–रसुवाली कवि
पछिल्लो समय सिनेमालाई बौद्धिक कर्मको रूपमा बुझ्ने प्रचलनको विकास भएको छ । चेतना निर्माण ढिलो गरी भइरहेको नेपाली समाजमा सिनेमा खुद मनोरञ्जनको साधन मात्र हुँदै गर्दा दोस्रो जनआन्दोलनपश्चात नेपाली सिनेमाले गुणात्मक फड्को मारेको छ । सिनेमासम्बन्धी अध्ययन हुने क्याम्पससमेत खुलेका छन् । नेपाली समाजमा देखिएको लोकतान्त्रिक वातावरणले समेत नाटक र सिनेमाको विकास र विस्तार भएको सत्य हामीसामु छ । नाटकमार्फत वा नाटक हुँदै नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका कलाकारहरू मूलधारमा स्थापित भइसकेका छन् । रोनाधोना र एकैप्रकारका द्वन्द्वबाट निर्देशित नेपाली सिनेमाले मुद्दा, विचार र कलासमेत बोक्ने स्थिति बनेको छ ।
मोहन राई दोस्रो जनआन्दोलनपछि नेपाली सिनेमा क्षेत्रमा नुतन प्रयत्न गरिरहेका एक सिनेमाकर्मी हुन । यसै वर्ष प्रदर्शनमा आएको उनको चलचित्र ‘महानगर’ सिनेमामा रुचि राख्नेहरूका निम्ति एक उत्कृष्ट सिनेमाका रूपमा प्रचारित भयो । भलै हलहरुमा यस चलचित्रले पर्याप्त शो पाएन । उनै मोहन राईले सिनेमासम्बन्धी महत्वपूर्ण पुस्तक अनुवाद गरेका छन् ‘निर्देशकको यात्रा–निर्देशक लेखक र कलाकारबिचमा सहकार्य ।’ यस पुस्तकका मूल लेखक हुन प्रसिद्ध निर्देशक तथा लेखक मार्क ट्राभिस । मार्कको यो पुस्तक विभिन्न कोणबाट महत्वपूर्ण रहेको छ ।
यस पुस्तकको बारे निर्देशक मार्क राईडरको मननीय भनाइ रहेको छ । अनुवादले त्यस भनाइलाई कभर पेजमा राखेका छन् । मार्क लेख्छन्– ‘यस पुस्तकले चलचित्र निर्माणको सम्पूर्ण सिर्जनात्मक प्रक्रियामा लाग्दछ – अवधारणाबाट समाप्तिसम्म । यस पुस्तकबाट तपाईंले पट कथालाई कसरी अध्ययन गर्ने, त्यसको केन्द्रबिन्दुलाई कसरी पत्ता लगाउने, आफ्नो भिजन कसरी निर्धारण गर्ने र त्यो भिजनलाई पर्दामा उतार्नका लागि लेखक, कलाकार, डिजाइन, छायाँकार, सम्पादक, संगीतकार र सिर्जनात्मक टोलीका सबै सदस्यसँग कसरी संवाद र सहकार्य गर्ने सिक्नु हुनेछ ।’
अनुवादक मोहन राइले सकेसम्म यस पुस्तकलाई सहज बनाउन सरल भाषा प्रयोग गरेका छन् । कतिपय भाषा चाहिँ अङ्ग्रेजी नै छोडिदिएका छन् । किनकी ती शब्दलाई अङ्ग्रेजीमै भनेपनि पाठकले बुझ्छन् भन्ने अनुवादकको अभिप्राय रहेको हुनसक्छ । पुस्तकमा कुल बाह्र अध्याय रहेका छन् । निर्देशकले पटकथा अध्यायबाट पुस्तकको अध्यायहरू सुरुवात गरेका छन् । उनले पहिलो अध्याय भनेका छन्– निर्देशक पटकथासँग भिज्नुपर्छ । उनले कथावाचनलाई आदर्श पक्ष मानेका छन् भने श्रोता र दर्शकको भूमिकाप्रति सचेतताको अपिल गरेका छन् । दर्शकको सम्बन्धमा उनी भन्छन् – ‘उ मनोरञ्जन लिन चाहन्छ, चकित हुन चाहन्छ, मोहित हुन चाहन्छ र आफू संलग्न भएको हेर्न चाहन्छ ।’ (पृष्ठ ९) यसबाट के बुझ्नुपर्छ भने दर्शकको जुन अपेक्षा छ, त्यो पूरा गर्न निर्देशकले प्रयास गर्नुपर्छ । कथावाचनलाई गति दिन दर्शकको कोण शक्तिशाली हो ।
तीनको अंकको संरचनाबारे मार्कले दोस्रो अध्यायमा चर्चा गरेका छन् । डाक्टर किम्बलको उदाहरण यहाँ प्रस्तुत गरिएको छ । डाक्टर किम्बललाई श्रीमती हत्याको अभियोग लागेको छ । उनी आफूलाई निर्दोष सावित गर्न चाहन्छन् । लफ्टन जेरार्डको उद्देश्य भनेको किम्बलको अपराधी करार गर्न सबुतहरू खोज्नु हो । यी दुई पात्रहरू सघन भूमिकामा एक्टलाई जोड्न खोजिएको छ, सिनेमाका कथालाई तीनवटा एक्टमा ढाल्नुपर्ने मार्कको सुझाव छ । जस्तो डा. किम्बलको कथामा पहिलो एक्टमा पात्र अनिश्चितताको दुनियाँमा छ, दोस्रो एक्टमा मुख्य पात्र चुनौतीसँग जुध्दै गएको छ र तेस्रो एक्टमा मुख्य पात्र पहिलेको स्थितिमा फर्कन नसक्ने बिन्दुमा छ । चलचित्रको तीन चरण विभाजन भएको छ ।
द्वन्द्व सिर्जनामा आख्यानमा झैँ मार्कले पनि द्वन्द्व सिर्जनालाई बुझाउन खोजेको देखिन्छ । डाक्टर किम्बलका जस्तै अनेकौं कथाहरूलाई तीन वटा चरणबाट हेर्न सकिन्छ, यो अध्यायमा यो विषयको लामो बयान छ ।
लेखक मार्क टाभिसले पटकथा लेखकसँग निर्देशकको सहकार्य भूमिकालाई जोड दिएका छन् । निर्देशकले पटकथाकारले हिँड्न बाँकी यात्रा गर्नुपर्ने जोडसहित तेस्रो अध्याय लेखिएको छ । पटकथाकारले एउटा लामो यात्रा गरिसके बाँकी सिर्जनात्मक यात्रा निर्देशकले गर्नुपर्छ भन्ने मार्कको भनाइ हो ।
लेखकसँग सहकार्य शीर्षकको अध्यायमा मार्क भन्छन् – ‘निर्देशकको रूपमा हामीले कथामा जहिले पनि ब्ल्याक होल छन् कि छैनन् भनेर हेर्नुपर्छ र हाम्रो काम तिनलाई सम्बोधन गर्नु हो । ब्ल्याक होललाई समाधान गर्ने तीन वटा आधारभूत तरिका छन्– तिनलाई वेवास्ता गर्ने, लुकाउने वा ढाकछोप गर्ने वा तिनलाई औल्याउने ।’ (पृष्ठ ३१) यो चरणमा निर्देशक बढी उत्साहित र बढी जड नभै पटकथा पुनर्लेखन, पटकथाकारको सहमतिको बिन्दु पहिचान, दृश्य परिक्षण (एउटा), लेखकको सुझाव र प्रक्रियामा सचेतता हुनुपर्नेमा जोड गरिएको छ ।
अघिल्ला चरणमा पटकथालाई भिजाउने र लेखकसँग सिर्जनात्मक सहकार्य गरी निर्देशक, लेखक र पटकथाबिच कार्यगत सम्बन्ध स्थापित गर्नुपर्ने बताइएको छ । पटकथा विश्लेषणको अध्यायमा केही चरणहरू दिइएको छ । जस्तो कथाको वास्तविकता पत्ता लगाउने, निर्देशकको उदेश्य पहिचान गर्ने, एक्टलाई परिभाषित गर्ने, पात्र वा चरित्रको आर्क बनाउने, चरित्र विश्लेषण गर्ने आदि उपाय यस चरणमा हुनुपर्ने भनिएको छ ।
सिर्जनात्मक टोली निर्माणको चरणलाई निर्देशकले एउटा महत्वपूर्ण यात्राको रूपमा लिनुपर्ने हुन्छ । यदि उत्कृष्ट सिनेमा बनाउँदै हुनुहुन्छ भने यो अत्यावश्यक काम हो । छाँयाकार, प्रडक्सन डिजाइनर, कास्टिङ निर्देशक, कलाकार, सम्पादक, संगीतकार पहिचान हतार गर्नु हुँदैन भनेर मार्क सुल्झाउँछन् । यसमा पनि तीन चरणको कुरा गरेका छन् । उनी निर्देशकलाई भन्छन् । सिर्जनात्मक टोलीका सबैमा भिजन अभिव्यक्त भएको हेर्नुपर्छ, प्रत्येक सदस्यलाई उनका शिल्प अनुसार कथा भन्न दिनुपर्छ, उनीहरूको भिजन र निर्देशकको भिजन कतिको मेल खान्छ हेर्नुपर्छ ।
यो चरण पार गरेपछि बल्ल निर्देशकको यात्रा कास्टिङ प्रक्रिया पुग्दछ । मार्क यस चरणको सन्दर्भमा भन्छन्– ‘राम्रो पटकथा, स्पष्ट भिजन र राम्रो कास्ट भयो भने राम्रो चलचित्र बन्छ ।’ उनले यस चरणमा चलचित्र फरेस्ट गम्पको उदाहरण दिएका छन् । यस चलचित्रको पात्र फरेस्ट गम्प पातलो, सुस्त, बेढङ्गको छ । जेनी नामक पात्र चलाख छिन्, सुन्दर छिन् र कृपा र दया भएको केटीको चरित्र उनमा रहेको छ । कास्टिङ्ग प्रक्रियामा उनीहरूको जीवन्त भूमिका अभिनेता÷अभिनेत्रीमा खोज्नु निर्देशकको काम हो । कास्टिङ्ग निर्देशकको काम यहिँनेरी छ ।
कास्टहरूको निर्माणपछि रिहर्सल प्रक्रियाको चर्चा गरिएको छ । साप्ताहिक कार्यतालिका बनाएर रिहर्सल गर्नुपर्ने मार्कको सुझाब छ । जस्तो आइतबार अभिनेता र अभिनेत्रीसँग एक घण्टा छलफल गर्न र बुधबार ४ घण्टा समय तालिका बनाएर निश्चित दृश्य र सिक्वेन्समाथि तीन घण्टा र अलिखित दृश्यमाथि आँशु रचना गर्नुपर्ने एक घण्टाको समय तालिकाको उदाहरण प्रस्तुत गरिएको छ ।
प्रोडक्सन प्रक्रियाबारे अध्यायमा पनि महत्वपूर्ण छलफल गरिएको छ । मार्क ट्राभिसको तरिका नै मौलिक छ । उनी प्रत्येक कामलाई गहिराइ पुगेर गर्न सुल्झाउँछन् । क्यामरालाई एउटा चरित्रको रूपमा उभ्याउने उनको तरिका मौलिक छ फरक पनि । नेपाली सिनेमा क्षेत्रमा यो खालको बहस आवश्यक पनि भएको छ । फोटोग्राफीको महत्वबारे मार्कको सुझाव निर्देशकको लागि धेरै पथप्रदर्शक बन्न सक्छ ।
प्रोस्ट प्रोडक्सनको समयमा निर्देशकलाई पछि हट्न भनिएको छ अर्थात् विश्राम कुरा गरिएको छ । यो समयमा समुद्रको किनारमा घुम्न जाने, किताब पढ्ने वा ठण्डा दिमागमा रहन तयार हुनुपर्ने भनिएको छ । किनकी बाँकी काम गर्न सहज होस् ।
सम्पादकलाई आफ्नो कटलाई कटिङ्ग गर्न छोडी दिनुपर्ने भनिएको छ । प्रोस्ट प्रडक्सनको समयमा कलाकारको अभिनयलाई आकार दिने, न्यारेसन र भ्वाइस ओभर प्रक्रियालाई गति दिने, साउण्ट इफेक्टसको काम गर्ने, संगीत ट्रयाकलाई उद्देश्यअनुसार राख्ने आदि कुरामा केन्द्रित हुने कुरा गरिएको छ ।
दसौं चरणमा नौ वटा चरणको पुनर्विवेचना र संक्षेपीकृत अध्याय रहेको छ । मार्कले भने झै निर्देशकले होइन, चरित्रले उत्कृष्ट सिनेमाको गरिमा कायम गर्छ । फेरि चरित्र निर्माणमा निर्देशकको प्रबल भूमिका हुन्छ । यति लामा अध्यायहरूमा निर्देशनको यात्रा र निर्देशकको यात्राकै चर्चा गरिएको छ । यो अध्यायमा गहन समीक्षाको बोध गराइएको छ ।
एघारौं चरणमा निर्देशनका गुरु मार्क ट्राभिस एउटा अध्याय लेखेका छन् अब उप्रान्त अभिनय पनि नगरौं, निर्देशन पनि नगरौं । किनकी यो अवस्था चलचित्र निर्माण अन्तिम अन्तिम चरण हो । अन्तिम अध्यायमा मार्क टाभिसले यस पुस्तक लेखनको यात्रालाई वर्णन गरेका छन् ।
कुल बाह्र अध्याय रहेको यस पुस्तक पठनीय छ, मननीय छ, यो चलचित्रकर्मीको लागि अत्यावश्यक पनि छ । चलचित्र सम्बन्धका जिज्ञाशु हरेकले यो किताब पढुन भन्ने लाग्छ । निर्देशक मार्क रिडलले भने जस्तै यो चलचित्रकलाको विस्तृत र प्रेरणादायी विश्लेषण भएको पुस्तक हो । यो कुनैपनि असली चलचित्रकर्मीले अनिवार्य पढ्नुपर्ने पुस्तक हो ।
पुस्तकको भाषा सरल भए पनि कतै कतै हिज्जेमा अशुद्धता महसुस हुन्छ । अनुवादकले कतिपय शब्द अङ्ग्रेजीमै छोडिदिएका छन् । कतिपय वाक्यलाई छोटा र चुस्त बनाउने ठाउँ पनि थियो । आगामी दिनमा यी पक्षमा अनुवादकको ध्यान जाओस् । अर्को संस्करणमा पुस्तकमा रहेका कमजोरीहरू सच्चिएर आउन् । निर्देशक मोहन राई अनुवादन क्षेत्रमा पनि जम्ने कुरामा यो पुस्तक उदाहरण बनेको छ आगामी यात्राको शुभकामना !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies