बिहीबार सम्पन्न राष्ट्रिय सभाको चुनावमा कोशी प्रदेशबाट अप्रत्यासित नतिजा आएको छ । सत्ता गठबन्धनबाट महिला कोटातर्फ उम्मेद्वार रहेकी चम्पादेवी कार्कीलाई हराउँदै नेकपा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भइन् । कोइरालाले ५ हजार ८६ मतभार पाएर जित्दा कार्कीले ४ हजार ९९२ मतभार पाइन् । जबकी एमालेसँग ४० प्रदेशसभा सदस्य र ११० जना पालिका पदाधिकारी गरी ४ हजार २१० मतभार थियो । राप्रपासँग गठबन्धन गरेकाले एमालेका उम्मेद्वारले ४ हजार ६०४ मतभार पाउनुपर्ने थियो । तर सत्ता गठबन्धनकै जनप्रतिनिधिले मत दिएकाले एमालेकी कोइरालाले चुनाव जितिन् । दुई वर्ष अगाडि पनि कोशी प्रदेशबाट यस्तै नतिजा आएको थियो । तत्कालीन पाँच दलीय सत्ता गठबन्धनसँग चुनाव जित्न पर्याप्त मतभार भएपनि एमालेका सोनाम ग्याल्जेन शेर्पाले जितेका थिए । त्यही नियति फेरि दोहोरिएको छ ।
कोशीमा सत्ता गठबन्धनले पराजित नै हुनु परेपनि अरु प्रदेशमा समेत मत जोगाउन सकेनन् । तर सत्ता गठबन्धन र एमालेबीचको मतान्तर धेरै भएकाले नतिजा उल्ट्याउने एमालेले सकेको देखिएन । यदि कोशीकै जस्तो सानो अन्तरको प्रतिस्पर्धा रहने हो भने अरुतिर पनि सत्ता गठबन्धनका निम्ति चिन्तायोग्य नतिजा आउने रहेछ । जबकी राष्ट्रिय सभाको मतदातादेखि निर्वाचित हुने व्यक्ति समेत आमचुनावजस्तो होइन । यो चुनावको मतदाता आफै जनताबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारी हुन्छन् । चुनाव जित्ने व्यक्ति प्रतिनिधिसभा भन्दा भिन्न हुने संवैधानिक भावना हो । तर शीर्ष नेतादेखि प्रदेश र स्थानीय तहका प्रतिनिधिहरुले समेत संवैधानिक भावनाको खुलेआम उल्लङ्घन गरिरहेका छन् ।
सत्ता केन्द्रीत राजनीतिलाई आधार मानेर २०७४ सालदेखि निरन्तर गठबन्धनका आधारमा उम्मेद्वार तय हुने गरेको छ । पार्टी प्रमुखलाई खुसी पार्न सक्ने व्यक्ति दलको उम्मेद्वार हुने र गठबन्धनको मत पाएर राष्ट्रिय सभामा पुग्ने प्रवृत्ति मौलाउँदो छ । जसले गर्दा जनाधार कमजोर भएका दलहरुको उपस्थिति बलियो हुने र बलियो जनाधर भएका शक्तिहरु खुम्चिने प्रवृत्ति देखिएको छ । जस्तो– तत्कालीन नेकपा हुँदा राष्ट्रिय सभामा नेपाली कांग्रेसको आकार असाध्यै कमजोर थियो । अहिले त्यही हालत एमालेको भइरहेको छ । अर्को दुई वर्षसम्म पनि अहिलेकै गठबन्धन रहेमा राष्ट्रिय सभामा एमाले र जनमोर्चाको हैसियत बराबर हुने देखिन्छ । त्यस्तो भयबाट जोगिन एमालेले पनि प्रदेश सांसद र जनप्रतिनिधिलाई आफ्नो पक्षमा उभ्याउन चलखेल गरेको देखिन्छ । यी सबै अभ्यासले राष्ट्रिय सभाको गरिमा त जोगाउँदैन नै, सँगै लोकतन्त्र समेत बद्नाम हुन जान्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies