तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले स्रष्टासँग साक्षात्कार तथा साहित्यिक संवाद सम्पन्न गरेको छ । आफ्नो भ्रमणका क्रममा कतार आइ पुगेका साहित्यकार तथा पत्रकार आश्विनी कोइरालासँग शुक्रबार साक्षात्कार तथा संवाद कार्यक्रम सम्पन्न भएको हो ।
कोइरालाको प्रमुख आतिथ्यता तथा कतार च्याप्टरका अध्यक्ष मणि पौडेलको सभापतित्वमा सम्पन्न संवादमा शेखर बस्नेत, सानु थपलिया, खेम सुवेदी, रूप रसाइली, विनोदबाबु अधिकारी, विनोद खड्का, दीप मीलन, लेख कार्की, सिताराम थापा, लेख कार्की, प्रेमप्रसाद भट्टराई, पूर्ण कान्छा गुरुङ, कल्याण थापा र नारायण भण्डारी लगायतले आफ्ना रचना वाचन गरेका थिए ।
संवाद अन्तर्गत जीवनका बाल्यकालका दुःखबाट आफ्नो भनाइ राख्न शुरु गरेका उनले जीवनका विभिन्न आयामबारे खुलेर बोलेका थिए । नेपालको एक सरकारी संस्थानमा जागिरे जीवन शुरु गरेका उनले लघुकथा बापतको रकम बुझ्न जाँदा आफूले कान्तिपुरमा जागिर पाएको स्मरण गर्दै त्यहाँ भित्रका विविध उतार चढावका बारेमा आफ्ना अनुभव सुनाएका थिए । घर गाडी नजोडी नेपाली साहित्यका लागि आफूले जीवनभर कमाएको सबै साहित्य पोस्टमा लगाएको बताए । उनले साहित्य नै आफ्नो कर्म रहेको बताउँदै लेख्नै नजान्नेले पनि साहित्य लेख्नुपर्ने उनको धारणा थियो ।
शोभाराम ओलीले सहजीकरण गरेको कार्यक्रमको समापन सभापति पौडेलले गरेका थिए । कार्यक्रममार्फत आयोजक दुवै संस्थाले कोइरालालाई आजीवन सदस्यता प्रदान गर्दै सम्मान गरेका थिए । संवाद कार्यक्रममा कोइरालाको जीवनी समेटिएको छोटो वृत्तचित्रसहित स्वागत गरिएको थियो ।
श्रद्धाञ्जली सभा
यस्तै सोही अवसरमा कतारमा स्थापित साहित्यिक संस्था नवोदित साहित्यिक वाचनालय कतारका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका आजीवन सदस्य साहित्यकार भानु सुनुवारप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
सुनुवारको केहि दिन अघि नेपालमै अल्पायुमै निधन भएको थियो । सुनुवारप्रति दीप प्रज्वलन र माल्यार्पण गर्दै गहिरो समवेदना प्रकट गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies