–रूप नारायण तिम्सिना
“निरु ! आज अलिक छिटो आउ है ल अफिसबाट । नेपालबाट पाहुना पनि आउँदैछन् घरमा पनि म एक्लै के गर्नु के नगर्नु हुन्छु है त ल !” सुन्तलीले बुहारीलाई आफ्नो दुखेसो मधुर स्वरमा सुनाइन् ।
“हुन्छ आमा तपाईं चिन्ता नमान्नोस् म भर्सक छिट्टै आउँछु र ताजा हरियो साग सब्जीहरु पनि लिएर आउँछु । बरु नानीहरु आएपछि खाजा चाहिँ दिँदै गर्नु होला है आमा ! म गएँ ल !” भन्दै निरु गाडी चडेर अफिसतिर लागिन् ।
सुन्तलीका मनमा भने विविध द्वन्द्व प्रस्फुटन भैरहेका थिए “पाहुना आउँदैछन्, घर सर सफाइ गर्नुछ, खै निरुको व्यहारशील स्वभाव कस्तो लाग्ने हो कुन्नि पाहुनालाई । छोरो परलोक भएको पनि टक्कै पाँच वर्ष भो, आजसम्म यो घर छोडेर बुहारी अन्त कतै गएकी पनि छैन । यसको विवाह गरिदिन पाए साह्रै ढुक्क हुने थियो । बिचरा उमेर पनि कलिलै छ । राम्ररी घर गरिखान सक्छे । यो यहीँ बसिरहँदा मलाई त राम्रै छ नि तर, यसको जिन्दगी नै बर्बाद हुन्छ । यदी कोही हामी बुहारी बनाउँछौं भन्दै आउँछन् भने खुसी खुसी बिदादिन्छु नि । म त बुढी मान्छे जसरी पनि बाँचिहाल्छु । नातिनातिना हुन्छन् नै मलाई त्यतिभए भइगयो नि ।” आदि इत्यादि कुराहरु सम्झिँदै घर सर सफाइ गर्दै गर्दा गाडीले हरन बजायो । “ला पाहुना आइपुगे” भन्ने सम्झिँदै बाहिर निस्किँदा नानीहरु रहेछन् ।
“लु लु लु आओ नानी हो, लु झट्ट लुगा फेर अनि हात मुख धोएर खाजा खानु” भन्दै सुन्तली खाजा तयार गर्न थालिन् । यता नानीहरु तयार भएर आए अनि खाजा खाँदै नातिले भन्यो “हजुर आमा ! सुन्नोस् न ! हाम्रो स्कुलमा त तीजको प्रोग्राम पो छ त हामी सबै ‘प्रेक्टिस’ गर्दै छौं ।”
“नापिस नाथे ! तैँले चैं के गर्छस् र तीजमा प्रेक्टिस ?” सुन्तलीले हाँस्दै सोधिन् ।
“हजुर आमा ! यो चाहिँ जोकडको रोल गर्छ अनि हामी केटीहरु चाहिँ संगीनी नाच्ने ।” नातिनीले सुझाइन् ।
ए ल ल राम्रो भएछ भन्दै मुसुक्क हाँसिन सुन्तली ।
यत्तिनै बेला बाहिर पुनः गाडीको हरन बज्यो । सुन्तलीले “अब चाहिँ पक्कै आए पाहुना” भन्दै साडी मिलाउँदै बाहिर गएर आदरपूर्वक पाहुनालाई घरमा भित्र्याइन् ।
हतार हतार चिया ल्याएर दिइन् । चिया पिउँदै गफ गर्दै गर्दा निरुको पनि आगमन भयो । उनले सबैलाई प्रणाम गरेर सिधै भोजन पानीको व्यवस्थापनतर्फ लागिन् ।
पाहुनाले आनन्दसँग भोजन लिएपछि सासू बुहारी र नानीहरुले पनि खाए ।
बेलुकाको धन्दा सकेपछि गफ सुरु भो । सबै कुरा मिल्यो । निरुको आनि बानी व्यवहार सबै मन पराएका पाहुनालाई सुताएर सुन्तली र निरु पनि बिहान् अबेर हुन्छ लौ सुतौं भन्दै आ–आफ्नै कोठातिर पसे ।
भोलिपल्ट बिहानै नानीहरु न उठिकन निरु पनि तयार भएर निस्किन् । सुन्तलीले रातो टीका निधारमा टाँस्दै भनिन् “निरु ! यो घर नबिर्सनु, यो घरमा आउन नडराउनु, यो घर आज उपरान्त तिम्रो माइती घर हो । तिम्रो भाग्यले राम्रो ज्वाईं पाएकी छौँ राम्रो घर गरिखानु ल” भन्दै बरररर आँसु झारिन् । निरुको मन भरिएर आयो उनले च्याप्प सुन्तलीलाई समाइन् दुवैजना रोए अनि सुतलीले पाहुनालाई पनि टीका लगाएर विदा गरिन् ।
भाग्यले ठगिएकी निरु त्यो घर छोडेर कतै जान चाहन्न थिइन् तर, जिन्दगीको उतार चडाबलाई सम्झिँदै आफ्नी आमाभन्दा अधिक माया गर्ने सासूआमा र प्राणप्रिय नानीहरु छोडेर एउटा अर्को घरकी गृहलक्ष्मी बनेर जान बाध्य भइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies