात्री लम्साल, सुमा श्रेष्ठ, रिना पाण्डे पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।
काठमाडौंः तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सवमा ३९ देशका कलाकार सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल (आइडब्लुएस) नेपालका अनुसार नेपालमा यही मङ्सिरमा हुन लागेको पाँच दिने सो महोत्सवमा आजसम्म ३९ देशका तीन सय बढी कलाकृति समावेश हुने छन् । महोत्सव यही मङ्सिर १६ गतेदेखि २० गतेसम्म हुने छ ।
कार्यक्रम उपत्यका र आसपास जिल्लामा केन्द्रित हुनेछ । समाजका अध्यक्ष एनवी गुरुङले अहिले कलाकारबाट कलाकृति आउनेक्रम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै यति धेरै देशबाट कलाकृति सहभागी भएर कला प्रदर्शनका साथै प्रदर्शन गर्न लागिएको कला क्षेत्रको यो ठूलो कार्यक्रम भएको दाबी गरे ।
उनले झण्डै १३ देखि १४ लाखखर्च हुने अनुमान गरिएको जलरङ महोत्सव अन्तरगत काठमाडौं, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने जानकारी दिए। उद्घाटनको दिन मङ्सिर १६ गते नेपाल कला परिषद्मा विश्वबाट सहभागी भएका कला सिर्जनाको प्रदर्शनीका साथै मास्टर कलाकारबाट ‘लाइभ डेमोस्ट्रेसन’समेत हुने छ । त्यहाँ नेपाली कलाकारले विश्वको कला सिर्जनासम्बन्धी प्रविधि चिन्न र जान्न सकिने उनले बताए ।
महोत्सवअन्तर्गत नगरकोटमा सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गराएर कला सिर्जना गर्ने योजनासमेत रहेको छ । कलाकारलाई सम्मान तथा पुरस्कारसमेत हुने छ । काठमाडौं दरबार स्क्वायर, ललितपुरको दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयम्भूलाई फोकस गरेरै कला सिर्जना हुने अन्तर्राष्ट्रिय जलरङ समाज नेपालकाका संस्थापक सदस्य डिबी राईले बताए ।
उनले धेरै कलाकारले काठमाडौंको सम्पदा क्षेत्रका चित्रहरु जलरङबाट सिर्जना गर्ने भएकाले पर्यटन प्रवर्द्धनमा पनि ठूलो सहयोग पुग्ने बताए । यसपाली भारत, बङ्गलादेश, अष्ट्रिया, भियतनाम, म्यान्मार, थाइल्याण्डलगायत देशबाट कलाकार प्रत्यक्ष सहभागी हुने जानकारी आइसकेको र अन्य देशका कलाकार पनि सहभागी हुँदैछन् ।
यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौंलगायत विभन्न क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकिएको छ । अध्यक्ष गुरुङले भने, ‘जसका कारण जलरङमप्रति आकर्षण बढेको छ, अरु मिडियममा काम गर्ने कलाकार पनि वाटरकलरमा काम गरिरहेको देखिएको छ । हामीले गरेको नै त्यही हो । ‘वाटर कलरिष्ट’को सहभागिता बढाउने भन्ने हो । राम्रो काम देखिनुपर्छ भन्ने हो । हामीले सोचेको काम भइरहेको छ । सन्तोषजनक छ ।’ उक्त कार्यक्रममा सहभागी हुन उनले कला पारखीलाई अनुरोध गर्न गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies