तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतारमा जारी एसियन कपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधवार सम्पन्न दुई अलग अलग खेलमा इरानले सिरियामाथि टाइब्रेकरमा ५-३ र बहराइनमाथि जापान ३-१ ले विजयी भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो l
बुधबार दोहास्थित अल-थुमामा स्टेडियममा भएको खेलमा जापान ३-१ ले विजयी भएको हो । खेलको ३१औं मिनेटमा रित्सु दोआनले रिबाउण्डमा गोल गर्दै जापानलाई शुरुवाती अग्रता दिलाएका थिए । ४९औं मिनेटमा ताकेफुसा कुबोले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ६४औं मिनेटमा बहराइनले एक गोल फर्काउन सफल भयो । जापान गोलरक्षक जायन सुजुकीले बचाउ गरेपछि दोस्रो पटकमा आफ्नै डिफेन्डरसँग सम्पर्क नमिलेपछि उनले समात्न खोजेको बल आफ्नै जालिमा हालेका थिए । तर ७२औं मिनेटमा आयासे युएडाले गोल गर्दै दुई गोलको अन्तर कायम गर्दै जित सुनिश्चित गरे ।
बुधबार राति सम्पन्न अर्को अन्तिम प्रिक्वाटरफाइनलमा इरानले सिरियामाथि टाइब्रेकरमा ५-३ को जित निकालेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को र अतिरिक्त समयमा पनि सोही स्कोर रहेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा सिरियाका फहाद युसेफको पेनाल्टी इरान गोलरक्षक अलिरेजाले बचाएका थिए । ३४औं मिनेटमा मेहदी तरेमीले पेनाल्टीमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । सिरियाका ओमार ख्रिविनले ६४औं मिनेटमा पेनाल्टीमा नै गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
शुक्रबारबाट क्वाटरफाइनलका खेल शुरु हुँदैछ । शुक्रबार क्वाटरफाइनलमा ताजिकिस्तानले जोर्डनसँग र अस्ट्रेलियाले दक्षिण कोरियाको सामना गर्नेछन् । तीन पटकको कप विजेता इरानले चार पटक विजेता बनेको जापानविरुद्ध र कतारले उज्बेकिस्तानविरुद्ध शनिबार खेल्नेछन् l
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies