दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : आगलागीबाट गत वर्ष १०६ को मृत्यु भएको पाइएको छ । गृहमन्त्रालयको तथ्याङ्कअनुसार २०८० सालको बाह्र महिनामा आगलागीका ४ हजार ६१ वटा घटना भएका थिए । जसमा १०६ को मृत्यु भएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८० सालमा भूकम्प लगायतका अन्य विपदभन्दा बढी आर्थिक क्षति आगलागीका घटनाले गरेको थियो । गत वर्ष आगलागीका कारण दुई अर्ब ५२ करोड ६८ लाख ६३ हजार ५४२ रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्क छ ।
२०८१ साल वैशाखमा पनि आगलागीका घटनाहरु भइरहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख महिनामा आगलागीका घटनाहरु धेरै हुने सम्भावना रहन्छ । यस अनुसार क्षति कम गर्नका लागि आवश्यक पूर्व तयारी गरिएको छ ।
अर्घाखाँची र गुल्मीको आगो नियन्त्रणमा आएन
अर्घाखाँची र गुल्मीका विभिन्न क्षेत्रमा दुई दिनदेखि आगो फैलिरहेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी भएको छ ।
स्थानीय हरि प्रसाद भुसालका अनुसार आगलागीमा मानविय क्षति नभएपनि पशुचौपाया परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आगो चारैतिर फैलिएको छ । क्षतिको यकिन तथ्यांक आउन सकेको छैन । आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।
प्रहरीका अनुसार आगो नियन्त्रण गर्नका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, डिभिजन बन कार्यालयको टोली, राजनीतिक दलका नेता/कार्यकर्ताहरु परिचालित भएका छन् ।
यसैगरी, गुल्मीका विभिन्न स्थानमा दुई दिनदेखि आगलागी हुँदा सरकारी सम्पत्तिसहित करोडौंको क्षति भएको स्थानीयले बताएका छन् ।
शुक्रबार दिउँसो गुल्मीदरबार गाउँपालिका– ३ र ४ को बीचमा पर्ने जंगलमा आगलागी हुँदा नेपाल विद्युत प्राधिकरणको वीरबास सवस्टेशनको स्टोर जलेर दुई करोडभन्दा बढीको इलेक्ट्रोनिक्स सामग्री नष्ट भएको विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए ।
शनिबार हावाहुरीसँगै गुल्मी जिल्लाका विभिन्न पालिकाका विभिन्न स्थानमा आगलागीका घटना हुँदा दर्जनौं घर जलेर नष्ट भए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका– २ को रानीवन सामुदायिक वनमा लागेको आगो सिदुङ्खा र हाँडिखोला समेतको गरी १५ वटा घरगोठ जलेका छन् ।
पर्सामा गहुँबाली जलेर नष्ट
पर्सामा आगलागी हुँदा गहुँबाली जलेर नष्ट भएको छ । सिमावर्ती छिपहरमाई गाउँपालिकाको वडा नं.१ भलुवहियामा आगलागी हँुदा किसान मुनिलाल राउत अहउरका २५ कट्ठा, ताराचन साह तेलीको १५ कट्ठा, अर्जुन यादवको १२ कट्ठा, साहेव राउत अहिर, जुगुल यादव, विश्वनाथ यादव लगायत किसानका खेतमा लगाइएको करिब दश विगहा भन्दा बढी क्षेत्रको गहुँबाली जलेर नष्ट भएको हो ।
चार घर पनि जलेर नष्ट भएको छ । आगलागीबाट विरेन्द्र यादव, विसनुदेव हजरा, मुकेश यादवको घर जलेर नष्ट भएको हो । आगलागीबाट करिब दश बिगहा भन्दा बढी खेतमा लगाइएको गहुँबाली समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरीक्षक मुकेश यादवको टोली पुगेर क्षतिको विवरण संकलन गरेको थियो । प्रहरी निरीक्षक यादवका अनुसार आगलागीमा कुखुरा फर्म, कुखुराको चल्ला २ हजार र दाना समेत जलेको छ । यस्तै, स्थानीय विसुनुदेव हजराको २ लाख, मुकेश हजराको १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies