नेपालमा कुनै समय ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ र पछिल्लो समय ‘उन भित्र गुन फूल्ने र सिरुपाते जुंगामा दाइने हातको ताउ’ सर्वाधिक चर्चामा छन् । कुनै समय नेपाली गीतसंगीतमा एकछत्र राज गर्ने उनै चर्चित गीतकार हुन् शंकर अधिकारी (घायल) । उनलाई नेपाली गीतकारमा पनि आँसु गीतकारका रुपमा चिनिन्छन् । बाल्यकालमा नाटक, कथा र गीति नाटकमा कलम चलाएपछि उनलाई गीत लेखनमा चाख बढेको थियो । सुनसरी घरमा उनले हुलाकमार्फत रेडियो नेपालको गीतिकथा कार्यक्रममा समेत आफ्ना कथाहरु पठाएर आफ्नो सिर्जना स्रोतामाझ पुर्याउने गरेका थिए । रेडियो नेपालबाट आफ्नो गीतिकथा प्रसारण भएपछि उनलाई गीत लेखनमा इच्छा बढ्यो । तर उनलाई गीत लेख्ने कसरी हो थाहा थिएन । तै पनि उनी गीत लेखनमा कलम चलाउने गर्थे । जब उनी काठमाडौं आए उनको गायिका नित्या सिवासँगको भेट भयो । उनले गीत लेख्ने यसरी हो नि दाइ भनेपछि उनले लेख्न शुरु गरे । उनले फिल्म ‘दादागिरी’को ‘तिम्रो आँखामा बस्ने रहर भो मलाई’ बोलको गीत लेखेका थिए । जुन गीत अहिले पनि चर्चामा छ । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हास्य टेलिश्रृंखला ‘मेरि बास्सै’को शीर्ष गीत पनि उनैले लेखेका हुन् । त्यसपछि फिल्म ‘खलनायक’, ‘नासिब आफ्नो’, रेखा थापाको फिल्म ‘अन्दाज’को ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ हिट भएपछि उनले पछाडि फर्केर हेर्नै परेन । उनी एकाएक चर्चामा रहे । उनी गीत लेखनलाई निरन्तता दिँदै फिल्मसमेत लेखन तथा निर्देशनमा लागे । उनले फिल्म ‘लभ इज लाइफ’ लेखे । त्यसपछि उनको व्यस्तता नेपालीमा मात्र नभएर भोजपुरीमा समेत बढ्यो । उनले भोजपुरी फिल्म ‘इ कैसन बौछार’ लेखे । त्यो पनि चर्चामा रह्यो । उनका गीत लेखनमा विशेष भूमिका रह्यो । प्रस्तुत छ कुशल गीतकार तथा निर्देशक शंकर अधिकारी (घायाल)ले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
के छ हालखबर ?
ठिकै छ । गीत लेखनसँगै चलचित्रको काममा नै व्यस्त छु ।
सिरुपाते जुँगा खुब हिट भयो है ?
हो नि । यो गीत यसरी हिट होला भनेर सोचेको पनि थिइनँ । तर यो गीत फिल्म ‘छक्का पञ्जा ४’मा समावेश भएपछि थप चर्चामा आयो । टिकटक तथा सामाजिक सञ्जालमा एकदमै हिट भयो । जुन बुस्ट पनि गरिएको थिएन ।
सिम्पल सिम्पल पछिको यही गीत हिट होला है ?
अरु पनि थुप्रै छन् । तर सिम्पल सिम्पल कान्छीको पछि यही गीतले फेरि मलाई उचाईमा पुर्याउन सफल भयो । १४ वर्षको अन्तरालमा राम्रो सफलता पाएको छु ।
तपाईं गीत कुन समयमा लेख्नुहुन्छ ?
मेरो गीत लेख्ने समय नै हुँदैन । जतिबेला पनि लेख्छु । तपाईंले अहिले यही लेख भन्नु, म केही मिनेटमा नै सकाइदिन्छु । मान्छेहरु भन्छन् नि राति लेख्छु, दिउँसो लेख्छु । यो समयमा लेख्छु । मेरो त्यस्तो छैन । जुन बेला पनि लेखिरहेको हुन्छ । मलाई गीत लेख्नका लागि कुनै समय चाहिँदैन ।
हरेक गीत तपाईंको हिट छन् । पहिलो पटक रेकर्ड भएको कुन गीत थियो ?
पहिलो हरेक कुरा थाहा हुन्छ । त्यसैले मैले पहिलो पटक लेखेको गीत ‘नियतिले मलाई मात्र गरिरह्यो झेल’ रहेको थियो । जुन गीत स्रोतामाझ लोकप्रिय पनि बन्यो । अहिले पनि यो गीत उतिकै चर्चामा छ । यो गीतमा बालन्द राईको संगीत रहेको थियो । मेरो पहिलो फिल्मको कुरा गर्ने हो भने ‘मैदान’ हो । उक्त फिल्ममा समावेश गीत ‘तिम्रै आँखा भित्र’ रहेको छ । यो गीतले पनि त्यो समयमा चर्चा कमाएको थियो । यस गीतमा स्वर्गीय जेनी कँुवरले अभिनय गर्नुभएको थियो ।
सफल चलचित्रको गीत छान्नुपर्दा ?
मेरो सबै गीतहरु हिट नै छन् । मैले छान्नै पर्दा फिल्म ‘दादागिरी’लाई छान्छु, त्यो बेलाको । किनभने यो फिल्ममा समावेश भएको गीतमा ‘तिम्रो आँखामा बस्ने रहर भो मलाई’ एकदमै हिट भएको थियो । किनभने यो गीतले रेडियो, टेलिभिजन र क्यासेटमा पनि राम्रो कमाइ गरेको थियो । त्यसपछि फिल्म ‘किस्मत’को पनि छ । यो फिल्ममा लेखेको गीत ‘घरि घरि मुसुमुसु मुस्कुराएर मार्यौ’ पनि स्रोता दर्शकले एकदमै माया गरेको गीत हो । यसरी छान्दै जाने हो भने त थुप्रै रहेका छन् । अर्को खलनायक फिल्मको गीत पनि राम्रो लागेको छ ।
पछिल्लो समय गीतसंगीतको अवस्थालाई कसरी हेर्नुभएको छ ?
खोइ, स्रोता दर्शकको मनोभाव बुझेर पनि बुझी नसक्नु छ । कुन गीत कतिखेर मन पर्छ थाहै हुँदैन । कस्तो किसिमको गीत लेख्नुपर्ने हो, बुझ्नै गाह्रो छ । अब ‘सिरुपाते’को गीतकार पनि म नै हुँ । ‘उन भित्र गुन फूल्ने’को गीतकार पनि म नै हुँ । अब आकास जमिनको फरक छ गीतमा । तर स्रोताले दुवै गीतलाई एकदमै मन पराइदिनुभयो । उत्ताउलो शब्दमा बनेका गीतहरु चलिरहेको अवस्थामा मेरा गीतहरु चले ।
गीतसंगीतमा अश्लिलताले ठाउँ ओगटेको छ भन्न खोज्नुभएको हो ?
हो, गीत संगीतमा अश्लिलताले राम्रा सिर्जनाहरु मरिरहेका छन् । यो एकदमै नकरात्मक कुरा हो । गीत भनेको त एउटा लघु कथा हो नि । छोटो शब्दमा धेरै कुरा बोल्नुपर्छ नि गीतले । तर यहाँ गीत चलाउने नाममा, भाइरल हुने नाममा, जथाभावी छाडा शब्दहरु आएका छन् । यसको नियमन गर्ने कुनै संघसंस्था छैन । हालै एउटा लोक तथा दोहोरी गीत प्रतिष्ठानले अरुको ट्रयाकमा गीत गाउन नपाउने भन्ने कुरा उठाएको सुनें । यो राम्रो कुरा सुनें । पहिला पनि गीत संगीत सेन्सर हुन्थ्यो । अहिले त्यो पनि छैन । यो नियमन गर्नुपर्छ भन्ने लाग्छ ।
अन्त्यमा तपाईंको कुन सिर्जना आउने तयारीमा छ ?
मेरा थुप्रै सिर्जनाहरु बजारमा आउने तयारीमा छन् । म र रेखा थापाले १४ वर्षको अन्तरालमा फिल्म ‘उपहार’मा सहकार्य गरेका छौं । त्यस गीतमा समावेश गीत ‘वा वा वा’सार्वजनिक भइसकेको छ । जुन गीत स्रोता दर्शकले मन पराइदिइराख्नुभएको छ । अहिले यसैको प्रमोसनमा पनि लागेको छु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies