सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकामा आयोजना गरिएको बृहत् मरिण सांस्कृतिक एवम् पर्यटन महोत्सवमा गायक नवीन पौडेलले आफ्नो प्रस्तुतिमार्फत दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएका छन् । मरिण गाउँपालिका–४ स्थित रंगशालामा बृहत् मरिण सांस्कृतिक एवम् पर्यटन महोत्सवको समापन समारोहमा अतिथि कलाकारको रुपमा आमन्त्रण गरिएका गायक पौडेलले दर्जनौं गीत प्रस्तुत गर्दै दर्शकहरुलाई मनोरञ्जन दिनुका साथै जागरुक हुन प्रेरित गरेका थिए ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपालका उपाध्यक्ष, कलाकार कल्याणकारी कोषका सदस्य, राष्ट्रिय लोक भजन संस्कृति संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवम् लोक संस्कृति संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय महासचिव समेत रहेका गायक पौडेलले महोत्सवमा वृद्धवृद्धादेखि युवायुवतीसम्मलाई आफ्नौ प्रस्तुतिबाट मनोरञ्जन प्रदान गरेका थिए ।
पुस ६ गतेदेखि सञ्चालित महोत्सव मंगलबार समापन भएको थियो । समापन समारोहकै बीचबीचमा नवीन पौडेलले प्रस्तुति दिइरहेका थिए । उनले गीतमार्फत जनतालाई जागरुक हुन प्रेरित गरिरहेका थिए । उनले भनिरहेका थिए, ‘बेथिति नै बेथिति छ, सुिध्रने हो कहिले पहिला बरु राम्रै थियो झन् बिग्रियो अहिले, कोही भन्छन् राजा आउ देश बचाउ, कोही भन्छन् दलहरुको मति सच्याउ । म त भन्छु यो देशलाई कायापलट गर्न धर्ति पुत्र आउ, लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ, भ्रष्टाचारी जतिलाई पुर्याइदिउँ छेउ ।’
उनले यो गीत प्रस्तुत गरिरहँदा उपस्थित वृद्धवृद्धादेखि युवायुवतीसम्मका हजारौं दर्शकले उनी सँगै गीत गाइरहेका थिए । उनका गीतमा साँच्चिकै जनताका भावना, यथार्थता, समयसापेक्षता, भ्रष्टाचार एवम् बेथितिप्रति तिखो ब्यंग्यबाणका शब्द पाइन्थ्यो । उनले ‘लेउ खुकुरी लेउ’ भन्न नपाउँदै दर्शक दीर्घाबाट आवाज आउँथ्यो ‘भ्रष्टाचारीजतिलाई पुर्याइदिउँ छेउ ।’
‘वान्स मोर वान्स मोर’को आवाजमा घेरिएका नवीनले करिब आधा दर्जन गीत प्रस्तुत गरे । ‘म त हजुर निजामतीको म पनि त स्वतन्त्रै छु आँखा त लाग्लान कतिको, म त हजुर न्याय सेवाकी म पनि त स्वतन्त्रै छु होइन म कोहीको पेवाकी’ यो गीत उनको बजारमा आउँदै गरेको नयाँ गीत रहेछ । यो गीत गाउँदा पनि दर्शकले उत्तिकै साथ दिए । ‘के सम्झनु छ र जान्न म त त्यो घर’, ‘घर मेरो सुदूरपश्चिम’, ‘हरहर बासना अगरबत्तिको’, ‘बुलाकी झुम्काना’, ‘मन परेरै हो मन परेरै हो मैले तिम्लाई हेरेको मन परेरै हो’लगायतका गीत प्रस्तुत गरिरहँदा दर्शकले उत्तिकै साथ दिइरहेका थिए ।
पाल्पाको बगनासकाली गाउँपालिका दर्लमडाँडामा बुबा लिलाधर पौडेल र आमा कमलादेबी पौडेलको कोखबाट २०३६ सालमा जन्मिएका गायक पौडेलले सिन्धुलीमा पनि जन्मभूमिमा जत्तिकै माया पाएका थिए ।
सांगीतिक यात्राकै क्रममा नेपालका लगभग सबैजसो भूभाग र विश्वका धेरै मुलुकहरु अस्ट्रेलिया, जापान, जर्मनी, लक्जेम्बर्ग, बेल्जियम, इटली, डेनमार्क, स्विट्जरल्याण्ड, स्वीडेन, नेदरल्यान्ड, यूएई, कतार, थाइल्यान्ड, सिंगापुर, मलेसिया, भारत, बंगलादेशलगायतका देशमा गएर गायक पौडेलले त्यहाँ रहेका नेपालीहरुलाई नचाइसकेका छन् ।
जनताका चेतनाका गीत गाएकै कारण गायक पौडेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री चतुर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पचास हजार नगदसहित बागमती प्रादेशिक प्रतिभा पुरस्कार, बाग्मती प्रदेश सरकारबाट कलाकृति मानपदवी र अमेरिकाको टेक्सास राज्यस्थित हेम सरिता पाठक फाउण्डेशनबाट सर्वोत्कृष्ट भ्रष्टाचार विरोधी गीत गाएबापत एक लाख ३३ हजार नगदसहित अन्तर्राष्ट्रिय संगीत पुरस्कार पनि प्राप्त गरेका छन् ।
सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजनामा आयोजित महोत्सव अध्यक्ष चिनध्वज बम्जनको अध्यक्षतामा भएको थियो । समापन समारोहका प्रमुख अतिथि मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ थिए । गाउँपालिकाका उपाध्यक्ष विमला माझी, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, पूर्वगाउँपालिका अध्यक्ष पानीराज बम्जन, गाउँपालिकाका कार्यकारी प्रमुख ओम बहादुर दर्जी, नेपाल रेडक्रस सोसाइटी सिन्धुली साखाका प्रमुख अशोक श्रेष्ठ तथा विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु अतिथि थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies