एजेन्सी : टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान एएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण दुई हजारभन्दा बढीले ज्यान गुमाएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो । उक्त भूकम्पका कारण टर्की र सिरियामा गरी दुई हजारभन्दा बढीको मृत्यु भएको हो ।
यस्तै उक्त भूकम्प गएको केही घण्टापछि सोही क्षेत्रमा दोस्रो शक्तिशाली भूकम्प गएको थियो । यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको शक्ति ७.५ म्याग्निट्युड रहेको मापन गरिएको थियो । भूकम्पपछि टर्की सरकारले देशमा संकटकाल घोषणा गरेको छ ।
सिरियामा जारी गृहयुद्ध र अन्य द्वन्द्वका कारण लाखौं मानिसले भरिएको यस क्षेत्रका प्रमुख शहरहरूको पूरै क्षेत्रलाई कम्पन गर्ने गरी करिब एक शताब्दीयताकै सबैभन्दा शक्तिशाली भूकम्प ग्एको हो । सिरियाको राष्ट्रिय भूकम्प केन्द्रका प्रमुख राएद अहमदले सरकारी रेडियोसँग भने, ‘केन्द्रको स्थापनापछि रेकर्ड गरिएको यो सबैभन्दा ठूलो भूकम्प हो ।’
टर्कीका उपराष्ट्रपति फुआत ओक्टेले सोमबार टर्कीमा कम्तीमा १ हजार ३ सय भन्दा बढीको मृत्यु तथा पाँच हजार भन्दा बढी व्यक्ति घाइते भएको र केही प्रमुख शहरमा खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । यस्तै सिरियामा भूकम्पमा परी ८ सय भन्दा बढीको मृत्यु भएको छ ।
मुख्य सडकहरू हिउँले ढाक्नेगरी आएको हिउँदे हिमआँधीका कारण उद्धारमा बाधा पुगेको टर्कीका उद्धारकर्मीहरूले बताएका छन् । टर्कीका मानिसहरू हिउँमा पाइजामा लगाएर उभिएर उद्धारकर्ताहरूले क्षतिग्रस्त घरहरूको भग्नावशेष खनेको टेलिभिजनद्वारा प्रशारित भिडियो तथा तस्वीरहरूमा देखाइएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार टर्की र सिरियाको सीमा क्षेत्रमा रहेको गाजियान्टेप शहर नजिकै भूकम्प गएको थियो । टर्कीको एएफएडी आपतकालीन सेवा केन्द्रले ७.८ म्याग्निच्यूडको पहिलो भूकम्प गएको र त्यसपछि ४० भन्दा बढी पराकम्प गएको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies