तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासिय नेपाली संघ कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा हुन लागेको 'गैरआवासीय नेपाली तारा सिजन ४'का लागि अतिथि निर्णायकहरूको टुंगो लाग्न थालेको छ। शुक्रबार हुने पहिलो अडिसनमा अतिथि निर्णायकका रुपमा गैरआवासीय नेपाली संघका उपमहासचिव प्रविन गुरुङलाई जिम्मेवारी दिइएको छ ।
संघको संस्कृति र सम्पदा विभागका संयोजकमा मनोनीत भयसँगै गुरुङ निर्णायकका रूपमा चयन भएका हुन् । गुरुङलाई कलाप्रेमी सामाजिक व्यक्तिका रूपमा चिनिन्छ । उनले यसअघि नै विभिन्न प्रतिस्पर्धाहरुमा निर्णायकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । कतारमा सफल सांगीतिक कार्यक्रम आयोजकका रूपमा परिचित उनले नेपाल आइडलको ग्रान्ड फिनाले, भोइस अफ नेपालको ग्रान्ड फिनाले सम्पन्न गरिसकेका छन् । उनले बुगीउगी, एनआरएनए ग्लोबल सिंगिङ आइडल, एनआरएनए दि सिंगर कार्यक्रमको आयोजक तथा कार्यक्रम संयोजकका रूपमा जिम्मेवारी पूरा गरिसकेका छन् ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलको प्रतिनिधित्व गर्दै उनले एनआरएनएको झण्डा फहराउँदै विभिन्न पदक जित्ने कार्यमा सफल संयोजक भएर काम गरेका छन् । गुरुङले नेपालको महाभूकम्प, हावाहुरी, बाढी पहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयं उपस्थित भएर गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी बासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीसहित विभिन्न राहत सामग्री वितरणलगायतका दर्जनौं सामाजिक कार्य गर्दै आइरहेका छन् ।
'नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं' भन्ने मूल नाराको साथ कतारमा गायन र नृत्य विधामा हुन लागेको गैरआवासीय नेपाली तारा सिजन ४ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गर्न लागिएको हो । दोस्रो चरण २२ डिसेम्बर, तेस्रो चरण १२ जनवरी २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies