काठमाडौं : चर्चित लोकदोहोरी गायिका गीता भट्टराई सम्मानित भएकी छिन् । सांस्कृतिक समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रममा गायिका भट्टराईलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका सचिव, प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री छविलाल विश्वकर्मा र समाजका अध्यक्ष रामप्रसाद अवस्थीले गायिका भट्टराईलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
लामो समयदेखि नेपाली मौलिक गीत, संगीत, कला, साहित्य, पर्यटन र संस्कृतिको क्षेत्रमा आवद्ध भइ आफ्नो सिर्जना, कला र गलाको माध्यमबाट सांगीतिक क्षेत्रलाई बृहत्तर र समृद्ध बनाउन गरेको महत्वपूर्ण योगदानको कदर कर्दै गायिका भट्टराईलाई सम्मान गरिएको समाजले जनाएको छ ।
गायिका भट्टराई यसअघि पनि विभिन्न अवार्डबाट सम्मानित भइसकेकी छिन् । गायिका भट्टराईले लोक दोहोरी, लोक पप, तीज, रक, आधुनिकलगायतका विभिन्न विधाका गीतमा आफ्नो सुमधुर स्वरको जादु देखाउँदै आएकी छिन् ।
गत भदौ ४ गते सम्पन्न स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ–२०८० को सम्मान पत्र वितरणका लागि शनिबार कोटेश्वरमा समाजले उक्त कार्यक्रम आयोजना गरेको हो ।
सुदूरपश्चिमको लोक संस्कृतिको जगेर्ना गर्न उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहयोग गर्ने व्यक्ति र संस्थालाई शनिबार सम्मान गरिएको समाजका अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ देउडा गायक नन्द कृष्ण जोशी, यज्ञराज उपाध्याय, गायिका टीका पुनलगायतका कलाकार एवम् स्रष्टाहरूको सहभागिता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies