सत्येन्द्र प्रताप सिंह /मध्यान्ह
रौतहट : रौतहटको सदरमुकाम गौरस्थित राईस मिलको मैदानमा शनिबारदेखि मेयर कप टी-२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । जिल्ला क्रिकेट संघको समन्वय तथा गौर नगरपालिकाको आर्थिक सहयोगमा मेयर कप क्रिकेट प्रतियोगिताको आयोजनो गरिएको हो ।
गौरका ९ वटै वडाका टिमलाई तीन समूहमा विभाजन गरी लिग खेल खेलाइने भएको छ । खेलाडीको क्षमता विकासका लागि क्रिकेट प्रतियोगिताको आयोजना गरिएको गौर नगरपालिकाले जनाएको छ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले गौर नगरबाट उत्कृष्ट खेलाडी चयन गरेर पालिका कपमा गौर नगरको राम्रो र बलियो टिम सहभागी गराउने उद्देश्यले मेयर कप आयोजना गराइएको बताए ।
स्थानीय स्तरमा गुणस्तरीय खेलाडी उत्पादन गरेर प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा यहाँका खेलाडीलाई सहभागी गराएर रौतहटको नाम उच्च पार्न यस्ता खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।
प्रतियोगितामा विजेता हुने टिमलाई २५ हजार र उपबिजेता हुने टिमलाई १५ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ । प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेलाई १५ सय, म्यान अफ द सिरिज हुनेलाई ५ हजार, बेस्ट बलरलाई २१ सय, बेस्ट ब्याट्सम्यानलाई २१ सय र बेस्ट किपरलाई २१ सय नगद पुरस्कार र कप प्रदान गरिने छ । यस प्रतियोगिताले आगामी फागुनमा आयोजना हुने पालिकास्तरीय कपको तयारीका लागि खेलाडी चयन गर्न सहज हुनेसमेत नगरपालिकाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies