एक दिवसीय क्रिकेटमा नेपाल विश्वकप छनोटमा पुगेको छ । अब नेपालले जिम्बाबेमा हुने छनोट खेल खेल्नेछ र त्यहाँ पनि आवश्यक जित निकाल्न सफल भए विश्वकप खेल्नेछ । यो सफलता निकाल्ने क्रममा बिहीबार घरेलु मैदान कीर्तिपुरमा नेपालले यूएईलाई नौ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ३११ रनको विशाल लक्ष्य दिएको थियो । युएईका ब्याट्सम्यानले अन्तिममा बिस्फोट ब्याटिङ गर्दा नेपालले पाएको विशाल लक्ष्य भेटाउन मुस्किल जस्तै देखिएको थियो । किनकि एक दिवसीय क्रिकेटमा त्यति ठूलो लक्ष्य नेपालले अहिलेसम्म भेटाएको छैन । तर जवाफी ब्याटिङमा नेपालका ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरे । शुरुवातमा लगातार विकेट गुमेपनि सम्हालिएर ४४ ओभरमा ६ विकेट गुमाउँदै २६९ रन बनायो । यो अवस्था भनेको खेलमा नेपाल हाबी हुने अवस्था बन्दै थियो । तर साँझ बढ्दै गएको र मौसममा आएको समस्याले लाइट नपुगेको भन्दै खेल स्थगित भयो ।
खेल रोकिनुको पूरापुर लाभ नेपालले उठायो । डीएलएस विधि अनुसार, नेपाल ९ रनले खेल जित्दै जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्यो । यो खुशियाली मनाउन हजारौं दर्शक कीर्तिपुर मैदान पुगेका थिए । खेल हेर्न भनेरै राजधानी बाहिरका दर्शक समेत काठमाडौं आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफै मैदानमा पुगेर खेलाडीहरुलाई हौसला दिएका थिए । खेलाडीहरुले पनि दर्शक र शुभेच्छुकहरुलाई निराश बनाएनन् । यो सफलता दिलाउन नेपाली क्रिकेट टीमले बितेको एक महिनामा एकपछि अर्को अविश्वासनीय जित निकाल्यो । अन्तिम १२ मध्ये ११ खेल जित्नु सामान्य सफलता होइन ।
अझ त्यसअघिका नेपालको नतिजा, क्रिकेट टीममा आएको समस्या अनि प्रतिस्पर्धीहरु तुलनात्मक बलिया हुनुले नेपालले आफ्नो एक दिवसीय मान्यता जोगाउनै नसक्ने चिन्ता थियो । १२ मध्ये कम्तिमा ९ खेल जित्दा मात्रै नेपालको एक दिवसीय मान्यता जोगिने थियो । तर सनसनीपूर्ण खेल खेलेर नेपालले नामिबिया, अमेरिका र युएईलाई पछि पार्दै विश्वकप छनोटमै स्थान बनायो । यो सफलतापछि नेपाली दर्शक हौसिएका छन् भने खेलाडी, प्रशिक्षक र टीम व्यवस्थापकको प्रशंसा भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड मात्रै नभएर अरु राजनीतिक नेताहरुले पनि शुभेच्छा प्रकट गरेका थिए भने जितेपछि बधाई दिएका छन् । तर यतिमै नेतृत्वको दायित्व सकिदैन । बरु अहिलेजस्तो तीन महिनासम्म खेलकुद मन्त्री नै नियुक्त नगर्ने, आवश्यक भौतिक पूर्वाधार तयार नपार्ने र क्रिकेट टीममै राजनीति गर्ने प्रवृत्ति परित्याग गर्नुपर्ने दबाव बढ्छ । थप अगाडि सफलता निकाल्न नेतृत्वले खुशीले मिलेको दंगसँगै जिम्मेवारी भूमिका निर्वाह गर्न आवश्यक छ । नेपाली क्रिकेट टीमलाई अविश्वासनीय जितका निम्ति हार्दिक बधाई !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies