उत्कृष्ट शब्द, संगीत र गीतको मात्र म्युजिक भिडियो निर्माण, निर्देशन गर्दै आइरहेका केशवराज भट्ट अहिलेका व्यस्त निर्देशक हुन् । यहाँ दैनिक दर्जनौं नयाँ म्युजिक भिडियो बन्ने गर्छ । एकपछि अर्को भिडियो सार्वजनिक गर्दै आइरहेका निर्देशक भट्टले हालै दश दिनमा सात वटा गीतको भिडियो निर्देशन गर्न भ्याएका छन् । ४२ हजार मिटर उचाई रहेको रसुवा जिल्लाको दुर्गम स्थान क्याञ्जिङरिसम्म पुगेर उनले ‘माया दिउँला तिमीलाई’, ‘मेरो जीवन’, ‘तिमी मेरो प्रित हौ’, ‘यस्तो टाढा हुनु छैन’ आदि गरी सात वटा गीतको भिडियो छायाँकन भ्याएका हुन् । पछिल्लो समय भिडियो निर्देशनको क्षेत्रमा व्यस्त बनिरहेका केशवराज भट्टले अहिलेसम्म पाँच दर्जनको हाराहारीमा भिडियो निर्देशन गरिसकेका छन् । झण्डै एक दशकदेखि म्युजिक भिडियो निर्देशनलाई निरन्तरता दिँदै आएका भट्ट विभिन्न पुरस्कार र अवार्डबाट सम्मानित भएका छन् । प्रस्तुत छ कुशल निर्देशक केशवराज भट्टले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
अहिले म्युजिक भिडियोकै काम गरिरहेको छु । हप्तामा केही नभए पनि दुई वटा म्युजिक भिडियो निर्देशन गरिरहेको छु । दशैं अगाडि झण्डै ४२ हजार मिटर उचाई रहेको रसुवाको क्याञ्जिङसम्म पुगेर एकै साथ सात वटा गीतको भिडियो छायाँकन गरें । सात वटा भिडियो गर्न दश दिन समय लागेको थियो । मेरो जीवन, तिमी मेरो प्रित हौ, यस्तो माया दिउँला तिमीलाई, टाढा हुनु छैन आदि गीतको भिडियो छायाँकन भएको थियो । त्यसको पोष्टप्रोडक्शन र नयाँ भिडियो निर्माणको गृहकार्यमा व्यस्त छु ।
म्युजिक भिडियोप्रति आकर्षण बढ्नुको कारण ?
युट्युबदेखि टिकटकसम्म र डिजिटल प्लेटफर्ममा कमर्सियल हिसाबले भिडियोको बजार राम्रो हुनुले म्युजिक भिडियोमा युवा वर्गको क्रेज बढेको हो । गीत संगीतको मार्केटिङले पनि बजार लिइरहेको छ । गीतसंगीतको माग जति बढेको छ, त्यही हिसाबले म्युजिक भिडियो निर्माणको दर पनि एकदमै बढिरहेको छ । गीतसंगीत र म्युजिक भिडियो यो गतिमा निर्माण हुनुमा यसमा बढ्दै गएको आकर्षण र नयाँपन पनि कारण हुनसक्छ ।
यो पेशामा कमाइको हिसाबले सन्तुष्ट हुनुहुन्छ ?
म्युजिक भिडियो निर्देशन गर्ने भनेरमात्र हुँदैन । त्यसमा क्वालिटी दिन सक्नुपर्छ । आफ्नो काममा इमान्दारिता, लगनशिलताका साथ मेहनत गर्ने र नयाँ नयाँ क्रियसन गर्ने थोरै म्युजिक भिडियो निर्देशकको भिडमा म पनि पर्ने गरेको छु । म यस मानेमा आफूलाई भाग्यमानी ठान्छु । मैले निर्देशन गरेको प्रायः सबै म्युजिक भिडियो व्यावसायिकरुपले सफल भएका छन् । म्युजिक भिडियो निर्देशन गरेर आफ्नो परिवारको रेखदेख गरिरहेको छु भने सन्तुष्ट नहुने त कुरै भएन ।
अभिनय गर्न सजिलो कि निर्देशन गर्न ?
काम कुनै पनि सजिलो हुँदैन । तपाईंले गर्नु भएको काम मलाई सजिलो लाग्छ, मैले गरेको तपाइलाईं । दुबै पाटो एक–अर्कामा फरक भए पनि गाह्रो छ । अभिनय अरुको निर्देशन बमोजिम गर्ने हो । आफैंले निर्देशन गर्न झन् गाह्रो छ । निर्देशन गर्नका लागि धेरै कुरा सोच्नुपर्छ । कन्टेन्टदेखि प्रिजेन्टेसनसम्मको कुरा हुन्छ ।
कोरोना पछि चलेका फिल्मी कलाकारहरु पनि म्युजिक भिडियोमा देखिए, काम गर्न र गराउन कुनलाई सजिलो ?
फिल्मी कलाकार र मोडल दुबैले आ–आफ्नो क्षमता अनुसार काम देखाउने हो । कामको हिसाबले त्यस्तो फरक पर्दैन । बरु नयाँ मोडललाई लिएर काम गर्दा चाहिँ अलि बढी मेहनत गर्नुपर्छ । चलेको मोडललाई लिनु र चलेको कलाकारलाई लिनु उस्तै हो ।
यो क्षेत्रमा आउँदा के कुरामा ध्यान दिन आवश्यक छ ?
कुनै पनि क्षेत्रमा आउँदा बुझेर हात हाल्दा राम्रो । यो क्षेत्रमा व्यावसायिकरूपमा आउनेलाई फाइदा छ । भिडियो कसरी बनाउने, कस्तो बनाउने, मार्केटिङ कसरी गर्ने भन्ने विषयमा पहिले नै अध्यायन गर्नु आवश्यक छ ।
मार्केटिङको कुरा उठिहाल्यो यसमा तपाईंको धारणा के छ ?
प्रतिस्पर्धाको जमना छ, भिडियो बनाउनु भन्दा बढी त्यसको प्रमोसनमा दुःख छ । युट्युबले गर्दा टिभी च्यानलहरुमा प्रसारण गर्न इन्कार गर्ने प्रवृत्ति छ । अर्कातिर डलर तिरेर सामाजिक सञ्जालमा बेतुकको दर्शक बढाउनेहरुको तँछाडमछाडको स्थितिका कारणले गर्दा वास्तविक प्रतिभा पछि पर्ने गरेको छ । स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ, क्षणिक चर्चाको लागि हुने प्रतिस्पर्धाले दीर्घकालीनरुपमा फाइदा पुर्याउँदैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies