बाँके : बाँकेको राप्ती सोनारी गाउँपालिकामा आजदेखि थारु राष्ट्रिय साहित्य सम्मेलन शुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भाषा संस्कृतिको जगेर्ना गर्न साहित्य सम्मेलनले ठूलो भूमिका खेल्नेछ भने । मन्त्री मोदीले सरकारले सबै जातजातिको भाषा र संस्कृति संरक्षणमा चासो दिएको उल्लेख गरे ।
गाउँपालिकाको फत्तेपुरमा तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा थारु साहित्यको समकालीन अवस्थाबारे अन्तरसम्वाद, सिर्जनात्मक लेखनको खोजी, थारु मानक भाषा लेखन, संस्कृतिको वेषभूषावारे अन्तर्क्रिया गरी इतिहास अभिलेख गरिने थारु लेखक सङ्घका केन्द्रीय अध्यक्ष डा. कृष्णराज सर्वहारीले जानकारी दिए ।
सम्मेलनमा थारु तथा गैरथारु साहित्यकारबीच अनुभव आदानप्रदान गर्ने, प्रकाशित कृतिको विमोचन र बिक्री तथा प्रवद्र्धन गरिने छ । थारु लेखक सङ्घको आयोजना र स्थानीय थारु गोचाली समाजको व्यवस्थापनमा हुने सम्मेलनमा साहित्य लेखनको प्रशिक्षण, थारुसम्बन्धी गीत, लेख, पुस्तक, विकासमा बरघर, पश्चिम थारुहटमा राजनीतिक फिलिङ्गो, होमस्टेमा सो समुदाय उद्यमशीलता सम्भाव्यता, आख्यानमा थारु जीवन, बाँकेको सो समुदायको साहित्यको अवस्था तथा युवा, सिकलसेल एनिमियाको कहरले जनस्वास्थ्यमा प्रतिकूल असर जस्ता थुप्रै जिल्ला तथा स्थानीयस्तरका थारुका मुद्दालाई लिएर बहस तथा छलफल गरिने डा. सर्वहारीले बताए ।
सम्मेलनमा झापादेखि कञ्चनपुरका थारु साहित्यकारको सहभागिता रहेको छ । थारु लेखक सङ्घ नेपालले प्रत्येक वर्ष फरकफरक जिल्लामा राष्ट्रिय सम्मेलन गर्दै आएको सङ्घका केन्द्रीय सदस्य सोम डेमनडौराले बताए । थारु भाषाको साहित्यको महत्व बढाउन र आगामी दिनमा विद्यालयस्तरमा पाठ्यपुस्तक तयार गरी पढाइ लागू गर्न सम्मेलनको महत्व रहने आयोजकले जनाएको छ । सम्मेलनको अन्तिम दिन सो भाषामा कलम चलाउने लेखकलाई सम्मान गरिनुका साथै बाँके घोषणापत्र जारी गरिने केन्द्रीय सदस्य डेमनडौराले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies