गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको उनले बताए ।
“बिहान ९ बजे आसपासमा वीरेन्द्र तालभन्दा माथि ठूलो हिमपहिरो गएको छ”, उनले भने, “हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बूढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खा बेलामा जस्तै बूढीगण्डकीमा पानीको ठूलो वहाबको जोखिम बढाएको छ ।”
उनले नदीमा पानीको वहाब बढेकाले बूढीगण्डकी नदीको आसपासमा खतरा हुनसक्ने अवस्था रहेको बताए । “सानो खालको हिमपहिरो त अरु समयमा पनि जान्थ्यो”, लामाले भने, ‘‘तर अहिले निकै ठूलो हिमपहिरो गएको छ ।”
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए । नदीमा आएको पानीको बहावले सामा गाउँमा एउटा काठे पुलमा क्षति पुर्याएको जानकारी आएको एसपी पाठकले बताए । “प्रहरीको टोली घटनास्थल पुगिसकेको छ, अहिले तत्काल थप क्षति हुने अवस्था देखिएको छैन”, उनले भने ।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताए । वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : आगलागीबाट गत वर्ष १०६ को मृत्यु भएको पाइएको छ । गृहमन्त्रालयको तथ्याङ्कअनुसार २०८० सालको बाह्र महिनामा आगलागीका ४ हजार ६१ वटा घटना भएका थिए । जसमा १०६ को मृत्यु भएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८० सालमा भूकम्प लगायतका अन्य विपदभन्दा बढी आर्थिक क्षति आगलागीका घटनाले गरेको थियो । गत वर्ष आगलागीका कारण दुई अर्ब ५२ करोड ६८ लाख ६३ हजार ५४२ रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्क छ ।
२०८१ साल वैशाखमा पनि आगलागीका घटनाहरु भइरहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख महिनामा आगलागीका घटनाहरु धेरै हुने सम्भावना रहन्छ । यस अनुसार क्षति कम गर्नका लागि आवश्यक पूर्व तयारी गरिएको छ ।
अर्घाखाँची र गुल्मीको आगो नियन्त्रणमा आएन
अर्घाखाँची र गुल्मीका विभिन्न क्षेत्रमा दुई दिनदेखि आगो फैलिरहेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी भएको छ ।
स्थानीय हरि प्रसाद भुसालका अनुसार आगलागीमा मानविय क्षति नभएपनि पशुचौपाया परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आगो चारैतिर फैलिएको छ । क्षतिको यकिन तथ्यांक आउन सकेको छैन । आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।
प्रहरीका अनुसार आगो नियन्त्रण गर्नका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, डिभिजन बन कार्यालयको टोली, राजनीतिक दलका नेता/कार्यकर्ताहरु परिचालित भएका छन् ।
यसैगरी, गुल्मीका विभिन्न स्थानमा दुई दिनदेखि आगलागी हुँदा सरकारी सम्पत्तिसहित करोडौंको क्षति भएको स्थानीयले बताएका छन् ।
शुक्रबार दिउँसो गुल्मीदरबार गाउँपालिका– ३ र ४ को बीचमा पर्ने जंगलमा आगलागी हुँदा नेपाल विद्युत प्राधिकरणको वीरबास सवस्टेशनको स्टोर जलेर दुई करोडभन्दा बढीको इलेक्ट्रोनिक्स सामग्री नष्ट भएको विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए ।
शनिबार हावाहुरीसँगै गुल्मी जिल्लाका विभिन्न पालिकाका विभिन्न स्थानमा आगलागीका घटना हुँदा दर्जनौं घर जलेर नष्ट भए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका– २ को रानीवन सामुदायिक वनमा लागेको आगो सिदुङ्खा र हाँडिखोला समेतको गरी १५ वटा घरगोठ जलेका छन् ।
पर्सामा गहुँबाली जलेर नष्ट
पर्सामा आगलागी हुँदा गहुँबाली जलेर नष्ट भएको छ । सिमावर्ती छिपहरमाई गाउँपालिकाको वडा नं.१ भलुवहियामा आगलागी हँुदा किसान मुनिलाल राउत अहउरका २५ कट्ठा, ताराचन साह तेलीको १५ कट्ठा, अर्जुन यादवको १२ कट्ठा, साहेव राउत अहिर, जुगुल यादव, विश्वनाथ यादव लगायत किसानका खेतमा लगाइएको करिब दश विगहा भन्दा बढी क्षेत्रको गहुँबाली जलेर नष्ट भएको हो ।
चार घर पनि जलेर नष्ट भएको छ । आगलागीबाट विरेन्द्र यादव, विसनुदेव हजरा, मुकेश यादवको घर जलेर नष्ट भएको हो । आगलागीबाट करिब दश बिगहा भन्दा बढी खेतमा लगाइएको गहुँबाली समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरीक्षक मुकेश यादवको टोली पुगेर क्षतिको विवरण संकलन गरेको थियो । प्रहरी निरीक्षक यादवका अनुसार आगलागीमा कुखुरा फर्म, कुखुराको चल्ला २ हजार र दाना समेत जलेको छ । यस्तै, स्थानीय विसुनुदेव हजराको २ लाख, मुकेश हजराको १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ(एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी डंगोलसहित अभियन्ताहरु राजेन्द्रकुमार शर्मा(आरके) र खगेन्द्र न्यौपानेसँग भेट गरेका छन् ।
प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डसँग एनआरएनएका संस्थापक उपाध्यक्ष डा.डंगोलले प्रधानमन्त्रीको आसन्न भ्रमणमा उठाउनुपर्ने विषयको बारेमा छलफल गरेका थिए ।
डा.डंगोल कतारमा व्यवसाय गर्ने पहिलो नेपाली हुन् । यस्तै कतारमा दुई दशकदेखि व्यवसायमा सक्रिय रहेका तथा गैरआवासीय नेपाली अभियन्ता आरके शर्माले अमिरसँग लगानीका विषयमा नेपालले उठाउनुपर्ने विषयमा छलफल गरेका थिए ।
नेपाल र कतारबीच कुटनीतिक सम्बन्ध गासिएपछि पहिलो पटक कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका छन् ।
‘कतारका अमिरको भ्रमणमा नेपालले लगानीका क्षेत्रहरुमा विशेष पहल गर्नुपर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भयो,’प्रधानमन्त्रीसँगको भेटपछि शर्माले भने,‘प्रधानमन्त्रीज्यूले कतारले हासिल गरेको आर्थिक विकासको अनुभव नेपालको लागि सहयोगी हुने गरी अमिरको भ्रमणमा फलदायी हुने सम्झौता हुने जानकारी दिनुभयो ।’
यस्तै प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई नेपाल आउने र लगानी सम्मेलन सफल बनाउन संस्थापक उपाध्यक्ष डंगोल तथा अभियन्ता शर्मा र न्यौपानेलाई अनुरोध गरेका थिए । प्रधानमन्त्रीले लगानी सम्मेलन सफल बनाउन र नेपालमा लगानी भित्र्याउने भूमिकामा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने हुँदा त्यो काम गर्न भनेका थिए ।
भेटमा सहभागी एनआरएनए संस्थापक डंगोल,शर्मा र न्यौपानेले गैरआवासीय नेपालीहरु नेपालको आर्थिक विकासमा सहयात्री बन्न तयार सधैँ रहेको र सम्मेलन लगानी बढाउने विषयमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
लेखनाथ सिकारु/मध्यान्ह
काठमाडौं : विश्व पृथ्वी दिवस २०२४ को उपलक्ष्यमा स्वयम्भू परिसरमा सरसफाइ गरिएको छ । विश्व सम्पदा सूचीमा रहेका तीन वटा पुरातात्विक सम्पदाहरुको सरसफाइ कार्यक्रम अन्तर्गत शनिबार युनिभर्सल पिस स्यन्चुरीमार्फत विभिन्न संघसंस्था तथा समाजको विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरुको सहभागीतामा स्वयम्भू परिसरमा सरसफाइ गरिएको हो ।
कार्यक्रममा युनिभर्सल पिस स्यान्चुरी तथा श्याल्पो गुम्बाका गुरू श्याल्पा रिन्पोछे, नेपाल सरकारका पूर्व मुख्य सचिव, पूर्व राजदूत एवं लिलामणी पौडेल, काठमाडौं महानगरपालिका १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल, वडा सदस्य विजु श्रेष्ठ, युनिभर्सल पिस स्यान्चुरीको तर्फबाट सरसफाइ कार्यक्रमका संयोजक छोईङ देचेन, फोहर मैला व्यवस्थापन संघका महासचिव, परिवर्तन सेवा प्रा.लि का प्रबन्धक मित्र प्रसाद घिमिरे, क्लिन इट अपसाइक्लर्सका प्रमुख कार्यकारी अधिकृत शशी किरण थापा, बागमती अभियान किशोर शाही, श्याल्पो गुन्बाका भिच्छुहरु, नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधित्व व्यक्तिहरुसहित युवा अभियन्ताहरुको सहभागिता रहेको थियो । आइतबार पशुपतिनाथ मन्दिर परिसर र सोमबार बौद्ध मन्दिर परिसर सफाइ गरिने अभियानका समन्वयकर्ता नविन विकास महर्जनले जानकारी दिए ।
विश्व पृथ्वी दिवस २०२४ मा यस पटकको नारा पनि पृथ्वी र प्लाष्टिक राखिएको छ । नेपालमा पनि प्लाष्टिकको अधिक प्रयोगले वातावरणमा धेरै असर प्रभाव परेको, फोहोरमा अत्याधिक मात्रामा प्लाष्टिकको मिश्रणले फोहोर व्यवस्थापन कार्य समेत चुनौतीपूर्ण बन्दै गइरहेको जनाउँदै अभियानले यस्ता विषयमा समेत सचेतना अभियान संचालन गर्ने जनाएको छ ।
पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो एउटा दिवस हो, जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रसंशा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो । यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ ।
सन् १९६९ अमेरीकाको सान फ्रान्सस्किोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलाद्र्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । पछि अमेरिकी सीनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यसदिन देखि आजसम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसारभरी नै विश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।
सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरीयोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको थियो । त्यसपछि सन् २००९ मा राष्ट्र संघको ६३ औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निणर्य गरेको हो ।
सरु भुसाल/मध्यान्ह
गुल्मी : गुल्मीका विभिन्न स्थानमा दुई दिनदेखि आगलागी हुँदा सरकारी सम्पत्तिसहित करोडौंको क्षति भएको स्थानीयले बताएका छन् । शुक्रबारदेखि गुल्मी जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना हुँदा दर्जनौं घर गोठ जलेर नष्ट हुनुका साथै सरकारी सम्पत्तिसहित करोडौंको क्षति भएको छ ।
शुक्रबार दिउँसो गुल्मीदरबार गाउँपालिका ३ र ४ को बीचमा पर्ने जंगलमा आगलागी हुँदा नेपाल विद्युत प्राधिकरणको वीरबास सवस्टेशनको स्टोर जलेर दुई करोडभन्दा बढीको इलेक्ट्रोनिक्स सामग्री नष्ट भएको विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिएका छन् । शनिबार हावाहुरीसँगै गुल्मी जिल्लाका विभिन्न पालिकाका विभिन्न स्थानमा आगलागीका घटना हुँदा दर्जनौं घर जलेर नष्ट भएका छन् । आगलागीमा परेर केही मानिसहरु घाइते भएको र पशुचौपायाहरु मरेको पत्रकार रमेश बिकले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका– २ को रानीवन सामुदायिक वनमा लागेको आगो सिदुङ्खा र हाँडिखोला समेत गरी १५ वटा घर गोठ जलेर नष्ट भएका छन् । आगलागीमा लु ४ त ६५३५ नम्बरको ट्याक्टर पूर्णरुपमा जलेको छ भने त्यसका चालक उजुङ्घ निवासी हिमाल राना घाइते भएका छन् । त्यस्तै जेसिभी चालक मुसिकोट नगरपालिका– ७ पल्टारका प्रेम राना पनि गम्भीर घाइते भएका छन् । इस्मा गाउँपालिका– ४ हुल मुड्कीनामा चार गोठ जलेर नष्ट भएका छन् । आगलागीमा परेर एउटा लैनो भैंसी, एउटा गाई र १० वटा बाख्रा जलेका छन् । यहाँ शनिबार अपरान्हसम्म सात वटा घर जलेर नष्ट भएको र थप करिब १० वटा घर जोखिममा रहेको त्यहाँका वडाध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिए ।
धुर्कोट गाउँपालिका– ६ धुर जंगलमा भिषण आगलागी भएको स्थानीयवासी तथा पत्रकार भरत पाण्डले जानकारी दिए । त्यस्तै, मुसिकोट नगरपालिकाको– ९ अर्लाङ्कोटको जंगलमा पनि भिषण आगलागी भएको छ । वडाध्यक्ष भोमा गुरुङका अनुसार अपरान्हसम्म तीन वटा घर र एउटा गोठ जलेर नष्ट भएका छन् भने तीन वटा भैंसी मरेका छन् । आगो नियन्त्रणभन्दा बाहिर रहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।
रुरुक्षेत्र गाउँपालिका– १ भड्कुवा गाउँको चारैतिर आगलागी हुँदा पाँच वटा घर गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । सात वटा पशुचौपाया मरेको र झण्डै दुई दर्जन घर गोठ उच्च जोखिममा परेको स्थानीयवासी विकास ज्ञवालीले बताए । प्रहरीका अनुसार रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका छत्रकोट गाउँपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएको छ । जिल्लाका विभिन्न स्थानमा आगलागी भएको हुँदा नियन्त्रणका लागि तीन वटै सुरक्षा निकाय परिचालन गरिएको भन्दै आम नागरिकसमेतलाई होसियारपूर्वक आगलागी नियन्त्रणमा जुट्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आह्वान गरेका छन् ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी हुँदा २० घर गोठ जलेर नष्ट भएका छन् । वडा नं. ३ र ४ रातामाटामा अत्यधिक हावाहुरीका कारण जंगलमा लागेको आगो बस्तीमा आउँदा घरगोठ जलेर नष्ट भएको स्थानीय तथा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरि प्रसाद भुसालले जानकारी दिए ।
मानविय क्षती नभएपनि दजनौं घरमा आगलागी हुँदा त्यहाँ रहेका पशुचौपाया तथा अन्य सामग्रीहरु जलेर नष्ट भएको धारापानी प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीका अनुसार अहिले आगो चारैतिर फैलिएका कारण यकिन तथ्यांक आउन सकेको छैन । आगलागी अहिले पनि जारी रहेकोले निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।
प्रहरीका अनुसार अहिले आगो नियन्त्रण गर्नका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालयको टोली तथा राजनीतिक दलका नेता कार्यकर्ताहरु गाउँमा परिचालन भएको भएपनि अत्यधिक हावाहुरीका कारण आगो नियन्त्रणमा आउन सकेको छैन । अर्घाखाँचीमा आज दिनभर हावाहुरी लागेका कारण पनि आगो गाउँमा फैलिएको हो । अर्घाखाँचीको शितगंगा नगरपालिका गोल्डुङ भन्ने ठाउँमा पनि आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ भने पाणिनी गाउँपालिकाका विभिन्न ठाउँमा हिजोदेखि लागेको आगो स्थानीयले नियन्त्रणमा लिएका छन् भने पाणिनी ३ खुलौले भन्ने ठाउँमा १ घर जलेर नष्ट भएको स्थानीय पत्रकार माधव पौडेलले जानकारी दिए ।
भुमिकास्थान ३ र ४ मा आगलागीबाट कसको घरमा भयो क्षति ?
१, शाेभाखर बन्जाडे : गाेठ
२, रेशम परियार : घर/गाेठ
३, वसन्त मल्ल ठकुरी : घर/गाेठ
४, विष्णु जि एम खाेका दाेकान
५, गंग बहादुर : घर
६, दुर्गा विक : घर
७, पुर्ण प्रसाद भुसाल : गाेठ/बाइक
८, भुपलाल भसाल : गाेठ/भैंसी
९, झविलाल भुसाल : घर
१०, खिम प्रसाद भुसाल : घर
११, तिलक भुसाल : घर
१२, ईश्वरी भुसाल : घर
१३, काँशिराम भुसाल : घर
१४, गंगा भुसाल : गाेठ
१५, रामजी भुसाल : घर/थाराे
१६, कृष्ण ओली : घर/भैंसी
१७, दाेल प्रसाद भुसाल : थाराे
१८, पिताम्वर भुसाल : थाराे
काठमाडौं : सत्ता र शक्ति स्वार्थका नेपाली कम्युनिष्टहरु मूल्य, मान्यता, विचार र सिद्धान्तबाट च्यूत हुँदै पथविचलन भएको वक्ताहरुको बताएका छन् । शनिबार काठमाडौंको संवाद डबलीमा ‘प्रगतिशील रुपान्तरण अभियान’ ले आयोजना गरेको कार्यक्रममा कम्युनिष्टहरुले जनअधिकार, राष्ट्र र राष्ट्रियतालाई समेत लिलाम गरेको आरोप लगाउँदै महाविचलनको बाटोतिर हिँडेको भन्दै चिन्ता व्यक्त गरिएको हो ।
नेकपा एमालेका नेता डा.भीम रावलले उत्पीडित जनताको अधिकार, राष्ट्र र राष्ट्रियताको रक्षाको नारा दिँदै नेपाली कम्युनिस्टहरु सत्तामा जाने तर त्यही सिद्धान्त र प्रतिबद्धताविरुद्ध जाने प्रवृत्ति घातक भएको बताए । सत्ता र शक्तिको लागि जुनसुकै हदसम्म जाने प्रवृत्तिले जनताको कम्युनिष्टप्रति विश्वास घटेको बताए ।
‘पदका लागि रातिराति जासुसहरुसँग बैठक, देश फुटाउँछु भन्नेलाई मन्त्री बनाउनेहरु विचलन मात्रै हैन महाविचलनमा गइसके’ रावलले भने । उनले नेकपा एमाले र नेकपा माओवादी सत्तामा पुगेपछि आफूले उठाउँदै आएका कुराहरु छोड्ने गरेको बताए ।
नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले आफ्नो पार्टीमा मात्रै नभएर सबै कम्युनिस्ट पार्टीहरुमा आलोचनात्मक विचार रोक लगाएको बताए ।
‘कसैले रचनात्मक टिप्पणी गरे उसको भविश्य भोलिबाटै सकिन्छ, जसले भक्ति गान गायो उसैको भलो हुन्छ, पार्टी,जनता भडमा जाओस् । तर सहि र गलतबीच लडाइँ चलिरहन्छ आशा गरौं, कुनै दिन कम्युनिस्टहरुमा आलोचनात्मक टिप्पाणी संस्थागत हुने छन्, सिद्धान्ताको रक्षा हुनेछ’ कार्कीले भने ।
नागरिक अगुवा श्याम श्रेष्ठले कम्युनिष्टहरुले आधारभूत इमान्दारितालाई नै त्यागेर सत्ता स्वर्थमा चुर्लुम्म हुँदा विगतको संघर्षका उपलब्धिहरु पनि गुम्न लागेकोले आफूहरुले विचलनलाई रोक्न नयँ अभियान चलाउन लागेको जानकारी दिए ।
उनीहरुमा सबैभन्दा बढी अवसरवाद मौलाएको बताउँदै श्रेष्ठले भने,‘हिजो चप्पलेहरु एकाएक महले बन्ने र जनताको अवस्था ज्यूँकात्यूँ बनेपछि यसलाई पथविचलन मात्रै हैन पथभ्रष्ट भएन र भन्या । जनवादी केन्द्रीयता भने पनि हनुमाने प्रवृत्ति मौलाउनु, देश,वर्ग र पार्टीप्रति प्रतिबद्ध भन्दा अवसरमुखी हुनु आजको मुख्य समस्या हो ।’
वैज्ञानिक समाजवादी पार्टी, नेपालकाका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ ले कम्युनिष्टहरुले जुन व्यवस्थाको विरोध गर्दै सत्तामा पुग्छन् त्यसैको मतियार हुनेगरेकोे बताउँदै उनले भने, ‘दलाल पुँजीवादी व्यवस्थाको सत्तोसराप गर्छन् सत्तामा गएर, त्यही मान्छे त्यही व्यवस्थाको दलाल बन्छन्, अनि कहाँबाट आउँछ समाजवादी व्यवस्था, जनताले तीनलाई कसरी पत्याइ दिने ।’ कम्युनिष्ट सिद्धान्त र नेपाली समाज उत्पादन संयन्त्र परिवर्तन नभएसम्म परिवर्तन नहुने आहुतीको दाबी छ ।
त्यसैगरी डा.महेश मास्केले नेपाली कम्युनिष्टको विचार र व्यवहारमा तालमेल नभएको बताए । उनले कम्युनिष्टहरु शक्तिमा आउँदा पनि एकजुट हुन नसकेको बताउँदै उत्पादन र वितरणमा कम्युनिष्टहरु चुकेको बताए । कार्यक्रम डा.शरद वन्तले सञ्चालन गरेका थिए ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : नेपाल राष्ट्रिय कर्मचारी संगठन अर्घाखाँचीलेको आयोजनामा मित्र मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठन तथा नेपाल राष्ट्रिय कर्मचारी महासंघ अर्घाखाँचीले शनिबार एक कार्यक्रमकाबीच सन्धिखर्कको बाहुनडाँडामा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा मित्र मिलन कार्यक्रम सम्पन्न गरेको हो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य तथा पूर्व राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका पूर्व सदस्य चन्द्र बहादुर खड्का उज्वल, पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर कुमार वि.क, प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल, संगठनका केन्द्रीय सचिव राजेन्द्र राना, केन्द्रीय सदस्य दिपक जिसी, प्रदेश उपाध्यक्ष विजय वि.क.,प्रदेश प्रतिनिधि बिनोद भट्टराई, प्रदेश सदस्य शारदा खनाल वि.क, आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण बर्मा ,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।
संगठनका जिल्ला अध्यक्ष यादव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा आधिकारिक ट्रेड युनियनका सचिव तथा संगठनका नेता दुर्गा वि.क.ले स्वागत मन्तव्य र महासंघका अध्यक्ष पुर्ण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।
लालबाबु बानिया/मध्यान्ह
पर्सा : पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिकाको वडा नं.१ भलुवहियामा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट विरेन्द्र यादव, विसनुदेव हजरा, मुकेश यादवको घर जलेर नष्ट भएको हो । आगलागीबाट करिब दश बिगहा भन्दा बढी खेतमा लगाइएको गहुँबाली समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट किसान मुनिलाल राउत अहउरका २५ कट्ठा, ताराचन साह तेलीको १५ कट्ठा, अर्जुन यादवको १२ कट्ठा, साहेव राउत अहिर, जुगुल यादव, विश्वनाथ यादव लगायत किसानका खेतमा लगाइएको करिब दश विगहा भन्दा बढी गहुँबाली जलेर नष्ट भएको छ ।
स्थानीय प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरीक्षक मुकेश यादवको टोली पुगेर क्षतिको विवरण संकलन गरेको थियो । प्रहरी निरीक्षक यादवका अनुसार आगलागीमा कुखुरा फर्म, कुखुराको चल्ला २ हजार र दाना समेत जलेको छ ।
यस्तै स्थानीय विसुनुदेव हजराको २ लाख, मुकेश हजराको १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पोखरीया नगरपालिका, विरगन्ज महानगरपालिका र नेपाल प्रहरीको वारुणयन्त्रले नियन्त्रणमा लिइएको थियो ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको राजापुर नगरपालिकामा ‘पोषणमैत्री स्थानीय सरकार’ विषयक कार्यशाला सम्पन्न भएको छ । ‘सशक्त बालिका परियोजना’ अन्तर्गत राजापुर नगरपालिकाको आयोजना तथा प्लान नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको सहकार्यमा कार्यशाला सम्पन्न भएको हो ।
२०८७ साल सम्ममा देशका सबै स्थानीय तहलाई पोषणमैत्री स्थानीय तह घोषणा गर्ने नेपाल सरकारको लक्ष्यलाई सफल बनाउन राजापुर नगरपालिकाले साझेदार संघ संस्थाहरुको सहकार्यमा आफ्नो मातहतका सबै स्वास्थ्य संस्थाहरुलाई ‘पोषणमैत्री स्वास्थ्य संस्था’ बनाउँदै नगरलाई नै पोषण मैत्री बनाउने अभियान सञ्चालन गर्नुपूर्व कार्यशालाको आयोजना गरिएको हो ।
पालिकामा भएका सम्पूर्ण बालबालिका पोषणको चपेटामा नपरी बालबालिकाहरुलाई पोषणरहित समाजमा बस्ने अवसर प्रदान गर्ने वातावरण निर्माणका लागि कार्यशालाले सघाउ पु¥याउने प्लान नेपालका प्राविधिक सल्लाहकार किरण भण्डारीले बताए ।
कार्यशालामा आधारभूत पोषण तथा यसका विभिन्न आयामका बारेमा जानकारी गराउँदै बहुक्षेत्रीय पोषण योजनाको अवधारणा तथा यसमा विषयगत क्षेत्रको भूमिका र पोषणमैत्री स्थानीय तह घोषणाको लागि पूरा गर्नुपर्ने विभिन्न ७ विषयगत क्षेत्रका ७६ वटा सूचकका बारेमा चर्चा गरिएको थियो ।
नगरभित्रका ५ वर्ष मुनीका बालबालिकाको पोषणको अवस्थाको लेखाजोखा गर्दे सुधारात्मक रुपमा अगाडि बढी पालिकालाई पोषणमैत्री बनाउन कार्यशालामा चर्चा गरिएका विषयवस्तुले सहयोग पु¥याउने राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताए ।
सानो भनेर वास्ता नगरिएको कुराले समाजमा दुरगामी प्रभाव पर्ने बताउँदै राजापुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडा नं.५ का वडा अध्यक्ष रमेश दहितले बालबालिकाको भविष्य नै नगरपालिकाको भविष्य भएकाले नगरपालिकाको नीति तथा कार्यक्रममा पोषणको विषयलाई प्राथमिकताका साथ समावेश गरिनुपर्ने बताए ।
राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, १० वटै वडाका वडाध्यक्ष तथा सचिवहरु, विषयगत शाखाका शाखाप्रमुखहरु, पालिका भित्र रहेका स्वास्थ्य चौकीका प्रमुखहरु, प्लान नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाका परियोजना संयोजक मनोज पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यशालाको सहजीकरण प्लान नेपालका प्राविधिक सल्लाहकार किरण भण्डारीले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies