पूर्व राजा ज्ञानेन्द्र शाहको गतिविधिप्रति फेरि राजनीतिक दलका शीर्ष नेताहरुले चिन्ता र चासोयुक्त अभिव्यक्ति दिन थालेका छन् । पूर्वराजा ज्ञानेन्द्रको गतिविधि पनि रोकिएको छैन । बुधबार फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुसँग झापामा भेटवार्ता गरेको तस्वीर सार्वजनिक भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायत नेताहरुसँग पूर्वराजा शाहले लिएको संयुक्त तस्वीर आमसञ्चार माध्यमहरुमा देखिएको छ । यसअघि झापामै पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल र छोरा पारससहित एक सार्वजनिक कार्यक्रममा देखिएका थिए । सार्वजनिक मन्तव्य नदिएपनि यो उपस्थितिलाई चासोका साथ हेरिए । यसको केही दिनभित्रै राजधानी उपत्यकामै राजावादीको प्रदर्शन भयो । त्यो प्रदर्शनमा राजतन्त्र फिर्ताको नारा लागेको थियो ।
सार्वजनिक समारोहमा ज्ञानेन्द्र शाह उपस्थिति हुनु, नेताहरुसँग भेटवार्ता गर्नु र उनको पक्षमा नारा लाग्न थालेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नियन्त्रणमा लिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । अरु नेताहरुले पनि यस्तो गतिविधिप्रति चिन्ता जनाएका थिए । सत्तारुढ नेताहरुले संयुक्त बक्तव्यमार्फत चासो र आपत्ति जनाएका थिए । सार्वजनिक मञ्चमा मात्रै नभएर प्रतिनिधिसभामै राजतन्त्रबारे आवाज बाक्लिएको छ । गत चुनावबाट राप्रपाले अप्रत्यासित मत पाएर आकार बढाएपछि तिनका सांसदहरुले संसदमा चर्को कुरा राखिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाका नेताहरु सहभागी हुँदा सिंहदरबारभित्रै पृथ्वीनारायण शाहको तस्वीर राखिएको थियो । जुन तस्वीर १५ वर्ष अगाडि गणतन्त्र स्थापनासँगै हटाइएको थियो । तर राप्रपाका नेताहरु मन्त्री हुँदा फेरि सिंहदरबारका भित्ताहरुमा पृथ्वीनारायण शाहको तस्वीर राखियो ।
राप्रपाका मन्त्रीहरुले हिन्दू पाठ गराएर पदभार लिएका थिए । अर्थात् पूर्वराजा ज्ञानेन्द्रको गतिविधि सार्वजनिक मञ्च, संसद हुँदै सरकारमा पुगेको छ । यद्यपि राप्रपा सरकारबाट हटिसकेकाले मन्त्रिपरिषद्मा त्यसबारे छलफल हुने छैन । तर बाहिरको आवाजबाट गणतन्त्र पक्षधर नेताहरु तर्सिन पुगेको देखिन्छ । कतिपयले चेतावनी युक्त अभिव्यक्ति समेत दिइरहेका छन् । जबकी गणतान्त्रिक लोकतन्त्रले राजाकै पक्षमा वकालत गर्ने समेत छुट दिएको छ । कुनैपनि व्यवस्था र आस्था राख्न नागरिकलाई स्वतन्त्र दिइएकाले राप्रपा र एउटा नागरिकको हैसियतमा ज्ञानेन्द्र शाहले राजतन्त्र पुनस्र्थापनाको आवाज उठाउन सक्छन् । बरु चिन्ताको विषय भनेको राजनीतिक परिवर्तनको पक्षधर भन्ने नेताहरुले आफूलाई सुधार गर्न नसक्नु हो । ठूला दलहरुले देखाएको अघिल्लो कार्यकालको गतिविधि र फेरि गत चुनावबाट शुरु भएको राजनीतिले नागरिकमा चरम बितृष्णा सिर्जना गरेको देखिन्छ । त्यसैको असर पूर्वराजातिर गतिविधि बढेको प्रष्ट छ । तसर्थ भत्र्सना नभएर अहिलेका दलहरुले यो व्यवस्था जोगाउने हो भने आफूमा सुधारको आवश्यकता छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies