–धनराज गिरी
हरेक दिन कामबाट निवृत्त भएपछि भोलाराम सागरको तटमा घुम्न आउने गर्छ । आज पनि आयो । समुद्रको लहरको लीला उसलाई रमाइलो लाग्छ । अनन्तसम्म पानी पानी, सागरको जिन्दगी । नेपालमा सबै कुरा पाइन्छ तर, सागरसित साक्षात्कार हुन विदेशिनु पर्छ । भोलाराम दलित समुदायको सन्तान हो । विगतमा उसले अनेक उत्पीडनहरु भोग्यो । उसको कहानी अझै लेखिएको छैन । पढाइ त उसको पर्याप्त हो, तर टेक्ने खुड्किलो, नसमाउने हाँगो, ऊ विवश भएर छापामार बन्यो । आफ्नै अतीत सम्झिएर सागरको लहरसित खेलिरहेको थियो, अचानक उसको सामुन्नेमा एउटा पात्र आयो । आँखा चार भए, बोल्न सकेन । पाको पात्रले पनि मुख खोलेनन् । हेरे, गए ।
“हेर्दा नेपाली जस्तै, तेजिलो आँखा, को होलान् यी बूढा ?” उसको मनले भन्यो । “मैले पनि त बोल्ने हिम्मत गरिन नि” स्वसंवाद । दिनहरु बित्दै गए । भोलारामको मित्र बनेको थियो अमृतकुमार आलोक, सहयोगी, बिन्दास र कपिल कमेडी प्रेमी । “यार, अमृत, आज एकजना पाका भेट भए सागरतटमा, कति आकर्षक व्यक्तित्व । बोल्नै सकिन । भारतीय नागरिकजस्ता पनि देखिने । मलाई पुर्लुक्क हेरे । कस्तो सम्मोहन हेराइमा, आचार्य रजनीश जस्तै ।”
केही बोलेन अमृत । केही अनुमान गर्यो । अनुहारमा चमक आयो । “अमृत, तिमीले विदुषी व्यन्जना शर्माको “कैदी नम्बर ५१” लेख, समीक्षा पढेको हो ?” कुरा अन्तै लग्यो भोलरामले ।
“मलाई बाले पढ्न भनेर हिजै पढेको हुँ । उहाँको कुनै पनि लेख छोड्दिन । घराना नै सर्जक । एउटा चमत्कार, उही मुम्बईको ‘आर के प्रोडक्शन’”, अमृतले आफ्नो जानकारी राख्यो । “यस्तै हो, धेरै हिँडे कमरेडहरु कतै पनि पुगेनन् । गुमराह भए, गुमराह बनाए ।” दिक्क भएर बोल्यो भोलाराम ।
“यार, भोला, तिमी किन छापामार भयौं त ? कहानी त पक्कै होला ।” अमृतले साथीको चासो लियो ।
“मलाई नसोध कहाँ दुख्छ घाउ, साथी मान्छेले कलम रहरले समाउने हो, बन्दुक होइन । प्रेम रहर हो, आवश्यकता हो, घृणा होइन । अपवादलाई छोडेर, पराईको आँगनमा आउनु पनि रहर होइन, प्रतिक्रिया हो । मेरो अतीत सुनाउन लायक छैन साथी, छैन, छैन । खाटा बसेको घाउ, नकोट्याऊ !” गहभरि दह बनाएर बोल्यो भोलाराम ।
“डियर कमरेड, हाम्रो परिवारले पनि छापामारहरुको संगत गरेको छ । उनीहरुको आँखा पढेको छ । बाटो सही थिएन । हाम्रो बा त लेखक पनि, कमरेड बिस्फोट, उहाँका राता फूलहरु साथीहरुले दिएको नाम । म ‘तथा कथित’ भन्दिन, तर, दुई कामको पक्षमा वकालत गर्न सकिएन, बाले पनि मैले पनि । अन्याय छ समाजमा । तर प्रतिकार गर्ने तरिकाहरु अनेक छन् । कलमले नै परास्त गर्न सकिन्छ । हाम्रो बाले गर्नुभयो ।”
“अमृत, जे भयो, भयो, बरु म तिम्रो बालाई भेट्न चाहान्छु । उहाँसित भन्छु अतीत ।” भोलाराम इच्छुक भयो अमृतको जन्मदासित भेट हुन ।
आज बिदाको दिन । अगस्ट २४, नेपालमा भाद्र ८ गते, आज पनि सागरको टटमा आएको छ भोलाराम । एक्लै छ । अरे, उनै पाका । लखर लखर आए भिडिओ बनाउँदै, हिन्दी गीत गाउँदै, “तेरे प्यार की तमन्ना...” आज पनि बोल्न सकेन । पाका मान्छेले हेरे मात्र । गीत गाउँदै अघि बढे । एउटी भारतीय युवती आकर्षित भइन् । कुरा गरे । सेल्फी लिए । युवतीको अनुरोधमा तीनवटा रोमान्टिक गीत गाएर बाटो लागे ।
“हैट, बुुढा त यो उमेरमा पनि देवानन्द ।” भोलारामको मनले भन्यो ।
“भोलि त अमृतको घरमा जानु छ । उसको पिताश्रीको जन्म दिन । लेखक रे, बुढा ! उपहार त जायज हुन्छ, साथीको बा, मैले पनि माया पाउन सक्छु । आफू त टुहुरो ?” भोलारामको मनमा कुरा खेल्यो । अविवाहित भोलाराम एक्लै बस्थ्यो । एडिलेड आएको सात वर्ष भयो । पीआर पाइसकेको छ ।
आयो भाद्र ९, अर्थात् अगस्ट २५, भोलारामले एउटा गज्जबको प्याक बनायो उपहारको । उपहार थियो ‘ब्ल्याक लेवल’ थाहा पाएको थियो साथीको पिताश्री अलि अलि लिन्छन् । साँझ ८ बजे पुग्यो भोला । “वेलकम भोलाजी” गेटमा कमल सुवेदी, उसको पहिलो साथी । “साथी, आऊ” अमृत पनि आयो । अमृतका छोरीहरु सभ्यता र शिष्टता साथमा कमल सुवेदीका छोरीहरु पूजा र आराधना । महिलाहरु पकाउन व्यस्त । अमृतको पिता आफ्नै कोठामा ल्यापटपमा व्यस्त । “बाको काम छैन । उही सामाजिक सन्जाल हो । कथा लेख्दै हुनुहुन्छ ।” अमृतले खुलासा दियो ।
“म त अंकलको दर्शन गर्न आतुर, अन्टीको पनि दर्शन गरौं ।”
“आमा, यता आउनुहोस्, मेरो साथी, घर स्याङ्जा हो, ज्याग्दिखोला, चापाकोट नजिकै ।” आइन् गौरी, अमृतकी माता । भोलारामले नमस्कार गर्यो । “ए, बाबु त, आज बल्ल माइती देख्न पाइयो । साँखर थाहा छ नि ?”
“म मामा घर बसेर पढेकै पटेसारमा हो आमा, हरिश्चन्द्र ढकाल मेरा गुरु । हर्कबहादुर विश्वकर्मा मेरो मामा ।”
“आम्मै, जम्मै हाम्रै गाउँले । हर्के त मेरो मीत दाजु, उहाँकै बैनी चमेली मेरो मितिनी, साइना ।”
“हे भगवान्, म चमेलीकै कान्छो छोरा, आमा, चरण छुन्छु ।” दृश्य चलचत्रे भयो ।
“लौ अमृत, हामी त अब आफन्त नै, कस्तो सन्जोग” बढी भावुक भयो अमृत । सबैका आँखा रसाए ।
“होइन, यहाँ त मेरो कथालाई पुग्ने कच्चा पदार्थहरु उत्पादन भएजस्तो छ । खोइ हाम्रो मीत छोरा ।” हलमा प्रोफेसर अजेयनारायण गोस्वामीको प्रवेश । भोलाराम तर्सियो । हेरिरह्यो प्रोफेसरको अनुहार । बोल्न सकेन ।
“अरे भोलाराम, सागर किनारे, तिमी पो, लौ हेर, पहिल्यै गफ गर्न हुन्थ्यो नि, वेलकम माई सन !” अंकमाल गर्यो प्रोफेसरले ।
“प्रणाम मित बा” हातमा ढोग्यो । “आयुष्मान भव वत्स !” आशीर्वाद दियो ।
“पिताश्री, यो सानो उपहार” प्याकेज हातमा राखिदियो ।
“मुझे दुनियाँ वालो शराबी न समझो...” गुन्गुनायो ।
प्रोफेसरले केही जोकहरु सुनाएर वातावरण हल्का बनायो । “ह्याप्पी बर्थ डे टु यू” हल गुन्जियो । केक काटियो । अमृतकी प्रिया सन्तोषीले गीत गाइन् । भुराहरु नाचे । खाना खाएपछि, “भोलराम, अमृतबाट थाहा पाएँ तिम्रो पूर्व छापामार हौ भन्ने कुरा । तिमीलाई असजिलो लाग्दैन भने आफ्नो अतीत सुनाउन सक्छौं । म यसलाई मेरो आख्यानमा समायोजन गर्नेछु । तिम्रो खुसी ।”
तीन बोतल बियरको प्रभाव । भोलाराम अब निर्भय भएको थियो । कमल र अमृत पनि नजिक आए । सन्तोषी, मिना र गौरीले पनि ध्यान दिए । भोलाराम गम्भीर मुद्रामा !
“बैनी सुन्तली अति राम्री । गाउँमा रोज्जा । दलित भनेर अरु कुरामा बर्जित गरे पनि तागाधारी, धनीहरुले दलितका राम्री हुर्केका छोरीहरूलाई... सुन्तलीको लाश ज्याग्दी खोलामा । “दाइ मलाई मुखिया बाजेको छोराले....” बैनीले मलाई भनेकी थिई । हामीले चौकीमा उजुरी गर्यौं । सबै बिके । गाउँका टाठाबाठाहरु मौन । बाले कालीमा हाम फाल्नुभयो । दाइ उहिल्यै मुग्लान पसेको, फर्किएन । दिदीको पनि अत्तोपत्तो थिएन, भिनाजु मुम्बई, उतै लिएर गए । आमाले पासो लगाएर संसारबाट मुक्त हुनुभयो । म एक्लो, अब के गर्ने ? पिताश्री, हजुर भए के गर्नुहुन्थ्यो ?”
“माओवादी बन्ने थिएँ ।” गम्भीर आवाजमा, फिल्मी शैलीमा बोल्यो प्रोफेसर ।
“गुरुदेव, हजुरले भन्नुभएको ठीक हो, अति भएपछि मान्छेले उठाउने हतियार मतियार होइन, तर पैसाले अदालत किनेपछि, न्याय पनि बिकाउ माल भएपछि, पीडितको एक मात्र विकल्प बन्दुक हुनेरहेछ ।”
अमृतले पनि आफ्नो राय राख्यो । “त्यसपछि ?” प्रोफेसरको मन व्यग्र भयो ।
“मुखियाको छोरो भाग्यो, राजधानी । म जंगल पसेँ । पाँच वर्षमा हतियार चलाउन पोख्त भएँ । अनि दशैंमा घर आएको कुरा सुराकीमार्फत् थाहा पाएँ । अष्टमीको रात, त्यो बलात्कारीको बलि चढाएँ दुर्गामाताको चरणमा । त्यसपछि हतियार बिसाएर यता लागेँ । म हत्यारा हुँ त पिताश्री ?”
सबैको अनुहार अति गम्भीर । “छोरा भोलाराम, सम्भावमि युगे युगे यही हो । अक्षम्य अपराधहरुको सजाय मृत्युदण्ड नै हो । तिमी महाभारतको पाँच पाण्डव जत्तिकै निर्दोष छौ । तर, विशेष अवस्थामा बाहेक म कहिल्यै पनि हत्याको पक्षमा बोल्न सक्दिन । तिम्रो मुद्दा अपवाद हो । संसारको कुनै पनि अदालतलाई त्यो अधिकार छैन जसले तिमीलाई सजाय तोकोस् । मेरो हृदयको अदालतले तिमीलाई बाइज्जत बरी गर्यो । छोरा, ‘म हत्यारा हुँ’ भन्ने बोझ मनमा नलिनू !”
“ल बा, आजलाई यो गम्भीरपुराण बन्द गर्ने । जन्ती जान निस्किएका मान्छे मलामी जान विवश भएजस्तै भयो । भाइ भोलाराम, आजसम्म बाका मितेरी साइनो भएका आफन्तहरु मात्र जीवनमा आएका थिए । आमाको कमाइ हौ तिमी । बा, बरु एउटी बुहारी खोज्न पर्यो ।” अमृतको प्रस्ताव ।
“ए बूढा, हजुरकी चेलीको छोरी कुमारी भन्ने सुनेकी थिएँ । मेरो कान्छो छोराको कल्याण गर्नुहोस् त । नेपालमा कति जोडी मिलाउनुभयो । लौ त ।” गौरी बोलिन्, तीन प्याग वाइनको असर ।
“पख, पख” प्रोफेसरले तुरुन्त भिडियो कल गर्यो ।
“सर, नमस्कार !”
नारी स्वर, “सायमा, एउटा नयाँ प्रस्ताव लिएर आएको” सबै कुरा सुनायो प्रोफेसरले ।
“आहा गुरुदेव, हजुर मेरो अभिभावक, हुन्छ । अर्को महिना म पनि एलिलेड आउने छु । मार्ग महिना ।”
“भोलाराम, हाम्रो बाले धेरै चेलाचेलीको कल्याण गर्नु भएको छ । आजको दिन साइत पनि राम्रो । तिमी कान्छो भाइ हाम्रो । दिदीहरु पीयूषा र सुधा मार्ग १ गते यता आउने । बाको जन्म दिनमा कुरा मिल्यो । ठूली दिदी पीयूषाको जन्म दिनमा मंसिर ९ गते, तिम्रो गठबन्धन सरकार । बा, बरु हुनेवाली बुहारीको तस्वीर पत्ता लगाउनुहोस् ।”
अमृत खुसी भयो । “म अब टुहुरो भइन् । पिताश्री, हजुरको माया पाइरहूँ ।”
सायमासित सम्पर्क गरेर उनकी सुपुत्रीको तस्वीर मगायो प्रोफेसरले । सुन्दरी, नाम ‘शायरा अधिकारी’ वर्ष २६, यता भोलाराम ३१ ।
“अब एक पटक शायराको पनि राय बुझ्नुपर्छ । पहिले नै कोही छ कि जीवनमा ?” कमल सुवेदीको राय, मीनाको समर्थन ।
“हो त नि दाइ, सबै मीना दिदी र म जस्तै सोझी कहाँ हुन्छन् त ! होइन त बाबा ?”
सन्तोषी पनि पार्टीमा प्रवेश । “कुरा सही, हाम्री लक्ष्मीजस्ती बुहारी, अझ छोरी र सीताजस्ती सासूआमाको कुरा जहिले पनि सही हुन्छ । सौभाग्यवती भव सुपुत्री !” प्रोफेसरले बुहारीलाई घुस खुवायो, गौरी पनि मख्ख ।
“बा, आज त हाम्री आमा पनि मख्ख नि !” १२ बजेछ । सबैले बिदा लिए । अर्को दिन शायरा अधिकारी र भोलारामको भेट गरायो अमृतले । प्रोफेसरले सहजकर्ताको काम गर्यो ।
“हजुर प्रोफेसर जगमोहन आजादको मितज्यू होइन ?” शायराको जिज्ञाशा ।
“आम्मै, हो त, चिन्छ्यौ मेरो मीतलाई ?”
“उहाँले नै हजुरको बारेमा भन्नुभएको थियो । आमासित पनि कुरा भयो । भोलारामजीलाई मेरो साथ स्वीकार्य छ भने हजुरजस्तो अभिभावकले ल्याएको प्रस्ताव स्वीकार्नु मेरो कर्तव्य हो । पढाइ र काम यसले गर्दा यो फूलको जीवनमा कुनै पनि भमराको आगमन भएको छैन । अनुहार हेर्दा भोलाजी पनि भोला नै लाग्यो ।”
आज मार्ग ९ गते । क्यानडाबाट पीयूषा र सुधाका जम्बो टोली नै आए । कमल सुवेदीले पुरेतको काम गर्यो । यता पीयुषाको जन्म दिन, उता “शायरा र भोलाको” गठबन्धन । समाचार भाइरल भयो । बलराम तिमिल्सिना, प्रेम रिमाल र सतिसाल कृष्ण विश्वकर्माले प्रोफेसरलाई विशेष धन्यवाद दिए ।
“पुत्र भोला, जीवनमा माया, प्रेम र सद्भावभन्दा ठलो कुरा केही हुन्न । आज तिम्रो मित बा सारै खुसीूछ । आफूलाई टुहुरो नठान्नू ।”
“पिताश्री !”
मज्जाले रोयो भोलाराम । सबैले बधाई दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies