काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
आजदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानीका सम्भावना रहेको र नेपाल नयाँ लगानीको गन्तब्य बन्न सक्ने बताए ।
लगानी सम्मेलनको सह–आयोजक समेत रहेको नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र चीन र भारतकाबीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने धारणा राखे ।
नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै उनले विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानीको सम्भावना जानकारी दिए ।
अध्यक्ष ढकालले हालै नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पुर्याउने बताउँदै अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत व्यापार सम्झौता अन्तिम चरणमा रहेको जानकारी पनि दिए ।
हालै नेपाल सरकारले लगानीका लागि बाधक ठानिएका केही कानून संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै उनले महासंघसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies