सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहट प्रहरीले धाकधम्की दिइ फिरौती रकम माग्ने एक जना तथा नक्कली नोटसहित एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई सार्वजनिक गरिएको हो ।
देवाही गोनाही नगरपालिका वडा नं. ८ पटेल चोक नजिकबाट प्रहरीको टोलीले १८ लाख ४३ हजार रुपैयाँ नक्कली नोटसहित गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षीय सन्दीप यादवलाई पक्राउ गरेको छ । नक्कली नोटसहित यादवको साथबाट विभिन्न बैंकको एटिएम कार्ड ५ थान, १६ लाख ६५ हजार उल्लेख भएको चेक ३ थान र मोबाइल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसअघि गरुडा नगरपालिका वडा नं. ५ स्थित शिवनगर मेलाबाट गत असार २१ गते १ सय दरको ४ थान नक्कली नोटसहित ४ जना, गत कात्तिक १० गते गरुडा नगरपालिका ४ स्थितबाट एक हजार दरको ७ थान नक्कली नोटसहित ३ जना र गत मंसिर ३० गते चन्द्रपुर नगरपालिका वडा नं. १० बालचनपुरबाट एक हजार दरको नोट २० थानसहित १ जनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् ।
उनका अनुसार पक्राउ परेकाहरुविरुद्ध कानूनी कारबाही अघि बढाइएको छ । पटक–पटक विभिन्न स्थानबाट नक्कली नोट बरामद भएकाले यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि उनले उल्लेख गरिन् । अझै पनि नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले अनुमान गरेको छ ।
यस्तै प्रहरीले धाकधम्की दिइ फिरौती रकम माग्ने एक व्यतिलाई पनि प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । फतुवा विजयपुर नगरपालिका वडा नं. ८ का ३४ वर्षीय श्रीभगवान साहलाई धाकधम्की दिइ फिरौती रकम मागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पुस १० गतेदेखि १८ गतेसम्म एक जना व्यापारीलाई पटक–पटक फोन गरी ज्यान मार्ने धम्कीसहित ५ लाखदेखि ५० लाख रुपैयाँसम्म रकम मागेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । पक्राउ परेका साहविरुद्ध आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies