ललितपुरको गोदावरीमा आइतबार सम्पन्न नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले संगठनात्मक सुद्धिकरणका केही प्रस्ताव छलफलमा ल्याएको छ । एघारौं राष्ट्रिय महाधिवेशन अगाडि हुने विधान महाधिवेशनबाट टुंग्याउनेगरी संगठनात्मक सुधारको प्रस्ताव परिषद् बैठकले पारित गरेको हो । प्रस्ताव अनुसार पार्टीको पदाधिकारी र समितिको आकार घटाउनेबारे कार्यकर्ता तहमा छलफल हुनेछ । अहिलेको पदाधिकारी र समितिको आकार जम्बो हुँदा पार्टी चुस्त हुन नसकेको प्रस्ताव परिषद् बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले प्रस्तुत गरेका थिए । त्यसैले पदाधिकारी संख्या घटाउने, समितिको आकार सानो बनाउनेदेखि पार्टी सदस्य हुन आवश्यक प्रक्रिया पुरा गर्नुपर्ने जस्ता प्रस्तावमाथि छलफल गरिनुपर्ने ज्ञवालीले तर्क गरेका छन् । सँगै आर्थिक अपचलन र सांस्कृतिक रुपान्तरणको समेत खाँचो औल्याइएको छ ।
परिषद् बैठक अगाडि पनि एमालेले संगठन सुद्धिकरणबारे निर्णय गरेको थियो । केही समय अगाडि बसेको केन्द्रीय समिति बैठकले आर्थिक अपचलन र नैतिक प्रश्न उठेका नेताहरुलाई कारबाही गरेर जाने निर्णय गरेको थियो । निर्णय भने कार्यान्वयनमा समस्या देखिएको थियो । तर फेरि परिषद् बैठकले थप अगाडि बढेर संगठनको आकार, संगठित सदस्यको योग्यतादेखि सुशासनको प्रस्ताव पारित गरिएको छ । एमालेले अगाडि बढाएको यो प्रस्ताव अरु दलहरुका निम्ति समेत जरुरी देखिन्छ । किनकि अहिले सबैजसो दलहरु भद्दा छन् । कार्यकर्ताको बोझले सुशासनको एजेण्डा अलपत्र छन् । निर्वाचन आयोगका अनुसार ६० लाख बढी कार्यकर्ता पार्टी कमिटीमा छन् । दलहरुले कार्यकर्ता संख्या बढाउने होडमा जनताको एजेण्डालाई ओझेलमा पार्ने गरेको तथ्य लुकेको छैन ।
त्यसैले ढिलै भएपनि एमालेले ल्याएको प्रस्ताव कार्यान्वयनमा जानु मुलुककै निम्ति हितकर हुनेछ । किनकि मुलुकको मूल एजेण्डा राजनीतिक स्थिरता र सुशासन हो । तर ठूलो संगठन बनाएर चुनाव जित्ने अनि चुनाव जितेर तिनै कार्यकर्ता संरक्षण गर्नुपर्ने चक्रमा दलहरु फसेका छन् । भ्रष्ट, अपराधी र नैतिक रुपमा पतित भएपनि कार्यकर्ता जोगाउने होडमा दलहरु लाग्दा समृद्ध मुलुक निर्माणको सपना अँधुरो रहँदै आएको छ । अझ चुनाव जित्नकै निम्ति आर्थिक अपचलनमा सामेल हुने र शक्तिको प्रदर्शन गरेर चुनाव जित्ने प्रवृत्तिले समग्र राजनीति नै भ्रष्टिकरण भइरहेको छ । आर्थिक र नैतिक रुपमा योग्य कार्यकर्ताको एजेण्डाले चुनाव जित्न नसक्ने भाष्य तयार हुँदै गएको छ । त्यसकारण पनि एमालेले अगाडि बढाएको प्रस्ताव पारित हुँदा र अरु दलले पनि त्यसको सिको गर्दा मुलुकलाई फाइदा पुग्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies