काठमाडौं : कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।
मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो ।
ब्याटिङ गर्ने क्रममा वर्षाले खेल प्रभावित बनेको थियो । नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएकामा ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक २२ रन बनाइन् । उनले २१ बलमा एक चौकाको साहयताले अविजित २२ रन बनाएकी हुन् । त्यस्तै सीता रानामगरले १७ रन जोडिन् भने कविता जोशीले अविजित ४ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारयाम ओमरले एक विकेट लिइन् ।
यसअघि कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो । कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा २९ रन बनाएकी हुन् । त्यस्तै खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३÷१३ रन जोडे ।
कुवेतलाई ७३ रनमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई/दुई विकेट लिए ।
नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । नेपालले समुह चरणको खेलमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो । योजितसँगै सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियाको सामना गर्नेछ ।
प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् ।
जिपि लामिछाने/मध्यान्ह
जापान : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा हुने दोस्रो 'एनआरएनए फुटसल रनिङ कप २०२४' प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ । 'युवाका लागि खेलकुद' भन्ने मान्यताका साथ मार्च ३ तारिकदेखि हुने उक्त प्रतियोगिताका लागि जापानभर रहेका फुटसल प्रेमीहरूले टिम दर्ता गराउने क्रम जारी रहेको र टिम दर्ताका लागि फेब्रुअरीको २३ तारिकसम्म अन्तिम म्याद राखिएको कार्यक्रमका संयोजक तथा एनआरएनए जापानका युवा संयोजक मुक्तिराज रेग्मीले जानकारी दिए ।
संयोजक रेग्मीका अनुसार जापानमा रहेका नेपाली युवाहरुलाई खेलकुदप्रति सक्रिय बनाइराख्न र खेलकुदका माध्यमबाट सामाजिक क्रियाकलापमा संलग्न बनाउन उत्प्रेरित गराउन सहयोग पुर्याउनका लागि एनआरएनए जापानले गत वर्षदेखि सञ्चालन गरेको प्रतियोगितालाई यस वर्ष व्यवस्थितरुपमा निरन्तरता दिन लागिएको बताए ।
जापानको चिवाको जेड फुटसल स्पोर्ट्स ८५ माएगासकी नागारेयामा हुने फुटसल प्रतियोगिताको विजेता टिमलाई ५ लाख ५ हजार ५ सय ५५ जापानी येन, रनिङ कप, प्रमाण पत्र र ट्रफी, फस्ट रनरअप टिमलाई ३ लाख ३ हजार ३ सय ३३ जापानी येन, प्रमाण पत्र र ट्रफी, सेकेन्ड रनरअप टिमलाई १ लाख ११ हजार १ सय ११ जापानी येन, प्रमाण पत्र र ट्रफीसहितको पुरस्कार प्रदान गरिने सहआयोजक एनआरएनए जापान क्षेत्रीय समिति चिवाले जानकारी दिएको छ ।
खेलाडीको हौसला वृद्धि गराउने उद्देश्यले खेल सञ्चालनका क्रममा बेष्ट प्लेयर, बेष्ट गोलकिपर, द टप स्कोरर, द बेष्ट कोच, द फेयर अवार्ड टिमलाई १० हजार जापानी येन र म्यान अफ दि म्याचलाई ट्रफी प्रदान गरिने आयोजक टिमका सदस्य तथा एनआरएनए जापानका उपाध्यक्ष सचिन श्रेष्ठले बताए ।
खेल क्षेत्रमार्फत सामाजिक सेवाका कार्यमा सहभागी हुन युवाहरुलाई उत्साहित बनाउँदै एनआरएनएको अभियानमा जोड्नका लागि यो फुटसल फलदायी हुने विश्वास आफूले लिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए । जापानमा रहेका सबै संघ संस्था व्यावसायिक व्यक्तित्व एनआरएनएका अभियन्ता र सामाजिक अभियन्ताहरुलाई उक्त फुटसल प्रतियोगिताका लागि आफ्नो ठाउँबाट सकेको सहयोग गर्न अध्यक्ष निउरेले आग्रह गरेका छन् ।
एनआरएनए जापानले जापानभर रहेका युवाहरुलाई समेट्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागेकाले यससँग चासो राख्ने सम्पूर्ण जापानवासी नेपाली युवाहरुलाई प्रतियोगितामा भाग लिन र अन्य दाजुभाइ दिदीबहिनीलाई आर्थिकसहितको आवश्यक सहयोग गरिदिनका लागि कार्यक्रम संयोजक रेग्मीले अनुरोध गरेका छन् । 'प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिसकिएको छ । सहभागिताका लागि सम्पूर्णमा अनुरोध गर्दछु,' संयोजक रेग्मीले भने ।
प्रतियोगितालाई मर्यादित र व्यवस्थितरूपमा सञ्चालन गर्ने गरी आवश्यक सम्पूर्ण तयारी भइरहेको र खेल पूर्णत: व्यवस्थित, मर्यादित र शान्तपूर्ण रूपमा सम्पन्न हुने आयोजकको भनाइ छ । प्रतियोगिताको आयोजक एनआरएनए जापान, सहआयोजक एनआरएनए जापान क्षेत्रीय समिति चिवा र सहयोग एनआरएनए जापानका ११ वटै क्षेत्रीय समितिको रहेको छ ।
काठमाडौं : अनिल साह र भीम सार्कीको शतकमा नेपालले एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडाविरुद्ध शानदार जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई ९ विकेटले पराजित गरेको हो । योसँगै नेपालले क्यानडाविरुद्धको सिरिज क्लिनस्वीप गरेको छ । सिरिज नेपालले ३-० ले जितेको हो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।
सोमबार क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर अनिल साह र भीम सार्कीले शतकीय इनिङ खेले । अनिलले १२४ बलमा नटआउट ११२ रन बनाए । सो क्रममा उनले १२ वटा चौका र २ वटा छक्का प्रहार गरे । यस्तै भीमले १२९ बलमा नटआउट १०१ रन बनाए । सो क्रममा उनले ११ वटा चौका र १ वटा छक्का प्रहार गरे ।
अनिल र भीमले एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी पनि बनाए । दोस्रो विकेटका लागि अनिल र भीमले १ सय ८९ रनको साझेदारी गरे । यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए । त्यस्तै ओपनर कुशल भुर्तेलले १४ बलमा ३ चौकको मद्दतमा १३ रन बनाए । क्यानडाका लागि डिलोन हेलिगरले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ५० रन जोडेका हुन् । त्यस्तै क्यानडाका अर्का ओपनर निखिल दत्तले ४५ रन बनाए भने कप्तान साद बीन जाफरले ३१ रन बनाए । हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ र श्रीमान्थ विजेरत्नले २२ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
क्यानडालाई मध्यम रनमा रोक्ने क्रममा नेपालका लागि डेब्यू खेलाडी हेमन्त धामीले ३ विकेट लिए । यस्तै कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र अकाश चन्दले समान १-१ विकेट लिए ।
काठमाडौं : एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडाले नेपाललाई २ सय ३३ रनको लक्ष्य दिएको छ । सोमबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनायो ।
क्यानडाका लागि नवनीत धालीवालले अर्धशतकी इनिङ खेले । उनले ८२ बलमा ५० रन बनए । निखिल दत्तले ४५ रन बनाए भने शद बिन जाफरले नटआउट ३१ रन बनाए । हर्श ठाकरले २९, श्रेयस मोभाले २५, श्रीमंथा विजयरत्नेले २२ रन बनाए ।
नेपालका लागि डेब्यू खेलमै हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए । कुशल मल्लले २ तथा आकाश चन्द र ललित राजवंशीले समान एक एक विकेट हात पारे ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतार लगातार दोस्रो पटक एएफसी एसियन कपको च्याम्पियन बनेको छ । शनिवार राति घरेलु भूमिमा अवस्थित लुसेल रङ्गशालामा भएको फाइनल खेलमा जोर्डन माथि ३-१ को जित निकाल्दै कतार लगातार दोस्रो पटक एसियन च्याम्पियन बनेको हो ।
कतारका लागि स्ट्राइकर अक्रम अफिफले ह्याट्रिक पूरा गरे । उनले सबै गोल पेनाल्टी मार्फत गरेका थिए । अफिफले प्रतियोगिता अवधिभर ८ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बन्न सफल भएका छन् । कतारले खेलको २२औँ मिनेटमा अग्रता लिएको थियो । अफिफ आफैमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । ६७औँ मिनेटमा जोर्डनले बराबरी गोल गर्यो । यजन अल नैमतले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलको ७२औँ मिनेटमा र इन्ज्युरी समयको पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा अफिफ चुकेनन् र ह्याट्रिक गरे । लगातार दोस्रो उपाधि जित्ने क्रममा कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीन विरुद्ध जित निकालेको थियो भने अन्तिम १६ मा प्यालेस्टाइन माथि २-१ को जित निकालेको थियो । क्वाटर फाइनलमा उज्बेकिस्तान विरुद्ध टाई ब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई परास्त गरेको थियो ।
यसअघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो । कतार लगातार दोस्रो पटक एसियन कप जित्ने चौथो देश बनेको छ । यस अघि साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६० मा एसियन कप जितेको थियो । योसँगै पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता बनेको छ ।
काठमाडौं : एसीसी महिला प्रिमियर कप क्रिकेट–२०२४ अन्तर्गत आज भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।
पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको थियो । यस जितसँगै नेपालको २ खेलमा ४ अंकभएको छ । भुटानले प्रस्तुत गरेको ६६ रनको लक्ष्य नेपालले ११ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि सीता रानामगरले अविजित ३२ रन बनाइन् । तेस्तै रुविना क्षेत्रीले १७ रन बनाइन् । तेस्रो विकेटका लागि सीता र रुबिनाले अविजित ४८ रनको साझेदारी गरेका थिए ।
कविता कुँवरले ५ रन बनाइन् भने इन्दु बर्मा १ रनमा आउट भइन् । भुटानका लागि अन्जु गुरुङ र अन्जुली घलेले समान एक÷एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ६५ रनको योगफल बनाएको थियोे । भुटानका लागि नवाङ छोडेनले सर्वाधिक २५ रन जोडिन भने, कप्तान डिचेन वाङ्मोले १७ रन बनाइन् । त्यस्तै, छिङि जाङमोले १६ रन बनाइन् ।
नेपालका लागि कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले समान एक÷एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल आगामी फागुन १ गते माल्दिभ्सको सामना गर्नेछ ।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : उदयपुरमा सम्पन्न दोस्रो वडा अध्यक्ष फुटबल गोल्डकपको उपाधि दुधौली फुटबल समूहले हात पारेको छ ।
वडा युवा तथा खेलकुद विकास समिति त्रियुगा नगरपालिका-१० बोक्से नयाँबस्तीको आयोजना तथा फ्यूजन समूहको समन्वय र त्रियुगा नगरपालिकालगायत संघ संस्थाहरुका सहयोगमा १६ गतेदेखि भएको प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा दुधौली र तालतलैयाबीच समय अवधिभर बराबर भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा दुधौली फुटबल समूह सिन्धुलीले ४-२ को गोल अन्तरले तालतलैया फुटबल समूह सुनसरीलाई पराजित गरेको हो । प्रतियोयोगितामा प्रथम र द्वीतीय हुने समहलाई त्रियुगा नगरपालिकाको उपमेयर महेश्वरी राई वडा अध्यक्ष किरण पाण्डेलगायत अतिथिहरुले विजेता समूहलाई १ लाख १ हजार १११ र द्वितीय हुने समूहलाई ५१ हजार १११ रुपैयाँ नगदसहित क्रमश: ट्रफी, मेडल र तक्मासहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
माधवप्रसाद घिमिरे/मध्यान्ह
ललितपुर : ललितपुरकाे नाखिपाेटमा सञ्चालित आईकेओ क्युकाेशिनकाई डाेजाे नखिपाेटकाे बेल्ट टेष्ट सम्पन्न भएको छ । शनिबार आइकेओ क्युकाेशिनकाई करातेका ४५ जना खेलाडीहरुकाे बेल्ट टेष्ट सफलतापूर्वक सम्पन्न भएको डाेजाेका प्रमुख प्रशिक्षक समीर श्रेष्ठले जानकारी दिए । शुक्रबार र शनिबार भएकाे बेल्ट टेष्टमा प्रमुख प्रशिक्षक सेन्सेई समिर श्रेष्ठ, प्रशिक्षकहरु सेन्सेई उत्तम स्थापितले खेलाडीहरुकाे परीक्षा लिएका थिए ।
बेल्ट टेष्टमा सहभागीहरुमध्ये २ जनाले ब्ल्याक बेल्ट, ५ जनाले ग्रीन, १० जनाले एल्लाे, १२ जनाले ब्लु र १३ जनाले अरेन्ज बेल्ट प्राप्त गरेकाे प्रमुख प्रशिक्षक श्रेष्ठले बताए । आईकेओ क्याेकुशिनकाई नेपालका ब्रान्च चिफ शिहान दिपक लामाले बेल्ट टेष्टबाट खेलाडीहरुकाे क्षमता पहिचान हुनुका साथै उनीहरुमा खेल क्षमताको अभिवृद्धि हुने बताए । 'बेल्ट टेष्टबाट खेलाडीहरुकाे क्षमताको पहिचान हुन्छ । प्रतिस्पर्धा गर्न सक्ने खुबी वृद्धि हुँदै जान्छ । उनीहरुले पाउने बेल्टकाे महत्व र बेल्ट अनुसारको क्षमताकाे जानकारी हुन्छ,' लामाले भने ।
अत्यन्तै कडा मेहनत र अनुसाशनमा राखेर प्रशिक्षित हुन सफल भएका खेलाडीहरुकाे मात्रै बेल्ट परीक्षा लिएर स्तराेन्नति गरिएको प्रमुख प्रशिक्षक श्रेष्ठले बताए । '६० दिन हाजिर भएका याेग्य खेलाडीहरुलाई मात्रै बेल्ट टेष्टमा सहभागी गराएका छाैं, लिखित परिक्षा, बेसिक (किहाेन) मापदण्डहरुकाे परीक्षण, स्टेपिङ, काता, कुमिते परीक्षामा पूरा गरेकाहरुलाई बेल्ट टेष्टमा सहभागी गराउँछाैं । ६० दिन हाजिर भएर पनि राम्रोसँग खेल्न नसकेकाहरुलाई बेल्ट टेष्टमा सहभागी गराइएको छैन,' श्रेष्ठले भने । प्रत्येक तीनदेखि चार महिनाभित्र बेल्ट टेष्ट हुने डाेजाेका प्रमुख प्रशिक्षक श्रेष्ठले बताए ।
काठमाडौं : नेपाली युवा टोलीले चिनियाँ युशु युवा टोलीलाई फराकिलो अन्तरले पराजित गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा भएको खेलमा नेपाली युवा टोलीले युशु युवा टोलीलाई ५-१ ले पराजित गरेको हो ।
नेपालका लागि समिर तामाङले दुई गोल गरे भने सन्जीब विष्ट, छिरिङ लामा र निराजन धामीले एक-एक गोल गरे । युशु युवा टोलीका लागि झाछी पेंगकुओले सान्त्वना गोल गरे ।
काठमाडौं : घरेलु टोली नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिज एक खेल अगावै जितेको छ । शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा क्यानडालाई ४ विकेटले हराएसँगै लगातार दुई जित निकालेको नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो । क्यानडाविरुद्ध लगातार दोस्रो जितसँगै नेपालले तीन खेलको सिरिज २-० ले सिरिज जितेको हो । पहिलो खेलमा बिहीबार नेपाल ७ रनले विजयी भएको थियो ।
क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा तीन खेलाडीले अर्धशतकीय इनिङ खेले । कप्तान रोहित पौडेलले १०१ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ८७ रन बनाए । यस्तै देव खनालले ८१ बलमा ७ चौका र २ छक्काको मद्दतमा ७६ रन बनाए भने ओपनर अनिलकुमार साहले २० बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए ।
त्यस्तै भीम सार्कीले २१ बलमा ४ चौकाको मद्दतमा २३ रन बनाए भने पवन सर्राफले ८ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाए । यस्तै आसिफ सेखले १६ बलमा १ चौकाको मद्दतमा १० रन बनाउँदा कुशल मल्ल र सोमपाल कामीले समान ९-९ रन जोडे । क्यानडाका लागि इश्वरजोत सोहीले २ तथा हर्ष ठाकर, साद बिन जफर र दिलप्रित बज्वाले १-१ विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रनको योगफल बनाएको थियो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्बाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्कासहित ६५ रन बनाएका हुन् ।
त्यस्तै नवनित धलिवालले ४६ रन बनाए । श्रेयश मोभ्वाले ४० रन बनाए । पर्गत सिंहले ३८ रन बनाए भने निकोलस कीर्तन र उदय भगवान्ले समान २०-२० रन जोडे । दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाई १३ रन बनाए । नेपालका लागि रोहित पौडेल र कुशल मल्लले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक–एक विकेट लिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies