–नारायण गाउँले
मंसिर ४ मा भएको निर्वाचनको अन्तिम परिणाम आइरहेको छ । अन्तिम परिणाम आउँदै गर्दा परिणामप्रति विभिन्न कोणबाट बहस भएका छन् । विशेषगरी महिला, दलित, पिछडिएको समूदायलगायतको प्रतिनिधित्व न्यायसंगत नभएको देखिएको छ । आधा हिस्सा ओगट्ने महिलाको प्रतिनिधित्व निकै दयनीय छ । ५० जनाभन्दा बढी सांसद निर्वाचित हुँदा ठूलो दल नेपाली कांग्रेसबाट जम्मा एक जना मात्रै महिला निर्वाचित भइन् । दलित समुदायबाट त शून्य नै भयो । कांग्रेस मात्रै होइन, अन्य सबै दलको अवस्था उस्तै–उस्तै छ । केपी शर्मा ओली होऊन् कि शेरबहादुर देउवा, २५ जनाको मन्त्रिमण्डलमा जम्मा दुई जना महिला मन्त्री भएको हामीले देख्यौं नै ।
कानुनतः ३३ प्रतिशत महिला पुर्याउनै पर्ने हुनाले मुख्य दलले समानुपातिक सिट जति सबै महिलालाई दिनुपर्ने अवस्था देखिन्छ । यसले गर्दा दलितदेखि थारू समुदायसम्मको पुरुष प्रतिनिधित्व एकदम कम हुन जाने देखिन्छ । यस्तोमा रेशम चौधरीको पार्टीलाई भोट नदिएर थारूहरूले कसलाई देऊन् ? क्षेत्रीय र जातीय दल जन्माएको तिनले होइन, हामीले हो । हामी मात्रै बाठा र हामी मात्रै योग्य भन्दै जम्मैँ आफैले राख्न खोज्दा हो । सद्भाव चाहिँ भइरहोस् तर, प्रतिनिनिधित्व चाहिँ हामीले मात्रै गरिरहौँ भन्ने सोच छ हाम्रो । धन्न समानुपातिकको व्यवस्था छ र त्यसबाट कम्तिमा महिला प्रतिनिधित्व सम्मानजनक हुने देखिन्छ । त्यो पनि प्रत्यक्षमा शून्य बराबर भएकाले ३३ प्रतिशत पुग्ने देखिन्न । कानुनमैं नलेखिएको भए र सजिलै फेर्न मिल्ने भए त्यहाँ पनि पुरुष मात्रै हुने थिए ।
माओवादी द्वन्द्वले दिएको घाउ नपुरिने खालको छ । देशले व्यहोरेको आर्थिक–भौतिक र मानवीय क्षति अवर्णनीय छ तर, यसले सीमान्तीकृत समुदायमा जुन स्तरको चेतना र आत्मविश्वास भरेको थियो, जसरी मूलधारमा ल्याएको थियो र बोल्न सक्ने बनाएको थियो त्यही काम हामीले पहिल्यै गरेको भए शायद त्यो द्वन्द्वमा एउटा मान्छे पनि मिसिने थिएन । तपाईं हामीले भन्दै आएजस्तै धेरै कुखुरा चोर थिए होलान्, तर ‘मुक्ति’ भन्ने एउटा शब्दकै लागि होमिने पनि पक्कै थिए । संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था राख्न कुनै बेला माओवादी भन्ने दल नेपाली कांग्रेस र एमालेविरुद्ध एक्लै लडेको थियो । आज त्यो व्यवस्था नभएको भए संसदमा १० जना महिला पनि नहुने रहेछन् । यो त आँखै अगाडिको यथार्थ हो नि !
हो, त्यो समानुपातिक आरक्षणबाट नेताकै छोराछोरी र बुहारी धेरै पुगे होलान्, तर आत्मा साक्षी राखेर हेर्नुभयो भने सबै बुहारी मात्रै त्यहाँ पुगेका छैनन् । यो व्यवस्था नभएको भए सडकमैं सीमित हुनसक्ने कैयौँ व्यक्ति तपाईंले सजिलै भेट्न सक्नुहुन्छ । आफ्नो आस्था, विचार र आदर्शको बचाउमा गरिने रङ्गीन तर्कको कुरो अर्कै भयो । यो माओवादी दलको प्रसंशा होइन । त्यो दल आज आन्दोलनमा छैन, व्यापारमा छ । उसका भूमिका हेर्दा, लगानीको चौबर उठाउन खोज्ने कालो व्यापारी बनेको छ । तर इतिहासलाई निर्मम र निरपेक्ष बनेर हेर्नु र सिक्नु जरूरी छ । नत्र त हाम्रो बानी एकथरी रङ्ग मात्रै देख्ने बनेको छ । कि संसारकै राम्रो, कि संसारकै खत्तम !
निष्कर्षमाः तत्कालिन समय माओवादीले जुन ढंगबाट समानुुपातिक र समावेशी प्रतिनिधित्वको मुद्दा उठाएको थियो, आज त्यो वास्तविकतामा कार्यान्वयन भएको भए विषय बेग्लै हुन्थ्यो । नेताका श्रीमति, छोरी, बुहारी होइन, महिलाको प्रतिनिधित्व गर्न सक्ने नेतृत्वको खोजी गर्नुपर्छ । नीति नै बनाएर नाता र निकटता होइन बौद्धिकता र क्षमताका आधारमा समेट्नुपर्छ । नत्र समानुुपातिक वा समावेशिताको नारा एकातिर र व्यवहार अर्कोतिर हुने हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies