काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आफ्नो नेतृत्वमा राख्दा इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रोजगारी प्रक्रिया प्रभावित भएको छ । इजरायलले आफ्नो मुलुकका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा नेपालबाट १ हजार १ सय ४७ जना कामदार छनोट गरी पटक–पटक गरेर उनीहरूलाई लगिसकेको छ ।
इजरायलले तत्काल थप पाँच सय नेपाली कामदार लैजान चाहेको भएपनि श्रम मन्त्रालयबाट मन्त्रीस्तरीय निर्णय गरी अगाडि बढाउने काममा हाल उक्त मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका प्रधानमन्त्री प्रचण्डले समय दिन नसक्दा प्रक्रिया अघि बढ्न नसकेको मन्त्रालय स्रोतले जानकारी दियो ।
पछिल्लो अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भागमा परेको श्रम मन्त्रालय तत्कालीन मन्त्री डोलप्रसाद अर्यालले सरकारमा सहभागी पार्टीका सबै मन्त्रीसहित गत माघ २२ गते राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले अन्य १६ मन्त्रालयसँगै श्रम मन्त्रालय पनि आफ्नो नेतृत्वमा राखेका छन् ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको नयाँ प्रक्रिया अघि नबढ्दा उक्त मुलुक जान तयारी गरेर बसेकाहरूसमेत हैरानीमा परेका छन् । उक्त मुलुकको रोजगारीमा नेपालीको विशेष आकर्षण रहेको छ । इजरायल जाने प्रतीक्षामा रहेकी काभ्रेकी निमा लामाले भनिन्, ‘इजरायल जाने सहायक कामदारको मासिक तलब १ हजार ६ सय अमेरिकी डलर हुने र कामदारको शुरू करार अवधि १ वर्षको भएपनि ५ वर्षसम्म थप गर्न पाउने सुनेपछि हिब्रु भाषा सिकेर बसेको नै छ महिना बढी भयो । तर फारम भर्न पाएकी छैन ।’
साविकको एसएलसी वा हालको एसईई उत्तीर्ण गरी अ.न.मी वा सी.एम.ए.सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा र सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेकाले पनि इजरायल जान आवेदन दिन पाउने व्यवस्था छ ।
मन्त्री नहुँदा इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रोजगारी प्रक्रिया मात्रै नभई इजरायल सरकारले कृषि कार्यका लागि १ हजार नेपाली कामदार लैजान गरेकोे निर्णय कार्यान्वयनमा पनि आवश्यक तीव्रता नआएको बताइएको छ । तत्कालीन मन्त्री शेरबहादुर कुँवरको कार्यकालमा नेपालका लागि इजरायली राजदूत खनान गोदेरले इजरायल सरकारले तत्कालै कृषि कार्यका लागि १ हजार जना नेपालबाट लैजान चाहेको बताएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies