तिलु शर्मा पौडेल/दर्शन सुनार/मध्यान्ह
दोहा, कतार : नेपालीहरूको नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्रको अवसरमा कतारमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक वसन्त विश्वकर्माले धमाका मच्चाएका छन् । तनहुँ सेवा समाज कतारले ‘बहुउद्देश्यीय अक्षय कोषको सहयोगार्थ’ आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रममा उनीहरूसहित स्थानीय कलाकारले धमाका मच्चाएका हुन् ।
कार्यक्रमको उत्तरार्धमा स्टेज चढेका गायक वसन्तले आफ्नो वैदेशिक सांगीतिक यात्रालाई स्मरण गर्दै कतारमा सबैभन्दा धेरै दर्शक पाएको बताए । उनले आफूलाई यस्तो ऐतिहासिक कार्यक्रममा सहभागी हुने अवसर जुराइदिएकोमा आयोजकलाई धन्यवाद दिँदै प्रस्तुति दिन शुरु गरेका थिए । उनले आफ्नो बिहीबार मात्र सार्वजनिक भएको नयाँ गीत ‘रेलै घुमेर’ गाए । उनका चर्चित गीत साइँली, रेलिमै, झुमालगायत करिब एक दर्जन गीतमा सबै नाचे । स्टेजमा पुगेर दर्शकले उनलाई ‘श्रीफूल’ लगाएर सम्मान व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा कसम तिमी हौ दिलमा बसेको गीत गुनगुनाउँदै स्टेज चढेकी गायिका डल्लाकोटीले दर्शकहरूलाई नचाउन कुनै कसुर बाँकी राखिनन् । उनले कलधारा पानीको, बागलुङ पञ्चकोटलगायत आधा दर्जन गीत प्रस्तुत गरिन् । निरु श्रेष्ठ, सुनिता शेर्पा, सुनिल तामाङ, जीवन खालिङ राई, जिया हमाल कोरियोग्राफरद्वय तथा डान्सर कमल विक्रम सुनुवार र सृष्टि श्रेष्ठ ‘सिम्रन’ले सामूहिक स्वागत नृत्य प्रस्तुत गर्दै सांगीतिक कार्यक्रमको ढोका खोलेका थिए । कतारमा रहेका थुप्रै कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए ।
बिहीबार दोहाको नज्मास्थित होटल होलिडे इनको हलमा समाजका अध्यक्ष पदम गिरीको अध्यक्षता तथा नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले तनहुँ जिल्लाको खुलेर प्रशंसा गरेका थिए । उनले तनहुँ जिल्लालाई आदिकवि भानुभक्त आचार्यसँग जोड्दै नेपाली भाषा साहित्य, कला र संस्कृतिको उद्गम स्थान भएको बताए ।
समाजका उपाध्यक्ष मीनराज वाग्लेले स्वागत मन्तव्य राखेको कार्यक्रममा तनहुँ जिल्लाको चिनारीको रूपमा रहेको कौरा (चुड्का) गीत थप आकर्षणको केन्द्रका रूपमा रहेको थियो । समाजका महासचिव सन्तोष रेग्मीले सहजीकरण गरेको कार्यक्रमको अन्तमा कार्यक्रम सम्पन्न सहयोग गर्ने विभिन्न संघ संस्था, मिडिया पार्टनर तथा पत्रकारहरूलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा सांगीतिक प्रस्तुति दिने सम्पूर्ण कलाकारहरूलाई पारिश्रमिकसहित सम्मान गरिएको थियो ।
सांगीतिक कार्यक्रमको समापन पूर्व नेपालबाट आमन्त्रित कलाकारहरूले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतारका कलाकारहरूसँग जोडदार लाइभ दोहोरी गाएका थिए । कार्यक्रमको समापन गर्दै अध्यक्ष गिरीले संस्थाको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रम सफल बनाउन उपस्थित हुने सबैमा आभार व्यक्त गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies