काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । जितका लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २३ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा अर्जुन साउदले सर्वाधिक ६२ रन बनाए । उनले ६३ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा अबिजित रहे ।
त्यस्तै दीपेन्द्रसिंह ऐरीले अबिजित ३८ रन बनाए । उनले १७ बलमा ४ चौका र २ छक्कासहित ३८ रन बनाए । दीलीप नाथले ३१ बलमा २ चौका र १ छक्कासहित ३१ बनाए । यसैगरी कुशल भुर्तेलले १२ र सुनिल धमलाले १६ रन बनाए । कोशीका कमल खत्रीले २ विकेट लिए भने सोनु मण्डलले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कोशी प्रदेशले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनाएको थियो । कोशीको लागि सुजन थपलियाले एक सय ५ रनको योगदान गरे । उनले १ सय २६ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक एक सय ५ रनको योगदान गरेका हुन् । यसैगरी अभ्यास तिमिल्सिनाले २३ र कप्तान अंकित सुवेदीले १० रन बनाए ।
सुजनले आठौं विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरेका थिए । यता पुलिसका लागि करण केसीले तीन विकेट लिए भने ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई दुई विकेट झारे । त्यस्तै राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक एक विकेट लिए ।
यस्तै प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पनि लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमले मंगलबार भैरहवाको सिद्धार्थ रंगशालामा कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५ विकेट गुमाएर २७७ रन बनाएको थियो । सुदूरपश्चिम प्रदेशका ३ खेलाडीले उत्कृष्ट अर्धशतकीय पारि खेले । पहिलो विकेटका लागि खडक बोहोरा र टेक रावतले १३८ रनको साझेदारी गर्दै घरेलु प्रतियोगितामा कीर्तिमान पनि कायम गरेका छन् । खड्क बोहोरा ८० रन बनाएर आउट हुँदा टेक रावतले ५९ रनको पारि खेले । यसैगरी किरण ढगुन्नाले ५० रन बनाउँदा नारायण जोशीले १२ बलमा ३१ रनको तुफानी पारि खेलेका थिए । यस्तै राजु रिजालले १९ रन बनाउँदा नारायण भट्टले १५ रन बनाए । कर्णालीका दिनेश अधिकारी, युनिश सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले एक एक विकेट लिए ।
२७८ रनको लक्ष्यसहित मैदान उत्रिएको कर्णाली प्रदेश ३७.२ ओभरमा सवै विकेट गुमाएर १४३ रनमा समेटिन पुग्यो । कर्णालीका लागि दिवान पुनले ३८ रन बनाउँदा अर्जुन घर्तीले २४ रन बनाए । यस्तै, दिनेश अधिकारीले २० तथा हिमांशु शाहीले १७ रन जोडेका थिए । कर्णालीलाई रोक्ने क्रममा सुदूरपश्चिम प्रदेशका शेर मल्लले ४ विकेट लिए । विकाश अग्रीले २ विकेट लँदा नारायण जोशी र भोजराज भाटले एक एक विकेट हात पारे ।यस्तै
मंगलबार नै भएको खेलमा बागमती प्रदेशले सहज जित निकालेको छ । बागमतीले मधेश प्रदेशलाई ८६ रनले पराजित गरेको हो । बागमतीको जितमा सूर्य तामाङले ह्याट्रिक सहित ६ विकेट लिए । मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको १९१ रनको लक्ष्य पछ्याएको मधेशले २९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०४ रन बनायो ।
मधेशका पवन सरार्फले सर्वाधिक ४५ रन बनाए । त्यस्तै मयन यादवल ३१ बनाउँदा निरज यादवले १५ रन बनाए । बागमतीका लागि सूर्यले २९ औं ओभरमा ह्याट्रिक लिए । उनले पहिलो बलमा रुपेशसिंहलाई बोल्ड आउट गर्दा दोस्रो बलमा राजेश यादव र तेस्रो बलमा साम्सद अन्सारीलाई आउट गराए । सूर्य तामाङले ९ ओभरमा ३ मेडनसहित १८ रन खर्चेर ६ विकेट लिए । त्यस्तै ईशान पाण्डे र प्रतिश जि.सीले दुई–दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बागमतीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९० रनमा अल आउट भएको थियो । बागमतीका प्रतिशले ५९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै इशान पाण्डेले १५ रन बनाउँदा विपिन आचार्यले १३ रनको योगदान गरे । मधेशका लागि अरनिको यादव र रुपेश सिंहले दुई–दुई विकेट लिए । त्यस्तै राजेश यादव, रन्जित कुमार, हरिशंकर शाह र पवन सरार्फले एक–एक विकेट लिए । बागमतीको यो पहिलो जित हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies