बितेको तीन चुनावदेखि तेस्रो शक्ति भन्दा माथि उठ्न नसकेको नेकपा माओवादी केन्द्र यसपटक सत्ता राजनीतिको मुख्य दल बन्न पुगेको छ । यसअघि पनि तेस्रो शक्तिका हैसियतमा माओवादी केन्द्र सरकार निर्माणको निर्णायक शक्ति नै थियो । तर नेपाली कांग्रेस र नेकपा एमालेको सहयोगी शक्ति बन्ने गरेको थियो । २०७० को चुनावपछि तेस्रो शक्तिकै हैसियतमा प्रचण्ड एकपटक प्रधानमन्त्री बने । ०७४ को चुनावपछि पनि आलोपालोमा प्रधानमन्त्री बन्न चाहेका थिए । तर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विग्रहका कारणले प्रचण्ड प्रधानमन्त्री हुन सकेनन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोपालो प्रधानमन्त्रीको सहमति पालना नगरेकाले प्रचण्ड नभएर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । तर यसपटक भने प्रचण्डले कसैलाई पनि प्रधानमन्त्री स्वीकारेनन् । कांग्रेससँग सहकार्यमा चुनाव जितेका प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री भए । तर एमालेसँग दुई महिना पनि बसेनन् ।
राष्ट्रपतिको चुनावमा गठबन्धन बदलेर फेरि कांग्रेससँगै फर्किएका छन् । २७५ मध्ये ३२ सिट मात्रै जितेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन बदल्दै गर्दा आफूलाई यसअघिका भन्दा शक्तिशाली महशुस गरेको अनुभूति दिलाउन खोजिरहेका छन् । संसदीय समीकरणको लाभ उठाएर प्रचण्ड २०६५ र २०७३ मा प्रधानमन्त्री बन्दा भन्दा यसपटक पार्टीका तर्फमा धेरै निर्णय गराएर शक्तिशाली बनेको देखाउन खोजेको पनि लुक्दैन । त्यसको बलियो उदाहरण हो, १ फागुनमा जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिने निर्णय । प्रधानमन्त्री प्रचण्ड यतिमै सीमित भएका छैनन् । १० पुसमा प्रधानमन्त्री बन्न साथ दिएको एमाले, राप्रपा र स्वावपा सरकारबाट बाहिरिएको मौका पारेर प्रचण्डले माओवादी विद्रोहमा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय लिएका छन् ।
१५ फागुनको निर्णयअनुसार, राजपत्रमा माओवादीले शहीद मान्दै आएकाहरुलाई राष्ट्रिय शहीद घोषणा गरिएको सूचना प्रकाशन भएको छ । जनयुद्ध दिवसको सार्वजनिक विदा दिने र जनयुद्धमा ज्यान गुमाउनेहरुलाई राष्ट्रिय शहीद घोषणा प्रचण्ड नेतृत्वको सरकारले गर्नु उनको पार्टीका निम्ति चानचुने सफलता होइन । तर माओवादी विद्रोहको उद्देश्य यति मात्रै चाहिँ होइन । नागरिकले अनुभूति गर्नेगरी सुशासनको अनुभूति र जीवनपद्धती परिवर्तनको आभास दिलाउनु सरकार र प्रधानमन्त्री प्रचण्डको दायित्व हो । त्यो संविधानमा आधारित भएर गर्नुपर्नेछ । तर प्रधानमन्त्री प्रचण्डले एकपछि अर्को घोषणा र निर्देशनमा रमाइरहेका छन् । पक्कैपनि घोषणा र निर्देशनको अर्थ हुन्छ, तर त्यो सम्पूर्णता होइन । व्यवस्था, संविधान र स्वयम् माओवादीको शक्ति बृद्धिका निम्ति प्रचण्डले नागरिकको जीवन पद्धति परिवर्तन गराउन ध्यान दिन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies