तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाली गीतसंगीतको क्षेत्र धेरै जनाका लागि सपना र गन्तव्यको क्षेत्र हो । यस क्षेत्रमा काम गरिरहेका कतिपय पलायन भएपनि यो क्षेत्रमा मरिमेटेर काम गरिरहेका र सफलता पाइरहेकाहरू पनि छन् । पछिल्लो एक दशकदेखि गीतसंगीतको निर्माणदेखि अभिनय र नृत्यमा व्यस्त छन् शिशिर पौडेल ।
स्याङ्जाको चापाकोटमा जन्मिएका पौडेलले करिब तीन सय म्युजिक भिडियोमा आफ्नो कलाको जादु देखाइसकेका छन् । रोमान्टिक फिल्मको हिरो जस्तै देखिने पौडेल भने सेन्टिमेन्टल गीतमा जमेका छन् । अझै भन्नु पर्दा उनलाई दर्शकले बेस्सरी रुचाएको सेन्टिमेन्टल गीतमा नै हो । मध्यान्ह दैनिकसँगको कुराकानीमा पौडेलले आफूले फरक–फरक विधाका गीतमा काम गरे पनि सेन्टिमेन्टलबाट बढी चिनिएको स्वीकारे । दर्शकको भावना सेन्टिमेन्टलमा बढी जोडिने गरेको आफूले पाएको बताउँछन् पौडेल । सांगीतिक प्रस्तुति दिन दुबईसम्म पुगिसकेका पौडेल नेपालका स्टेज कार्यक्रममा पनि रुचाइएका कलाकार हुन् ।
‘आज मुटु’, ‘सनिसार’, ‘सोल्टी बजार’, ‘ओ जाम हिन’, ‘रुँदै बितेका रात’, ‘राम्दी तरेर’लगायतका गीतहरू उनका लाखौं पटक हेरिएका गीतमा पर्छन् । नेपाली लोक सांगीतिक क्षेत्रमा निकै व्यस्त पौडेलले अभिनय गरेको पछिल्लो गीत ‘सत्य जीवन’ चर्चामा छ । गीतमा गाउँमा पण्डित पेसा गर्ने ब्राह्मणको घर चलाउन कति समस्या पर्छ र परदेश पुग्छ भन्ने कथालाई आकर्षकरूपमा देखाइएको छ । फरक भूमिकामा रहेर काम गर्न मन पराउने पौडेलको यो भूमिकाको प्रशंसा भइरहेको छ ।
उक्त गीतका शब्द प्रदीप खनालले लेखेका हुन् भने संगीत र स्वर कुशल बेल्बासेले भरेका छन् । बेल्वासेलाई स्वरमा गायिका शान्ति श्री परियारले साथ दिएकी छिन् । शिशिर पौडेल युट्युब च्यानलबाट रिलिज गरिएको गीतमा पौडेलसँगै जुना कार्कीले अभिनय गरेकी छिन् । जेरी भण्डारीले निर्देशन गरेको भिडियोलाई राम केसीले खिचेका हुन् भने भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies