काठमाडौं : कवि सयपत्री थुलुङको कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौंमा लोकार्पण सम्पन्न भएको छ । सम्भव समूहको आयोजनामा मण्डला थिएटरमा साहित्यकार कवि सयपत्री थुलुङको कविता कृति लोकार्पण गरिएको हो ।
संखुवासभाकी कवि थुलुङ विगत डेड दशकदेखि साहित्य सिर्जनामा क्रियाशील छिन् । २०७० सालमा ‘शान्तिको फूल’ गजलसंग्रह प्रकाशन गरेकी थुलुङले एक दशकपछि दोस्रो कृतिका रूपमा कवितासंग्रह पाठकसामु ल्याएकी हुन् ।
कार्यक्रमका वक्ताहरू वरिष्ठ कवि श्रवण मुकारुङ, कवि ज्योति जंगल र कवि उत्तम तुम्सा लिम्बू रहेका थिए । कवितासंग्रहका बारेमा बोल्दै कवि उत्तम तुम्साले भने, ‘कविता लेखनको आ–आफ्नै पक्ष हुन्छ । गाउँ फर्किरहेको परदेशी अनुभूतिको गर्भबाट निस्किएको एउटा सफा संग्रह हो ।’
त्यस्तै पुस्तकका बारेमा बोल्दै कवि ज्योति जङ्गलले प्रेमको मसिले लेखिएको यो संग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो पुस्तक बनेको बताइन् । देश, प्रेम र राज्यसत्तामाथि शान्ति सौहार्दताको वातावरण बनाइराख्नुपर्ने कृतिमा जिकिर गरिएको उनले औंल्याइन् ।
वरिष्ठ कवि श्रवण मुकारुङले कुनै सिपालु संगीतकारले चाह्यो भने सबै कवितामा संगीत भर्न सकिने कुरा राख्दै कवि थुलुङलाई अब कविताको यात्रामा बलियो गरी निस्किएको नाक्छोङ्को दोस्रो स्टेपमा पुगिसकेको बताए ।
कार्यक्रममा कवि मिथोच र रंगकर्मी नुसा लिङ्देनले संग्रह भित्रका एक–एक वटा कविता वाचन गरेका थिए भने कवि स्वयंले एउटा कविता वाचन गर्दै आफूलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies