१८ वर्ष अगाडि प्रतिनिधिसभा पुनस्र्थापना भएको दिनलाई लोकतन्त्र दिवस मनाउने गरिएको छ । यद्यपि सरकारले भने गणतन्त्र घोषणा, संविधान दिवस जस्ता उत्सवलाई प्राथमिकतामा राखेको छ । त्यसैले लोकतन्त्र दिवस तुलनात्मक कम उत्सव हुने दिन बन्न पुगेको देखिन्छ । तर कम गौरवको दिन यो दिवस होइन । किनकि तत्कालीन राजा ज्ञानेन्द्र शाहको ‘कू’ विरुद्ध उत्रिएको विशाल जनसागरले प्रतिनिधिसभा पुनस्र्थापना गरेको थियो । प्रतिनिधिसभा पुनस्र्थापनाकै जगमा उभिएर सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी शान्ति प्रक्रियामा आएका थिए भने संविधानसभाको चुनाव र संविधानसभाबाट मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित गरिएको थियो । अर्थात् २४० वर्षे राजतन्त्र अन्त्य गर्न प्रतिनिधिसभा पुनर्स्थापना कोसेढुंगा थियो भने राजाबाट खोसिएको अधिकार फिर्ता लिएका जनप्रतिनिधिहरुले जनतालाई नै देशको मालिक बनाएका थिए ।
त्यसैले लोकतन्त्र पुनस्र्थापना नेपालको इतिहासमा गौरवपूर्ण घटना हो । २००७ सालमा राणाशाही र २०४६ सालमा पञ्चायत अन्त्य गरिएपनि राजतन्त्र विदाइ गर्ने जग भने पुनर्स्थापित प्रतिनिधिसभा नै हो । त्यसैले यो दिनलाई हामी बिर्सन मिल्दैन । सँगै यो दिनको सम्झना गर्नु भनेको जनताले लोकतन्त्रको उपभोग कसरी गरिरहेका छन् भन्ने सिंहावलोकन गर्नु समेत हो । लोकतान्त्रिक मूल्य र मान्यता बमोजिम राज्यका अंगहरुले काम गरिरहेको छ अथवा छैन भन्ने समीक्षा पनि हो । विशेषगरी न्यायमा प्रतिनिधित्वमुलुक शासन प्रणाली, न्यायमा सर्वसाधरणको सहज पहुँज, जनादेशको सम्मान, नेतृत्वमा सुशासन, आवधिक निर्वाचन, संविधानको शासन जस्ता अन्तर्वस्तु कार्यान्वयनप्रति निगरानी जरुरी हुन्छ ।
तर लोकतन्त्र स्थापनाको १८ वर्षे अवधि हेर्दा सन्तोषजनक सूचकहरु देखिदैनन् । यद्यपि २०७२ को संविधानले लोकतान्त्रिक प्रणालीलाई सुनिश्चित गरेको छ । संविधानको प्रस्तावनामै समाजवाद उन्मुख अर्थ–राजनीतिक कार्यक्रमदेखि जनताका आधारभूत अधिकार सुरक्षित गरिएको छ । तर संविधानमाथि बलमिच्याइ बारम्बार हुँदै आएको देखिन्छ । राजनीतिक नेताहरुले जनादेश र संविधानको व्यवस्थाप्रति भन्दा सत्ता स्वार्थलाई प्राथमिकतामा राखेको देखिन्छ । जसरी पनि सत्तामा पुग्ने एकमात्र उद्देश्य नेताहरुले राख्दा लोकतान्त्रिक मूल्य र मान्यता बेवास्तामा परेको छ । कमजोर आर्थिक अवस्थाका नागरिकको जीवन रक्षादेखि शिक्षा र स्वास्थ्यमा राज्यको भूमिका कमजोर रहेको अनेक उदाहरण पाइन्छ । त्यसैले लोकतन्त्र दिवसको गरिमा चिरकालसम्म रहने प्रष्ट हुन्छ । नेतृत्व पंक्ति र नागरिक पंक्तिले लोकतन्त्रको रक्षामा सम्झौतारहित अडान लिनुपर्ने दायित्व समेत यो दिनले सम्झाउँछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies