नेपाली कला क्षेत्रको उत्थान र विकासको लागि आफ्नो अतुलनीय योगदान दिँदै आएका कुशल छायाँकार हुन् लालमणि पौडेल । दर्जनको हाराहारीमा म्युजिक भिडियो, टेलिभिजन कार्यक्रम छायांकन गर्न भ्याएका छायाँकार लालमणि पौडेल सिनेमाटोग्राफरको भिडमा आफूलाई छोटै समयमा अब्वल छायाँकारको रुपमा चिनाउन सफल छन् । पौडेल कला क्षेत्र वा चलचित्रलाई मनोरञ्जन र समाज परिवर्तनको संवाहक मान्छन् । उनी कला क्षेत्रप्रति लगाव राख्दै यसै क्षेत्रमा निरन्तर लागि परिरहेका व्यक्ति हुन् । नेपाली चलचित्र र नेपाली मनोरञ्जनात्मक उत्पादन विश्व बजारसम्म पुग्नुपर्ने र यस क्षेत्रका अग्रज हस्तीहरु यो विषयमा अलि बढी सक्रिय हुने हो भने नेपाली चलचित्रले पनि विश्वबजारमा रामै्र स्थान पाउन सक्ने उनको धारणा छ । । नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बिहान ९ बजे प्रशारण हुँदै आएको कार्यक्रम विकास र बहसमा हालसम्म क्रियाशील उनले विशेषगरी आधुनिक कृषि उत्पादन, व्यवसायिक कृषिपालन र वस्तुको विविधीकरण सम्बन्धी थुप्रै वृत्तचित्र छायाँकन गरिसकेका छन् । बुद्धभूमि न.पा.२ गोरुसिंगे, कपिलवस्तुका स्थानीय वासिन्दा पौडेल हाल काठमाडौंलाई कर्मथलो बनाउँदै आइरहेका छन् । युनिटमा सबैसँग मिलेर सहकार्य गर्न रुचाउने लालमणि पौडेलले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
केमा व्यस्त हुनुहुन्छ ?
टेलिभिजन कार्यक्रमको नियमित काम त छँदैछ त्यसको अलवा पनि वृत्तचित्र, म्युजिक भिडियो, एड फिल्महरुको छायांकनमा समय खर्चिरहेको छु ।
काम गर्न रिलमा कि डिजिटलमा सजिलो ?
रिलबाट डिजिटल जमाना आयो, रिलको जमानामा सबै कलाकार प्राविधिकहरु अनुसाशित हुन्थ्यौं, समयको महत्व ज्यादा हुन्थ्यो, हरेक डिपार्टमा काम गर्नेको आफ्नै भ्यालु हुन्थ्यो । अहिले डिजिटलको जमाना छ, हात हातमा डिजिटल क्यामेरा, मोबाइल छ जहाँ जो सुकै निर्देशक बन्न सक्छ, क्यामेराम्यान बन्न सक्छ, अहिले धेरै सजिलो छ ।
अहिले बनिरहेको सिनेमाकोे विषयवस्तु कस्तो लाग्छ ?
पछिल्लो समय निर्माण भएका चलचित्रहरु पनि धेरै राम्रा छन्, मिहेनत गरेर बनाएका छन्, विषयवस्तु जस्तो उठाए पनि त्यस्को प्रस्तुतीकरण कस्तो छ भन्ने चासो हुन्छ हामी मेकरलाई । सबैको विषयवस्तु बुझ्नु भन्दा पनि कुन टिमबाट कस्तो सिनेमा निर्माण हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ त्यति नै हो ।
कोरोना कहरपछि अब डेंगुको प्रकोपले सिनेमा क्षेत्र धरासायी बनेको छ सुधार्न के गर्नुपर्ला ?
कोरोना कहरपछि सिनेमा क्षेत्र विश्वबजारमा नै धरासायी भएकोले सुधार्न विकल्प खोज्नु पर्छ । विश्वबजारका सिनेमाहरुलाई ओटीटी प्लेटफर्मले केही राहत दिएको अवस्था छ र त्यहाँ त्यस्तै किसिमको ओटीटी प्लेटफर्मको लागि भनेरै सिनेमा निर्माण हुन थालेका छन् । नेपालमा २,४ वटा ओटीटी प्लेटफर्म नआएका हैनन्, तर उनीहरु टिक्न सकेनन् । कारण के भने चलचित्र पाइरेसी हुने, पाइरेसी गर्ने पत्ता लागे पनि क्षतीपूर्ति उठाउन नसकिने, तुरुन्तै बजारमा फ्रिमै चलचित्र हात हातमा पुगेपछि निर्माताको लगानी, ओटीटी वालाको लगानी सबै डुबेको अवस्था छ । निर्माता बाध्य भएर समयभन्दा अगावै युट्युवमा प्रदर्शन गर्न पुग्छन् । लगानी गुमाउँछन । यसको राम्रो विकल्प भनेको नेपाल सरकारको आधिकारिक संस्था चलचित्र विकास बोर्डले नेपाली चलचीत्र बिक्री वितरण गर्ने व्यवस्था आफैंले मिलाउनु पर्छ । नेपाल सरकारको अन्य निकायले दाल चामल नुन तेल बेचे जस्तै चलचित्र विकास बोर्डको आफ्नै ओटीटी प्लेटफर्ममार्फत सिनेमा सरकारी तवरबाटै बिक्री वितरण हुने हो भने चाहिँ चलचित्र निर्माताहरुलाई पक्कै राहत मिल्छ ।
विषयवस्तुको प्रस्तुतीकरणमा विशिष्टता ल्याउन के कुराको आवश्यकता पर्छ ?
विषयवस्तुको प्रस्तुतीकरणमा विशिष्टता ल्याउन टेक्नोलोजीको पनि विकास गर्नु पर्छ, कस्तो विषयमा काम गर्ने हो त्यही अनुसारको टेक्नोलोजीको छनोट गर्न सक्नुपर्छ । कथाले मागेको अनुसार सुहाउँदो कलाकार, छायांकन स्थलको छनोट र पूर्णज्ञान भएका प्राविधिकहरुको छनोट गर्नु पर्छ । हतारिएर होइन संयम भएर धेरै छलफल गर्दै समय लियर काम गर्दा नतिजा प्रस्तुतीकरणमा विशिष्टता ल्याउन सकिन्छ ।
ग्ल्यामर क्षेत्र भएर हो एकआपसमा विवाद चलिरहने ?
ग्लामरको क्षेत्रमा मात्रै होइन विवाद हरेक क्षेत्रमा छ, नेपाल हो नि यो । तर ग्ल्यामर क्षेत्रको विवाद चाँडै मिडियामा आउने हुनाले धेरै देखिएको हो । मिडियामा आइरहने मान्छेलाई धेरैले चिनेका हुन्छन् । सानो विवाद भयो भने पनि चासो धेरै हुन्छ अनि विवाद पनि ठूलै देखिन्छ, त्यस्तै भएको होला ।
आर्थिकरुपले आफूले रोजेको पेशा कस्तो छ ?
सबैभन्दा ठुलो मन हो, सन्तुष्ट हुने कि नहुने भन्ने । आर्थिकरुपले आफूले रोजेको पेशा धेरै उत्कृष्ट छ, म खुसी छु ।
पूर्णरुपले व्यावसायिक सिनेमा भनेको कस्तो हो ?
पूर्णरुपले व्यावसायिक सिनेमा भनेको कथाबाट नै शुरु हुन्छ । प्रोफेशनल लेखकले लेखेपछि राम्रो निर्देशक जसलाई सिनेमाको ज्ञान होस् । उहाँमार्फत कथाले मागेको कथामा सुहाउँदो कलाकार राखेर दक्ष प्राविधिकको साथ मिलेर निर्माण गरेको चलचित्र जहाँ दर्शकले आफूलाई चलचित्रमा महसुस गर्न सके भने त्यो व्यावसायीक सफल चलचित्र बन्न सक्छ, जहाँ द्वन्द्व, नृत्य, रोनाधोना, हासो खुसी समेटिएको कथावस्तु हुन्छ ।
छायाँकारको भिडमा आफूलाई कहाँ पाउनु हुन्छ ?
छायाँकारको भिडमा आफूले आफैंलाई यहाँ छु भन्नु भन्दा पनि कामको मुल्यांकनबाट तय हुने कुरा हो जस्तो लाग्छ ।
चलचित्रले समाजमा के सन्देश दिंँदैछ भन्ने कुराले महत्व राख्छ कि राख्दैन ?
चलचित्रले समाजमा के सन्देश दिँदैछ भन्ने कुराको महत्व ठुलो हुन्छ । एउटा कितावको अध्ययन गर्न एक वर्ष लाग्न सक्छ भने एउटा सिनेमाले दुई घण्टा मै सम्पूर्ण जानकारी दिन सक्छ । चलचित्रले दिने सन्देशको महत्व समाजमा धेरै हुन्छ, त्यसैले गहनअध्ययन गरेर चलचित्र निर्माण गर्दा समाजलाई राम्रो सन्देश दिन सकिन्छ । नकारात्मक टिकाटिप्पणीबाट बच्न सकिन्छ ।
बलिउड लगायतका सिनेमाहरु नेपालमा सजिलै प्रर्दशन हुने, तर नेपाली सिनेमा विदेश जान नसक्नुको कारण ?
विदेशी सिनेमाहरु नेपालमा सजिलै प्रदर्शन हुने, नेपाली सिनेमा चाहिँ विदेशमा प्रदर्शन हुन नसक्नुमा धेरै वटा क्राइटेरियाहरु छन् । जुन नेपाली सिनेमाले मीट गर्न सकेको छैन । मुख्य कुरा त टेक्नोलोजी नै हो । छायांकनमा चाहिने सम्पूर्ण उपकरण उपलब्ध नहुनु, उनीहरुको क्राइटेरिया भित्र पर्ने लेन्स क्यामेरा, अडियोको लागि चाहिने उपकरण भएर पनि क्वालिटी मीट गर्न नसक्नु, हामीसँग त्यो लेवलको दक्ष प्राविधिक नहुनु र त्यो लेवलसम्म पुगेर सिनेमा प्रदर्शन गर्ने हैसियत राखेर सिनेमा नै निर्माण नहुनु पनि कारण हो ।
सिनेमा नबुझेकाहरुको प्रवेशले जस्तो पायो त्यस्तो चलचित्र बनाउँदा नेपाली सिनेमाको स्तर खस्केको भन्छन् नि ?
सिनेमा नबुजेकाहरुको प्रवेश जस्तो पायो त्यस्तै सिनेमा नीर्माण गरेर प्रदर्शन गर्दा सिनेमा क्षेत्रमा नराम्रो असर पर्नु, सिनेमाको स्तर खस्किनु स्वभाविक हो । त्यस्तो विषयमा चाहिँ सम्बन्धित निकायले चासो दिने हो र चलचित्र विकास बोर्डले अनुगमन गर्नुपर्छ ।
अहिलेको अवस्थामा सिनेकर्मीले सोच्नु पर्ने मुख्य कुरा चाहिँ के हुन सक्छ ?
अहिले सिनेकर्मीले सोच्नु पर्ने मुख्य कुरा कसरी कोभिड र डेंगुबाट सुरक्षित हुने र चलचित्र प्रदर्शनको विकल्पहरु के के हुन सक्छन् त्यस कुरामा कार्यक्रम आयोजना गर्ने तथा सबैलाई उस्तै पीडा छ भनेर बुझ्ने, एक अर्कालाई सकेको सहयोग गर्ने धेरै चिन्ता नलिने । समय हो बदलिन्छ भन्ने सोचेर अगाडि बढ्न सक्नु पर्छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मलाई यो स्थानसम्म पुग्न साथ र सहयोग गर्नुहुने सबैप्रति नमन् । यो अवसरका लागि मध्यान्ह दैनिक परिवारलाई धन्यवाद । विजय दशमी २०७९ को सबैमा शुभकामना ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies