लगातार बढिरहेको चिसोले जनजीवन प्रभावित बन्दै गएको छ । राजधानी उपत्यका सहित उच्च हिमाली क्षेत्रमा बढी चिसो बढेको छ । चिसोले साँझविहान बढी कष्टपूर्ण बनिरहेको छ । चिसो बढ्नु प्राकृतिक नियम पनि हो । यसर्थ यो नौलो र यसपटक मात्रै भएको होइन । तराई–मधेशमा बढ्ने चिसोले कमजोर मानिसका निम्ति जीवनरक्षाकै समस्या बन्ने गरेको तथ्यबाट आमनागरिक जानकार नै छन् । चिसोले कठङ्ग्रिएर नागरिकले ज्यान गुमाउनु फगत समाचारको विषय मात्रै होइन । यो त एउटा कल्याणी राज्यका निम्ति लज्जाको विषय पनि हो । अझ २०७२ को संविधानले मुलुकको मार्ग समाजवाद उन्मुख रहेको प्रस्तावनामै लेखेको छ । अतः कुनै समाजवाद उन्मुख समाजमा हरेक नागरिकको जीवनरक्षा राज्य धर्म मात्रै होइन । संविधानको पालना गर्ने हरेक नागरिकको कर्तव्य र दायित्व पनि हो ।
तर नागरिक चिन्तन भने कल्याणी मार्गबाट भड्किएको आशंका समेत गरिन्छ । अझ इतिहासको आलोकबाट हेर्दा कोही खान नपाएर, न्यानो नपाएर र उपचार नपाएर जीवन गुमाउनु क्षम्य कुरा होइन । कल्याणलाई पुण्य प्राप्तिसँग तुलना गर्ने समाज संविधानको मूल भावनाबाट भड्किएको तथ्यले पनि यस्तो आशंका स्वभाविक हो । कमजोरलाई सहयोग गर्ने, भलाइका निम्ति दान दिने र परोपकारलाई कूलधर्म मान्ने समाजमा कोही पनि कुनैपनि कमजोरीबाट ज्यान गुमाउनुको अर्थ विशेष हुन्छ । तर राज्यकै ध्यान कल्याणतिर नजानुको प्रमुख समस्या भने राजनीतिक–आर्थिक रुपमा समाज विभाजित हुनु हो ।
हरेक घटना र समस्यालाई राजनीतिसँग जोड्नु सामान्य जस्तै भइसकेको छ । अझ मुलुककै ध्यान राजनीतिक कलह र सत्ताको तानातानमा बित्नुले पनि आमनागरिकको ध्यान तानिने गरेको छ । अहिले चिसोबाट नागरिकको जीवन रक्षा प्रमुख हो । तर यसैबेला राजनीतिक दलहरु आन्तरिक र बाह्य संघर्षमा छन् । प्रमुख दलका नेताहरू आन्तरिक नेतृत्व हत्याउने खेलमा छन् । नागरिक समाज र अन्य निकाय दलहरुको शक्ति संघर्षमा रोमाञ्चित हुने देखि न्यायालयमा देखिएको संकटमा अल्मलिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा सहित सर्वोच्च अदालतमा देखिएको संकट समाधानको मागमा नागरिक अगुवा आन्दोलित हुन पुगेका छन् । यसले कल्याणी समाजको बद्नामी मात्रै भएको छैन, संविधानको मूल भावना विरुद्ध जनमत निर्माण हुने क्रम पनि बढेको छ । यसले विद्यमान व्यवस्था, संविधान र सामाजिक मान्यता समेत खल्बलिन पुगेको छ । अतः हरेक नागरिकले कल्याणी राज्य, समाज र नागरिक अनुभूति दिलाउनेतर्फ ध्यान पुर्याउन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies