मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : विपद् व्यवस्थापन तथा न्यूनिकरण प्राधिकरणअनुसार शुक्रबार देशभरका पाँच स्थानको वायु प्रदुषण स्वास्थ्यका लागि जोखिमपूर्ण छ । वायु प्रदूषण मापनकेन्द्रका अनुसार उपत्यकाको प्रदूषण दर १९४ मापन गरिएको छ ।
उक्त एअर इन्डेक्स मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई अस्वस्थ मान्छ भने ३०० भन्दा माथि पुगे त्यसलाई खतरनाक मान्ने गर्छ ।
पछिल्लो अवस्थाअनुसार काठमाडौंं, ललितपुर, कञ्चनपुर, मुगु र भक्तपुरमा वायु प्रदुषणको अवस्था जोखिमयुक्त छ । सुख्खा मौसम, आगलागी र जलवायु परिवर्तनका कारण केही महिनादेखि नै काठमाडौंको वायु प्रदुषण जोखिमयुक्त छ । आईक्यू एयरका अनुसार काठमाडौं शुक्रबार विश्वकै प्रदुषित वायु रहेको शहरमा रहेको छ । यसअघि वर्षा हुँदा प्रदूषण दर घटेपनि काठमाडौं उपत्यकामा पुनः वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो । शुक्रबार दिउँसो एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १७७ पुगेको छ ।
बातावरण जोगाउन सरोकारवालाको ध्यान पुग्न नसक्दा समस्या बढ्दै गएको वातावरणविद् भुषण तुलाधर बताउँछन् । उनी भन्छन्, ‘यो आजका आजै भएको नयाँ कुरा होइन । हरेक वर्ष बढिरहेको छ । यसबारे सरोकारवाला गम्भीर नभएको तथ्य हो यो ।’
यो विश्वब्यापी समस्या भएकाले नेपालमा मात्रै न्युनकरण गर्न सकिन्छ र ? तुलाधरको जवाफ छ, ‘वायु प्रदुषण आफ्नै वरिपरीका कारणले पनि बढ्छ । जलवायु प्रदुषणको प्रभाव त हो नै । तर, प्रदुषणको सबैभन्दा ठूलो आन्तरिक कारण डढेलो हो । यसलाई न्युनिकरण गर्न सकिन्थ्यो नि !’
तुलाधरको बुझाइमा प्रदुषणका अत्यधिक स्रोत नेपालमै छन् । आगलागी वा डढेलाको न्युनिकरण गर्नका लागि जंगलको सरसफाइ, घाँसपात, पातपतिंगरको वैकल्पिक व्यवस्थापनमा ध्यान दिन सकिने उनले बताए । धुवाँबाट चल्ने गाडीहरू घटाउने, पुरानो गाडीहरूलाई निगरानी गरी नियमित बायु प्रदुणमा स्रोतहरू न्युनिकरण गर्न नसके निकट भविष्यमै बिकलराल अवस्था आउन सकिने तुलाधर बताउँछन् ।
बढ्दो वायु प्रदुषणमा मानव स्वास्थ्यमा पनि गम्भीर असर देखा परिसकेको जनस्वास्थ्यकर्मीहरू बताउँछन् । ‘अहिले श्वास–प्रश्वास, आँखा पोल्ने, मानसिक सम्सया लगायतका रोगीहरू अस्पतालमा अत्यधिक छन् । यसको कारण प्रदुषण नै भए पनि यसको औपचारिक तथ्यांक छैन ।’ डा. समीरमणि दीक्षित भन्छन्, ‘वायुमा अत्यधिक कार्बनडाइ अक्साइड, कार्बनमोनोअक्साइड छ । मानवव शरिरलाई लिने अक्सिजन पनि कमी भइसकेको छ । यसले गर्दा मानिसको कोषमा र रगतमै अक्सिजन कमी हुन्छ । रगतमै अक्सिजन कम भनेपछि त डरलाग्दो अवस्था होइन ?’
उनकाअनुसार वायुमा अक्सिजन धेरै कमी भए पनि कृत्रिक अक्सिजन लिनुपर्ने बाध्यता हुन्छ । ‘रगतमा अक्सिजन कम भएपछि आनुवांशिक हिसाबले समेत गाह्रो हुन्छ । यसबाहेक आँखा पोल्ने, आँशु आउने, छालामा समस्या हुने सबैभन्दा डरलाग्दो गरी मानसिक स्वास्थ्यमा पनि गम्भीर देखा परिसकेका छन् ।’ दिक्षितले भने ।
वायु प्रदूषणबाट लाग्ने रोगबाट जोगिन सकेसम्म घरबाहिर ननिस्किन स्वास्थ्यकर्मीको सुझाव छ । प्रदूषणको मात्रा बिहान र साँझ बढी हुने भएकाले त्यो समयमा श्वासप्रश्वासका रोगीलाई बाहिर ननिस्किन जनस्वास्थ्यविद् दीक्षित सुझाउँछन् ।
घरभित्र बस्दा पनि झ्याल र ढोका बन्द गर्न तथा धूप नबाल्न तथा धूम्रपान नगर्न पनि चिकित्सकहरू सुझाव दिदै दीक्षितले निरन्तर खोकी लाग्ने, टाउको दुख्ने र वाकवाक लाग्ने जस्ता समस्या देखा परे अस्पताल जानुपर्ने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies