तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन ४’को पहिलो अडिसन सम्पन्न भएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजित कार्यक्रमको डिजिटल अडिसनबाट छनोट भएका गायन विधाका ४७ जना र नृत्य विधाका २१ जना मध्येबाट शुक्रबार कूल ४९ जनाले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । पहिलो अडिसनमार्फत दोस्रो चरणमा गायन विधाबाट २७ जना र नृत्य विधाबाट १४ जना प्रवेश गरेका छन् ।
गायन विधाबाट दोस्रो चरण प्रवेश गर्ने कलाकारहरूमा अनमोल श्रेष्ठ, अनमोल श्रेष्ठ, उत्तम राई,अक्षय लिम्बु, अनमोल ढकाल, भीम कार्की, अशोक गुरुङ, विनीता राई, बुद्धसिंह लामा, गौतम सामी लिम्बु, हरिचन्द्र नेपाली, ईशान रेग्मी, जोन विक, किरण विक, क्षितिज तामाङ,मान सिंह परियार, रश्मि विक, सरला तामाङ, सुजन गुरुङ, सुरज केसी, रुष्तम तामाङ, प्रविन प्रधान बद्री देवकोटा, मालती लामा, दीपक घले र एन्जल कुलुङ रहेका छन् । त्यस्तै नृत्य विधाबाट झरना राई, सौजन चोहार, अमित राई, दिया सिंह, रितु श्रेष्ठ, जीवन राई, निरु श्रेष्ठ, शर्मिला घर्ती, सविना राई, जुनु माया कुमाल, सरोज लामा, सुनिता शेर्पा, रेखा मगर र ललिता लामा रहेका छन् । दोस्रो चरणमा प्रवेश गरेका कलाकारहरूले आगामी डिसेम्बर १५ तारिकभित्र आफ्नो गीतको म्युजिक ट्रयाक आयोजकलाई बुझाउन समेत आग्रह गरेको छ । दोस्रो चरणमा प्रवेश गरेका कलाकारलाई आयोजकले प्रमाण पत्र समेत प्रदान गरेका थिए ।
पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो । औपचारिक कार्यक्रमलाई एनसीसी कतारका अध्यक्ष रमेश भट्टले सभापतित्व गरेका थिए भने नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण क्षेत्रीले प्रमुख अतिथिको आसन ग्रहण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले नेपाली जहाँ पुगेपनि नेपालको मौलिकताले चिनाउने गरेको बताए । उनले मौलिकतामा नेपाली गीतसंगीत अग्र पङ्क्तिमा आउने बताए ।
कार्यक्रममा बारेमा प्रकाश पार्दै तमु समाजकी अध्यक्ष टौमाया गुरुङले तमु समाजले विगतमा एक्लै आयोजना गर्ने गरेको प्रतियोगिता पहिलो पटक एनसिसिसंग सहकार्य गरेको बताउँदै प्रतिस्पर्धाबाट नेपाली सॉगीतिक आकाशमा नयाँ तारा थपिने विश्वास व्यक्त गरिन् । अतिथि जजका रूपमा रहेका एनआरएनए आइसीसीका उपमहासचिव प्रविन गुरुङले कतार कलाकारको उर्वर भूमि रहेको र यो भूमिबाट जन्मिएका कलाकार विश्वमा चम्कने विश्वास व्यक्त गरे ।
पहिलो सत्रलाई एनसीसी कतारका महासचिव रविन मगरले सहजीकरण गरेका थिए । सांस्कृतिक चरणलाई एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव रिजन गुरुङले सहजिकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति भट्टले प्रतिस्पर्धामा सहभागी सबैप्रति शुभकामना व्यक्त गरे । उनले नेपालबाट लाखौं खर्च गरेर कलाकार कतार ल्याउनु भन्दा कतारमा श्रम गर्दै बचेको समयमा कलाकारिता गर्ने कलाकारलाई प्लेटफार्म प्रदान गर्नु एनसिसीको मुख्य उद्देश्य रहेको बताए । प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका थिए ।
कार्यक्रममा दुवै विधाका प्रतिष्पर्धीहरुलाई आफ्ना प्रस्तुति राख्नका लागी ३ मिनेटको समय दिइएको थियो । ३ मिनेटभित्र केही प्रतिस्पर्धीले आलाप लिँदालिँदै केहीले मुखडा गाउँदा गाउँदै केही प्रतिस्पर्धीले अन्तरा र केहीले टुक्का गॉउदा गाउँदै समय सकियो । पर्यवेक्षकका रूपमा रहेका करीमबक्स मियाँले प्रतिस्पर्धीलाई दिइएको समय सीमामा गड बढ भएको महसुस गरेको बताएपछि सुधारिएको थियो । यो समस्या गायनमा मात्र नभएर नृत्यमा समेत देखिएको थियो । साउन्ड सिस्टममा गडबडी देखिँदा गायन र नृत्य दुवै विधामा प्रस्तुति दिने क्रममा कलाकार अलमल परेका थिए भने केही कलाकारले उत्कृष्ट प्रस्तुति दिँदा केही कलाकारको साउन्ड ट्र्याकमै समस्या देखिएको थियो । जुन आगामी चरणमा सुधार गर्नुपर्ने देखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies