विदेशी तथा स्वदेशी लगानी बढाउने उद्देश्यले आज (आइतबार) देखि होल्टी होटलमा नेपाल इन्भेष्टमेन्ट समीट–२०२४ सुरु हुँदैछ । ५५ देशका एक हजार ६ सय जना सहभागी हुने समीट दुई दिन चल्नेछ । समीटमा सरकारी र निजी गरी १५० परियोजना प्रस्तुत गर्ने तयारी छ । १३ स्टल रहने र चार प्यानलमा छलफल गरिनेछ । यस्तो समीट लगानी बढाउने उद्देश्यले २०४९ सालमा पहिलोपटक भएको थियो । त्यसपछि लामो समय हुन नसकेको समीट सन् २०१७ र २०१९ मा भयो । पहिलो समीटले विदेशी लगानी, उद्योग भित्र्याउने उल्लेख्य सहयोग पुगेको विश्लेषकहरुले बताउँदै आएका छन् । तर त्यसपछिका दुई वटा समीट खासै अर्थपूर्ण हुन नसकेको टिप्पणी गरिन्छ ।
सन् २०१७ को समीटमा १३ खर्ब ७१ अर्ब र सन् २०१९ को समीटमा १५ खर्ब बढीको लगानी प्रतिबद्धता भएको थियो । तर प्रतिबद्धता बमोजिम लगानी भित्रन सकेन । कबोल गरे बमोजिम लगानी हुन नसकेपछि लगानी सम्मेलनको औचित्यमाथि प्रश्न उठ्ने गरेको थियो । यस्तो पृष्ठभूमिबीच ५ वर्षपछि सरकारले समीट गर्दैछ र लगानी गर्न योग्य देशका लगानीकर्ताहरुलाई आह्वान गरिएको छ । यो समीटबाट ठूलो उपलब्धि हासिल गरेर आर्थिक विकास गर्ने उद्देश्य रहेको बुझ्न गाह्रो पर्दैन । संसारका विकसित देशहरुले पनि ठूलो अंकको लगानी भित्र्याएर विकासको गति अगाडि बढाएको अनुभवले पनि सरकारको लक्ष्य सही छ । स्वदेश र विदेशका लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न आवश्यक बातावरण बनाउने सरकारको रणनीति रहेको पनि लुक्दैन ।
तर जसरी लगानीकर्ताको प्रतिबद्धता कार्याव्यनले गति लिएको छैन, त्यसैगरी लगानीकर्ता किन उत्साहित छैन भन्ने समीक्षा भएको समेत देखिदैन । प्रतिबद्धता गर्ने, तर कार्यान्वयन नहुनुमा पक्कैपनि लगानीकर्तासँग केही कारण हुनुपर्छ । मुलुकको राजनीतिक नेतृत्वप्रति भरोसा, लगानी सुरक्षित हुने आधार र मुनाफाको संभावना नरहे लगानी नहुनु स्वभाविक हो । अस्थिर र अशान्त राजनीतिक परिस्थिति रहँदा लगानीकर्ताले आवश्यक लगानी गर्दैनन् । घाटा हुने क्षेत्रमा लगानी नहुनु अर्थशास्त्रको सामान्य परिभाषा हो । त्यसैले सरकारको नेतृत्वकर्ताले लगानीकर्ता प्रोत्साहित हुन नसक्नुको कारण खोजी गर्नुपर्छ र सुधार्नुपर्छ । तर अहिले समीटको मेला सुरु भइसकेकाले लगानीकर्ताप्रति बलियो विश्वासको प्रतिबद्धता हुनुपर्छ । लगानीको क्षेत्रबारे ध्यान दिनु सरकारको अर्को दायित्व हो । नागरिकलाई बढी भन्दा बढी योगदान पुग्ने क्षेत्रलाई सरकारले पनि प्राथमिकता दिनुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies