काठमाडौं : आफ्नो सिधै गृहमन्त्रीसंग संवन्ध र पहुँच भएको बताउने अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै प्रक्रिया पूरा गरी वैदेशिक रोजगारका लागि जोर्डन जान लागेका कामदार फर्काउने अनुचित निर्णय गर्ने कर्मचारीको बचाउ गरेका छन् ।
सबै प्रक्रिया पूरा गरी आइतबार जोर्डनको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी मास क्रेडा अल सफीमा जान लागेका १५ जना नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बिना कारण फर्काएका थिए । फर्काइएकामा १४ जना महिला र एक जना पुरूष कामदार रहेका थिए ।
त्यस विषयमा बुझ्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी तथा कार्यसमिति सदस्य देउमान नेम्वाङको नेतृत्वमा एससीसी म्यानपावर कम्पनी प्रा.लि.का सञ्चालक अबुल शाहसहितको टोली सोमबार कालिकास्थानस्थित अध्यागमन कार्यालय गएको थियो ।
अध्यक्ष भण्डारीले वैदेशिक रोजगार विभागबाट सबै प्रक्रिया पूरा गरी पठाएका कामदारलाई अध्यागमन कर्मचारीले गलत नियत राखेर फर्काउँदा उनीहरूको टिकट रद्द भएको भन्दै उनीहरूलाई विभागले क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए । तर महानिर्देशक अधिकारीले अध्यागमन कर्मचारीले दैनिक दर्जनौं यात्रु फर्काउने गरेको र कसैलाई क्षतिपूर्ति दिने नगरिएको भन्दै जोर्डन जानेक्रममा फर्काइएका कामदारहरूलाई पनि कुनै क्षतिपूर्ति दिन नसकिने जवाफ दिए ।
प्रतिउत्तरमा अध्यक्ष भण्डारीले आइतबार जोर्डन जान लागेका र भिजिट भिसामा जानेहरूको अवस्था फरक रहेकाले गलत गर्ने अध्यागमन कर्मचारी जवाफदेही हुनुपर्ने भनाइ राखे । महानिर्देशक अधिकारीले अध्यक्ष भण्डारी, कार्यसमिति सदस्य नेम्वाङ तथा म्यानपावर सञ्चालक शाहले गरेको पटक–पटकको आग्रह सुन्न चाहेनन् । उनले भने, ‘गलत नै भएको भएपनि क्षतिपूर्ति दिने व्यवस्था छैन । तपाईंहरूसँग यस विषयमा थप छलफल गर्न मसँग समय छैन, छलफल पनि गर्दिनँ, तपाईंहरू न्याय र क्षतिपूर्ति चाहिने भए गृहमन्त्रीसमक्ष जानुस् ।’
अध्यागमन कार्यालयले बाटुली बि.क., अनिता विश्वकर्मा, मञ्जु कामी, रत्नकाली घर्तीमगर, तुलसा कुँवर, विना तामाङ, अमनी तिरुवा, अपर्णा सुनुवार, रेनुका विश्वकर्मा, मञ्जु कामी, सुनिता दोङ, सृष्टि कोइराला सार्की, सुस्मिताबि.क., लक्ष्मी श्रेष्ठ, सबिना राई र रोहितराज भट्टलाई फर्काएको थियो ।
अध्यागमनले फर्काएकी सुनिता दोङलाई अध्यागमन अनुमति नदिएको पत्रमा जोर्डन काम गर्न जान लागेका निजहरूको वर्किङ भिसा नदेखिएको र मिनिष्ट्री अफ इन्भेष्टमेन्टले भिसा जारी गर्ने निकायलाई भिसा रिन्यूका लागि अनुरोध गरिएको पत्रमात्र भएकाले प्रस्थान दिन नसकिएको उल्लेख छ ।
म्यानपावर सञ्चालक अबुल शाहले अन्तर्राष्ट्रिय उडान प्रचलनअनुसार अध्यागमन प्रक्रिया पूरा गरेपछि यात्रु फर्काउन नपाइनेमा अध्यागमन कर्मचारीले उक्त प्रचलनको समेत बेवास्ता गर्दै उनीहरूलाई फर्काएर राहदानी डिपार्ट गरिएको छाप लगाई कामदारमाथि ज्यादती गरिएकोमा जवाफ चाहिने माग गरे । तर महानिर्देशक अधिकारीले त्यस विषयमा केही जवाफ नदिई न्याय चाहिने भए नारायणकाजीकोमा जान पुनः रूखो जवाफ फर्काए । नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री हुन् ।
सञ्चालक शाहले जोर्डनको उक्त गार्मेन्ट कम्पनीबाट एससीसी म्यानपावर कम्पनीले लिएका ७० जना कामदारको डिमाण्डमध्ये यसअघि ४० जना सहजरूपमा कामका लागि जोर्डनस्थित कम्पनी पुगेको हवाई टिकटको प्रतिलिपि महानिर्देशकसमक्ष पेश गरे । सरसर्ती हवाई टिकटको प्रतिलिपि हेरेका महानिर्देशक अधिकारीले ४० जना गएको विषयमा अध्यागमन कार्यालयमा कुनै रेकर्ड नरहेको भन्दै सेटिङमा गएको हुनसक्ने आशय व्यक्त गरे । तर कम्पनीका सञ्चालक शाहले महानिर्देशक अधिकारीको आशयको खण्डन गर्दै सबै प्रक्रिया पूरा गरी वैधानिक तरिकाले गएको जवाफ दिए । तर महानिर्देशक अधिकारी त्यसमा बोलेनन् ।
व्यवसायी शाहका अनुसार उनीहरू शून्य लागतको छनोट प्रक्रिया अन्तर्गत जोर्डनको रोजगारीमा छनोट भएका हुन् । उनीहरुको सेवा शुल्क, भिसा, टिकट, स्वास्थ्य परीक्षणलगायत खर्च रोजगारदाता कम्पनीले व्यहोरेको थियो । अन्तर्वार्तामा छनोट भएपछि उनीहरूलाई म्यानपावर कम्पनीले एक महिना राजधानीको एक होटलमा राखेर प्रस्थानदेखि रोजगारीसम्मका सबै तालिम दिएको थियो ।
संघका अध्यक्ष भण्डारीले अध्यागमनका महानिर्देशक अधिकारी र कर्मचारीको रवैयालाई लिएर सकेसम्म छिटो गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइने जानकारी दिए । उनले भने, ‘न्याय खोज्न आउँदा गैरजिम्मेवारीपनको नमुना देखियो ।’ म्यानपावर सञ्चालक शाहले जोर्डन पठाउन नपाएका कामदारलाई राजधानीको एक होटलमा राखेर टिकटको प्रबन्ध गरिरहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies