काठमाडौं : सत्ता र शक्ति स्वार्थका नेपाली कम्युनिष्टहरु मूल्य, मान्यता, विचार र सिद्धान्तबाट च्यूत हुँदै पथविचलन भएको वक्ताहरुको बताएका छन् । शनिबार काठमाडौंको संवाद डबलीमा ‘प्रगतिशील रुपान्तरण अभियान’ ले आयोजना गरेको कार्यक्रममा कम्युनिष्टहरुले जनअधिकार, राष्ट्र र राष्ट्रियतालाई समेत लिलाम गरेको आरोप लगाउँदै महाविचलनको बाटोतिर हिँडेको भन्दै चिन्ता व्यक्त गरिएको हो ।
नेकपा एमालेका नेता डा.भीम रावलले उत्पीडित जनताको अधिकार, राष्ट्र र राष्ट्रियताको रक्षाको नारा दिँदै नेपाली कम्युनिस्टहरु सत्तामा जाने तर त्यही सिद्धान्त र प्रतिबद्धताविरुद्ध जाने प्रवृत्ति घातक भएको बताए । सत्ता र शक्तिको लागि जुनसुकै हदसम्म जाने प्रवृत्तिले जनताको कम्युनिष्टप्रति विश्वास घटेको बताए ।
‘पदका लागि रातिराति जासुसहरुसँग बैठक, देश फुटाउँछु भन्नेलाई मन्त्री बनाउनेहरु विचलन मात्रै हैन महाविचलनमा गइसके’ रावलले भने । उनले नेकपा एमाले र नेकपा माओवादी सत्तामा पुगेपछि आफूले उठाउँदै आएका कुराहरु छोड्ने गरेको बताए ।
नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले आफ्नो पार्टीमा मात्रै नभएर सबै कम्युनिस्ट पार्टीहरुमा आलोचनात्मक विचार रोक लगाएको बताए ।
‘कसैले रचनात्मक टिप्पणी गरे उसको भविश्य भोलिबाटै सकिन्छ, जसले भक्ति गान गायो उसैको भलो हुन्छ, पार्टी,जनता भडमा जाओस् । तर सहि र गलतबीच लडाइँ चलिरहन्छ आशा गरौं, कुनै दिन कम्युनिस्टहरुमा आलोचनात्मक टिप्पाणी संस्थागत हुने छन्, सिद्धान्ताको रक्षा हुनेछ’ कार्कीले भने ।
नागरिक अगुवा श्याम श्रेष्ठले कम्युनिष्टहरुले आधारभूत इमान्दारितालाई नै त्यागेर सत्ता स्वर्थमा चुर्लुम्म हुँदा विगतको संघर्षका उपलब्धिहरु पनि गुम्न लागेकोले आफूहरुले विचलनलाई रोक्न नयँ अभियान चलाउन लागेको जानकारी दिए ।
उनीहरुमा सबैभन्दा बढी अवसरवाद मौलाएको बताउँदै श्रेष्ठले भने,‘हिजो चप्पलेहरु एकाएक महले बन्ने र जनताको अवस्था ज्यूँकात्यूँ बनेपछि यसलाई पथविचलन मात्रै हैन पथभ्रष्ट भएन र भन्या । जनवादी केन्द्रीयता भने पनि हनुमाने प्रवृत्ति मौलाउनु, देश,वर्ग र पार्टीप्रति प्रतिबद्ध भन्दा अवसरमुखी हुनु आजको मुख्य समस्या हो ।’
वैज्ञानिक समाजवादी पार्टी, नेपालकाका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ ले कम्युनिष्टहरुले जुन व्यवस्थाको विरोध गर्दै सत्तामा पुग्छन् त्यसैको मतियार हुनेगरेकोे बताउँदै उनले भने, ‘दलाल पुँजीवादी व्यवस्थाको सत्तोसराप गर्छन् सत्तामा गएर, त्यही मान्छे त्यही व्यवस्थाको दलाल बन्छन्, अनि कहाँबाट आउँछ समाजवादी व्यवस्था, जनताले तीनलाई कसरी पत्याइ दिने ।’ कम्युनिष्ट सिद्धान्त र नेपाली समाज उत्पादन संयन्त्र परिवर्तन नभएसम्म परिवर्तन नहुने आहुतीको दाबी छ ।
त्यसैगरी डा.महेश मास्केले नेपाली कम्युनिष्टको विचार र व्यवहारमा तालमेल नभएको बताए । उनले कम्युनिष्टहरु शक्तिमा आउँदा पनि एकजुट हुन नसकेको बताउँदै उत्पादन र वितरणमा कम्युनिष्टहरु चुकेको बताए । कार्यक्रम डा.शरद वन्तले सञ्चालन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies