सर्लाहीः सर्लाहीको धनकौल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पूर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ ।
अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । उनका अनुसार केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा वडाध्यक्ष महतोसमेत संलग्न रहेको भनि जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा वडाध्यक्ष महतोविरुद्ध मुद्दा दायर भएको थियो ।
मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएपछि अदालतको इजलासले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको न्यायधीश थापाले जानकारी दिए । उनका अनुसार मुद्दाको अन्तिम फैसला नहुँदासम्म महतोलाई पूर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो ।
स्थानीय तहको निर्वाचन २०७९ मा नेकपा (माओवादी केन्द्र)बाट महतो वडाध्यक्षमा निर्वाचित भएका थिए । अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई गौर कारागार, रौतहट चलान गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार यस मुद्दामा अन्य केही व्यक्तिलाईसमेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । ती व्यक्ति फरार रहेका र उनीहरुको खोजी जारी रहेको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies