काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाले आफ्नो मुलुकमा कामदार आपूर्ति गर्ने श्रोत मुलुकलाई कोटा प्रणाली निर्धारण गर्दा नेपालको अहित हुनसक्ने भन्दै सचेत भई कूटनीतिक पहल गर्न माग गरेको छ ।
संघको अन्तर्राष्ट्रिय सम्वन्य समिति संयोजकको जिम्मेवारी लिएका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार)सहितको नेपाली व्यवसायीको एक प्रतिनिधिमण्डलले मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेट गरी उक्त माग गरेको हो । भेटमा संघ प्रतिनिधिमण्डलले मलेसियाको समग्र रोजगारी, नेपाली कामदारका सेवा, सुरक्षा र साझा चासोका विषयलाई सहजीकरण गर्न आग्रह गरेको संघका महासचिव मेघनाथ भुर्तेलले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
संघले मागपत्र प्रमाणीकरण गर्दा अनलाइन प्रणालीलाई विस्तार गर्नुपर्ने, अनलाइन प्रणाली विस्तार नहुँदासम्म सेयर लगत वा वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)ले सञ्चालन भनी प्रमाणित गरेका म्यानपावर कम्पनीका सन्चालकले मागपत्र सब्मिसन गर्न पाउने व्यवस्था गर्न माग गरेको छ । प्रतिनिधिमण्डलले हप्तामा पाँच दिन मागपत्र प्रमाणीकरण गर्ने काउन्टर खुला राख्नुपर्ने माग पनि गरेको छ ।
यस्तै संघ प्रतिनिधिमण्डलले मलेसियाको श्रमिक ऐनले तोकेको आधारभूत तलब १५ सय रिँगेट बाहेक अन्य सेवा सुविधा मलेसियाको श्रम कानूनअनुसार हुने विषय भएकोले त्यसलाई दुईअर्थ नलाग्ने गरी पारदर्शीरूपमा सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।
त्यसैगरी संगठित क्षेत्रमा महिला कामदारलाई खुला गरिनुपर्ने, मेडिकल अनफिट कामदारको संख्या अस्वभाविकरूपमा बढेकाले मेडिकल गर्ने संस्थाको गुणस्तरमा नै प्रश्न खडा भएकाले सम्बन्धित निकायलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्ने विषय संघले उठाएको छ ।
नेपाली म्यानपावर कम्पनी र मलेसियास्थित रोजगारदातासँग सिधा सम्बन्ध स्थापित गर्ने उद्देश्य राखेर संघले मलेसियामा रोजगारसम्बन्धी सम्मेलन ‘जब फेयर’ गर्नु आवश्यक रहेको उल्लेख गर्दै ब्रुनाईमा रहेका नेपाली कामदारको राहदानी नवीकरण अत्यन्त खर्चिलो रहेकाले त्यसका लागि वैकल्पिक उपाय खोजिनुपर्ने मागसमेत गरेको छ ।
भेटघाटमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका निवर्तमान अध्यक्ष नरेन्द्रप्रसाद ढकाल र संघमा मलेसियाको वैदेशिक रोजगारका विषयमा उत्पन्न समस्या समाधानका संयोजक अनिल राई सहभागी रहेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies