तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नुवाकोट सेवा समाज कतारले बडादशैं, दीपावली, नेपाल संवत् एवम् छठ पर्वको अवसरमा आयोजना गरेको ‘नुवाकोट सांगीतिक साँझ–२०२३’ भव्यरूपमा सम्पन्न भएको छ । समाजको कोष अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा आफ्नो सांगीतीक प्रस्तुति दिन नेपालबाट आमन्त्रित म्हेन्दोमाया कलाकार सौराम तामाङले म्हेन्दोमाया तथा सेलो भाकाका आधा दर्जन गीतहरू पस्किएका थिए ।
लोक तथा दोहोरी गायिका अमृता श्रीपाल ‘देउरालीलाई भेटी’ गीत गाउँदै स्टेज उक्लिएकी थिइन् । उनले फुलको थुङ्गा, घुम्तीघुम्ती रोड, डाँडा घरे साइँली, पञ्चेबाजालगायतका गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिन् । कार्यक्रमको अन्त्यतिर स्टेज चढेका काठे भाकाका राजा मानिने नुवाकोटे गायक सरोज लामिछानेले मुसौरी, कहाँ होला र सुन जस्तो पित्तल, धानको बाला लसरी पसरी, हे मेरो सानु, कोठा भाडा तिर्दिने मै होनि, बदाम खाको सुन्तला छोडाकोलगायतका गीतहरू गाए ।
कतारमा रहेका गायक सूर्य लामा, सानुबाबु तामाङ, रामजी थापा मगर, राजन थोकर तामाङ, बद्री प्रसाद देवकोटा, रोशनी हिम्डुङ तामाङ, गुना मगर निशु, पुकार थापा लगायतका कलाकारहरूले प्रस्तुति दिएका थिए । समाजका अध्यक्ष दीपेन्द्र घले लामाको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले छोटो समयमा पनि सबै प्रक्रिया पूरा गर्दै तोकिएकै समयमा कार्यक्रम गर्न सफल भएकोमा समाजलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमको समापन गर्दै सभापति लामाले कार्यक्रम सफल बनाउन उपस्थित सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रमलाई बिट मारेका थिए । समाजका महासचिव विकास तामाङले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिरा तामाङले स्वागत मन्तव्य राखेका थिए । नेपालबाट आमन्त्रित कलाकारहरूलाई आयोजक र सिन्धुपाल्चोक सेवा समाजले मिलेर मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए भने प्रमुख अतिथि भट्ट र गायिका गुना मगर निशुलाई आयोजकले सम्मान पत्रद्वारा सम्मान गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies