प्रदिप ज्ञवाली/मध्यान्ह
सैनामैना : रुपन्देहीको सैनामैनामा बुधबारदेखि शुरु भएको छैटौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवको सांस्कृतिक कार्यक्रमतर्फ दर्शकहरुको आकर्षण उल्लेख्य मात्रामा बढ्दै गएको छ । महोत्सवमा कलाकारहरुको प्रस्तुति हेर्न दर्शकहरु झुम्मिने गरेका छन् भने त्यसले महोत्सवमा सांस्कृतिक आकर्षणसमेत थपेको छ ।
महोत्सवको क्रममा आयोजित मम्मी डान्स प्रतियोगिता, सैनामैना डान्सिङ आइडल, भजन प्रतियोगिता, र्याप प्रतियोगिता, नगरविद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, जिल्लास्तरीय दोहोरी गीत प्रतियोगिता, स्थानीय कलाकारको प्रस्तुति र स्थानीय कला संस्कृतिको प्रस्तुतिले महोत्सवमा पृथक आकर्षण थपेको छ ।
महोत्सवका क्रममा शनिबार लोक गायक पशुपति शर्माले सैनामैनाका दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । पशुपति शर्माको प्रस्तुतिमा दर्शकहरु साँझ अबेरसम्म झुम्मिएका थिए । त्यसैगरी महोत्सवकै क्रममा आइतबार चर्चित गायक दुर्गेश थापाको प्रस्तुति रहने महोत्सवको सांस्कृतिक संयोजक कृष्ण पोखरेलले बताए । त्यसैगरी लोकगायक दिपक गरौजा र गायिका विष्णु श्रीपालीको समेत प्रस्तुति रहने छ । सोमबार चर्चिय गायक चन्द्र शर्मा र खेम सेञ्चुरी एवम् गायिका रीतु शाहीलगायतले प्रस्तुति दिने छन् ।
महोत्सवकै क्रममा आयोजित मम्मी डान्स प्रतियोगितामा बुटवल तामनगरकी मेनुका राई प्रथम हुँदै नगद १५ हजार रुपैयाँ पुरस्कार हात पारेकी छिन् । त्यसैगरी देवदह चरंगेकी एली बुढा मगर दोस्रो हुँदै १० हजार र सैनामैना सालझण्डीकी निलकुमारी रास्कोटी तृतीय हुँदै नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको मम्मी डान्स प्रतियोगिताकी संयोजक सिता क्षेत्रीले जानकारी दिइन् ।
‘आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवले सैनामैनासँगै यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवर्द्धन, धार्मिक एवम् सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न महोत्सवले सघाउ पुग्ने आयोजकले विश्वास लिएका छन् ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवको सांस्कृतिक कार्यक्रमले दर्शकहरुलाई छुट्टै मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला संस्कृतिको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी आयोजक समितिका सदस्य सचिव तथा संघका महासचिव लोकनाथ अधिकारीले महोत्सवबाट उद्योग व्यापारको प्रवर्द्धन, धार्मिक एवम् सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महोत्सवका अवसरमा सैनामैनाभित्र रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, सैनामैनाको पर्यटकीय सम्भावनाबारे गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरिने भएको छ । महोत्सव साढे ३ लाख दर्शकले अवलोकन गर्ने तथा ५ करोड बढीको कारोबार हुने अपेक्षा राखिएको आयोजकले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies