जिपि लामिछाने/मध्यान्ह
जापान : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा हुने दोस्रो 'एनआरएनए फुटसल रनिङ कप २०२४' प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ । 'युवाका लागि खेलकुद' भन्ने मान्यताका साथ मार्च ३ तारिकदेखि हुने उक्त प्रतियोगिताका लागि जापानभर रहेका फुटसल प्रेमीहरूले टिम दर्ता गराउने क्रम जारी रहेको र टिम दर्ताका लागि फेब्रुअरीको २३ तारिकसम्म अन्तिम म्याद राखिएको कार्यक्रमका संयोजक तथा एनआरएनए जापानका युवा संयोजक मुक्तिराज रेग्मीले जानकारी दिए ।
संयोजक रेग्मीका अनुसार जापानमा रहेका नेपाली युवाहरुलाई खेलकुदप्रति सक्रिय बनाइराख्न र खेलकुदका माध्यमबाट सामाजिक क्रियाकलापमा संलग्न बनाउन उत्प्रेरित गराउन सहयोग पुर्याउनका लागि एनआरएनए जापानले गत वर्षदेखि सञ्चालन गरेको प्रतियोगितालाई यस वर्ष व्यवस्थितरुपमा निरन्तरता दिन लागिएको बताए ।
जापानको चिवाको जेड फुटसल स्पोर्ट्स ८५ माएगासकी नागारेयामा हुने फुटसल प्रतियोगिताको विजेता टिमलाई ५ लाख ५ हजार ५ सय ५५ जापानी येन, रनिङ कप, प्रमाण पत्र र ट्रफी, फस्ट रनरअप टिमलाई ३ लाख ३ हजार ३ सय ३३ जापानी येन, प्रमाण पत्र र ट्रफी, सेकेन्ड रनरअप टिमलाई १ लाख ११ हजार १ सय ११ जापानी येन, प्रमाण पत्र र ट्रफीसहितको पुरस्कार प्रदान गरिने सहआयोजक एनआरएनए जापान क्षेत्रीय समिति चिवाले जानकारी दिएको छ ।
खेलाडीको हौसला वृद्धि गराउने उद्देश्यले खेल सञ्चालनका क्रममा बेष्ट प्लेयर, बेष्ट गोलकिपर, द टप स्कोरर, द बेष्ट कोच, द फेयर अवार्ड टिमलाई १० हजार जापानी येन र म्यान अफ दि म्याचलाई ट्रफी प्रदान गरिने आयोजक टिमका सदस्य तथा एनआरएनए जापानका उपाध्यक्ष सचिन श्रेष्ठले बताए ।
खेल क्षेत्रमार्फत सामाजिक सेवाका कार्यमा सहभागी हुन युवाहरुलाई उत्साहित बनाउँदै एनआरएनएको अभियानमा जोड्नका लागि यो फुटसल फलदायी हुने विश्वास आफूले लिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए । जापानमा रहेका सबै संघ संस्था व्यावसायिक व्यक्तित्व एनआरएनएका अभियन्ता र सामाजिक अभियन्ताहरुलाई उक्त फुटसल प्रतियोगिताका लागि आफ्नो ठाउँबाट सकेको सहयोग गर्न अध्यक्ष निउरेले आग्रह गरेका छन् ।
एनआरएनए जापानले जापानभर रहेका युवाहरुलाई समेट्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागेकाले यससँग चासो राख्ने सम्पूर्ण जापानवासी नेपाली युवाहरुलाई प्रतियोगितामा भाग लिन र अन्य दाजुभाइ दिदीबहिनीलाई आर्थिकसहितको आवश्यक सहयोग गरिदिनका लागि कार्यक्रम संयोजक रेग्मीले अनुरोध गरेका छन् । 'प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिसकिएको छ । सहभागिताका लागि सम्पूर्णमा अनुरोध गर्दछु,' संयोजक रेग्मीले भने ।
प्रतियोगितालाई मर्यादित र व्यवस्थितरूपमा सञ्चालन गर्ने गरी आवश्यक सम्पूर्ण तयारी भइरहेको र खेल पूर्णत: व्यवस्थित, मर्यादित र शान्तपूर्ण रूपमा सम्पन्न हुने आयोजकको भनाइ छ । प्रतियोगिताको आयोजक एनआरएनए जापान, सहआयोजक एनआरएनए जापान क्षेत्रीय समिति चिवा र सहयोग एनआरएनए जापानका ११ वटै क्षेत्रीय समितिको रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies